अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

बोष्टनमा पशुपतिनाथ र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटी सेन्टरको लागी भवन किन्ने काम सम्पन्न

यम पौडेल २०७६ साउन २६ गते ९:२९ मा प्रकाशित

बोष्टन, अमेरिकाको बोष्टनमा पशुपतिनाथ र बुद्दको स्तुपा सहित नेपाली कम्युनिटी सेन्टर बनाउन उपयुक्त भवन सत्र लाख पचास हजार डलरमा खरिद गरिएको छ । सो कार्य गत अगस्ट ७,२०१९ मा सम्पन्न भएको हो । सबै कानुनी प्रक्रिया पुरा गरी वैधानिक रूपमा नेपाल र नेपालीले गर्व गर्न लायक ठोस काम यस पटक बोष्टनका नेपालीले गर्न सफल भएका छन् । भवन किनेपछि अस्ति बुधवार नै स्टेजमा स्वयम्भू र पशुपतिनाथको मन्दिर प्रतिस्थापन गरिएको छ, साथै बेलुका भवनमा सयौँ नेपाली जमघट भई केक काट्ने, मिष्टान्न प्रसाद ग्रहण गर्ने कार्यक्रम सम्पन्न गरे । 

बोष्टनमा नेपाली कम्युनिटी सेन्टर सञ्चालन गर्ने नेपालीको बर्षौ देखिको चाहना हो, यसको लागी २०१२ मा श्री पशुपतिनाथ बुद्ध फाऊण्डेशन न्यु ईङ्गलैण्ड (प्याब्फोन) गठन भएको थियो यस मार्फत हरेक वर्षका भैली धौ सी र अन्य सुखद अवसरमा दान सङ्कलन गर्दै २०१७ मा अगस्ट ६-१३ सम्म श्रीमद्भागवत ज्ञानमहायज्ञ सप्ताह लगाइएको थियो । सप्ताहको नगद तथा कबोल रकम समेत फाऊण्डेशनले करिब १.८ मिलियन डलर सङ्कलन गरेपछि पछिल्लो दुई वर्षमा दर्जनौँ घर हेर्दै जाँदा पछिल्लो पटक १.७५ मिलियन डलरमा ब्रेनट्रिको घर स्वीकृत भएको थियो । 

भवन खरिद गर्ने क्रममा नेपालीहरू वकिल सहित नर्थफोक काउन्टी स्थित टाइटल कार्यालयमा गई दुवै पक्ष बिच हस्ताक्षर गरी नेपाली कम्युनिटी सेन्टरको लागी पशुपतिनाथ बुद्ध फाऊण्डेशनको नाममा घर नामसारी गर्ने काम सकेका थिए ।

594 Washington st. Braintree, MA 02184 स्थित ०.५३ एकड जग्गा (करिब ४.२४ रोपनी जग्गा) मा सन १९६३ मा बनेको १४,४०० स्क्वायर फुट स्पेसको, अफिसियल पार्किङ ४७ र वरपर बाटोमा थुप्रै पार्किङ गर्न सकिने, आफू अनुकूल केही मर्मत गर्न परे पनि तत्काल केही बनाउन नपर्ने, कार्यक्रम हल स्टेज कुर्ची फर्निचर भएको, हलको माथिल्लो भागमा बाल्कोनी जस्तै गरेर हेर्न मिल्ने, तल्लो तला किचन हल भएको, नेपालीलाई चाहिने पशुपतिनाथ मन्दिर र बुद्ध स्तुपाको लागी छुट्टाछुट्टै दुई ठुला कोठाहरू भएको, त्यसबाहेक पनि २ ठुला कोठाहरू भाडामा दिन सकिने, बिल्डिङको बाहिर पार्किङ साइडमा निकै ठुलो फलामको घण्टा राखिएको, पब्लिक रेल र बसको समेत सुविधा भएको र ब्रेन्ट्रि स्टेसनबाट मात्र १० मिनेटको पैदल मार्ग दुरीको भवन किन्न जुन २८, २०१९ मा विशेष साधारण सभाले म्यान्डेट दिएको थियो । 

भवन किनेको खुसीयालीमा बुधवार बेलुका भएको विशेष जमघट तथा केक काट्ने कार्यक्रममा प्याब्फोनका अध्यक्ष विष्णुमणि आचार्यले फाऊण्डेशन स्थापना कालदेखि, बोष्टन सप्ताह हुँदै हालसम्मका डोनरहरुलाई विशेष रूपमा सम्झेका थिए, सबैभन्दा बढी रकम दिएर साथ दिने समाजसेवी लक्ष्मी नारायण/झरना प्रधान ५१ हजार डलर, दोस्रोमा समाजसेवी शिव/अन्जु श्रेष्ठ जोडी ४१,००० डलर लगायत वेवसाईड pabfone.org/donation मा उल्लेख सबै डोनरहरुलाई सम्झँदै ग्रेटर बोष्टन स्थित साथ दिने सबै नेपाली सघा संस्थालाई धन्यवाद दिँदै सबैप्रति हार्दिक आभार व्यक्त गरेका थिए । किनिएको कम्युनिटी सेन्टरलाई हात्तीको संज्ञा दिँदै हात्तीलाई पाल्न ठुलो खर्च दाना पानी चाहिन्छ, पुन ठुलो ह्रदयका साथ सहयोगमा जुट्न सबै नेपालीलाई अपिल गरे । 

प्याब्फोनका चियर पर्सन मिलन गुरुङले पनि फाऊण्डेशको अभियानमा लागी पर्ने सबैलाई सम्झी सम्झी धन्यवाद दिँदै मिडियाकर्मी साथीहरूको योगदान नभुल्ने बताए । प्याब्फोनका महासचिव ध्रुव घिमिरेले सञ्चालन गरेको कार्यक्रममा जी बि एन सी का अध्यक्ष अर्जुन कुँवर, एन आर एन बोष्टन च्याप्टरका नव निर्वाचित अध्यक्ष प्रेम तामाङ, एन डब्लु जी एन कि अध्यक्ष शान्ति जोशी, प्याब्फोन नरऊड मेट्रो बेष्ट सब कमिटीका अध्यक्ष सुरेश ढकाल, जिबिएनसिका पूर्व अध्यक्ष विनोद ओली, प्याब्फोनका सी. भाइस प्रेसिडेन्ट राम थापा, महासचिव भुवन गुरुङ, पूर्व महासचिव महेश्वर पन्त, सचिव यम पौडेल, आर्थिक विभाग प्रमुख सुशील पौडेल, सल्लाहकारहरू क्रमशः प्रल्हाद के सी, डा.ऊषा शर्मा, रुक्मिणी कार्की, विजय शर्मा, काजी शेर्पा, न्यु ह्याम्पसायरबाट आएका लोक लामा र अननरी मेम्बर व्दय रञ्जन बुढाथोकी एवं मीन के सी समेतका महानुाभावहरुलाई एक एक मिनेट शुभकामना मन्तव्य राख्न दिइएको थियो । 

स्मरणीय रहोस् ग्रेटर बोष्टनमा नेपालीहरूको चाप बढ्दो छ करिब २५ हजारको हाराहारीमा नेपालीहरू रहेको अनुमान छ यसैले एक नेपाली सांस्कृतिक केन्द्र खोली सामाजिक गतिविधि सञ्चालन गर्न, नेपाली जनजातिका जन्म देखि मृत्यु संस्कार सम्मका क्रिया कर्म गर्दै, नेपाली भाषा साहित्य, कला, संस्कृतिमा रमाउन र नेपाली पहिचानमा देखा पर्न नेपाली कम्युनिटी सेन्टरको आवश्यकता थियो यसको लागी बोष्टनमा सामाजिक क्षेत्रका सम्पूर्ण नेपालीको प्रतिनिधित्व हुने गरी प्याब्फोनको गठन भएको थियो यसका पदाधिकारीले हरेक वर्ष चन्दा रकम ऊठाऊदै अत्यन्त पारदर्शी र इमानदार भएर काम गर्नाले अनि सन २०१७ मा वाचन प्रवीण दिनबन्धु पोखरेल ल्याई सफल रूपमा भागवत सप्ताह सम्पन्न गर्नाले प्याब्फोन प्रतिको विश्वास बोष्टनमा बढेको अवस्थामा घर किन्ने कुरा अगाडी आएपछि पनि पछिल्लो १ महिनामै साढे दुइलाख डलर रकम ऊठनु कम उत्साहप्रद कुरा थिएन । 

सम्बन्धित सामग्रीहरू