अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२५ | Colorodo: 09:40

इतिहासमा पर्ल हार्बर

गीता खत्री २०७५ चैत ३ गते ९:४४ मा प्रकाशित

पर्ल हार्बर होनुलुलु सहरको पश्चिमपट्टि रहेका सानो सामुद्रिक भाग हो । एक किसिमले यो ताल जस्तै देखिन्छ तर ताल होइन । यो सहरभित्र छिरेको समुद्री भाग हो, त्यसैले पेनेन्सुला भन्दा उपयुक्त होला । सुरुसुरुमा अमेरिकीहरू त्यहाँ व्यापार र सिपिङ प्रयोजनका लागि जान थाले, पछि अमेरिकाले आफ्नो विशेष अधिकारीलाई नै हवाई अधिराज्यका लागि नियुक्त गरेर पठाए । ती अधिकारीले तत्कालीन हवाई अधिराज्यको विदेशी मामिला हेर्न थाले । बिस्तारै अमेरिकी नौसेनाले तत्कालीन हवाई अधिराज्यसँग एउटा सन्धि गरेर पर्ल हार्बरमा प्रशान्त महासागरीय नौसेनाको केन्द्रीय कार्यालय नै स्थापना ग¥यो । अमेरिकी सैनिक तथा अन्य अधिकारीको वृद्धि र बिस्तारको फलस्वरूप सन् १८९९ तिर हवाई अधिराज्य विलीन भयो । त्यतिबेलादेखि नै त्यहाँ एउटा शक्तिशाली अमेरिकी नौसेनाको बेस क्याम्पको स्थापना भएको हो ।

(पर्ल हार्बर क्षेत्र)

त्यसबखतको शक्तिशाली जापानी साम्राज्यले यी कुराहरूलाई नियाली रहेको थियो । अमेरिकी साम्राज्यको विस्तार बढी रहेकोले चिन्तित पनि थिए होलान् । त्यसैले जापानी साम्राज्य अमेरिकी सेनालाई त्यहाँबाट हटाउने अवसरको पर्खाइमा थियो । डिसेम्बर ७, १९४१ का दिन अमेरिकी सेनालाई आकम्रणको सुइँको नै नदिई जापानी हवाई तथा नौसेनाले राती नै पर्ल हार्बरस्थित अमेरिकी सेनाका सबै पानीजहाजहरूमाथि हवाई तथा पनडुब्बीबाट आक्रमण गरिदियो । सबै पानीजहाजहरू ध्वस्त भए । सैनिकहरू कति मरे कति हिसाबकिताबै भएन । तीन सयभन्दा बढी प्लेनहरूले एक्लै पटक आक्रमण गर्दा अमेरिकीहरूले डिफेन्स गर्नै भ्याएनन् । अमेरिकीहरू नौसेनाबाट हुने आक्रमणको तयारीमा थिए तर हवाई आक्रमणका लागि तयार थिएनन् । त्यसैले जापानीहरूको चारपाचँवटा प्लेन मात्र खसाल्न सफल भएछन् । दोस्रो विश्व युद्धमा अमेरिकी प्रवेशको एउटा पाटो यो आक्रमण हुन पुग्यो । त्यसको लगतै अमेरिकी सरकारले युद्धको शंखनाद गरिहाल्यो ।

म सन् २०१३ मा जापान गएका बेला नागासाकी र हिरोसीमा पुगेकी थिएँ । प्रथम विश्व युद्धको अन्तिम घडीतिर अमेरिकाले पर्ल हार्बरस्थित जापानी आक्रमणको बदलामा करिब चार वर्षको तयारीपछि गरेको भयावह आक्रमणबाट जापानी धनजनको क्षति तथा दृश्यहरू देखेर म आँखाभरि आँसुको भारी बोकेर बिचैमा म्युजियमबाट बाहिर निस्केकी थिएँ । मेरो मन चिराचिरा भएको थियो । त्यति बेला अमेरिकीहरूले मानवजातीप्रति गरेको निर्दयीतामाथि रिसले चुर चुर भएकी थिएँ ।

आज पर्ल हार्बर मेमोरियल थिएटरमा पन्ध्र मिनेटको पर्ल हार्बरमाथि जापानी आक्रमणको वृत्तचित्र हेर्दाहेर्दै फेरि आँखा रसाए । जापानीहरूको क्रुररता, अमानवीय व्यवहार र स्वजातीयवादप्रतिको अगाध माया देखेर जिन्दगी नै निरस लागेर आयो । शक्तिको अगाडि मान्छेको मूल्य केही रहेनछ । इतिहासप्रति विश्वास भएन । इतिहास त आफूले गरेका राम्रा कामहरूको दस्तावेजमात्र रहेछ । पचास प्रतिशत घटनाहरू भए गरेकोबाट टिपोट गरिएको र पचास प्रतिशत कुराहरू तत्कालीन समयका बलियाहरूले गरेका राम्रा कामहरूको विवरण मात्र रहेछ । ती विवरण र रिपोर्टहरूमा तत्कालीन परिस्थितिको आधा पाटो लुकाइने रहेछ । तत्कालीन शासकको बलियो पाटो नै इतिहास बन्ने रहेछ ।

(पर्ल हार्बर मोनोमेण्ट)

पर्ल हार्बर, हिरोसीमा र नागासाकीको घटना एउटै हो, कारण एउटै हो तर देश दुइटा थिए, शासक दुइटा थिए, दुई जाति थिए । त्यसैले दुइटा बेग्लाबेग्लै इतिहास बन्यो । दुबैतिरकाले आफ्नो चरित्र राम्रो र अर्काको नराम्रो र अमानवीय स्वरूप देखाइएको रहेछ । एकले अर्कोलाई बदमास साबित गर्ने इतिहास तयार भएको रहेछ । अझै त्यो इतिहास चलिरहेकै छ । दुबैतिर दुवैको राम्रा र नराम्रा पार्ट देखाइनु पथ्र्यो तर देखाइएन । त्यसैले इतिहास साक्षी छ भनेर कसैले प्रमाण स्वरूप कुनै तर्क पेस गर्न खोज्छ भने अर्कोले त्यसलाई प्रमाणिक मान्नु जरुरी भएन । किनकि त्यो इतिहास कसले तयार गरेको हो, कसको आदेशमा लेखिएको थियो, त्यो समय, काल र परिस्थितिको पूर्ण अध्ययन हुनु जरुरी रहेछ ।

पर्ल हार्बर मेमेरियलको स्थापना जापानले पर्ल हार्बरमाथि गरेको अप्रत्याशित आक्रमण जसमा ठूलाठूला अमेरिकी युद्ध पोत पानीजहाजहरू आरिजोना, युथा, मिजौरीहरु नष्ट भएका थिए । यसमा तैनाथ गरिएका जल सेना, नौसेनामा कार्यरत ११७७ सैनिकहरू मारिएका थिए । तिनैको सम्झनामा यसको स्थापना भएको थियो । यस सम्बन्धी कानुन अमेरिकी राष्ट्रपति आइजनहावरले सन् १९५८ मा पास गरेका रहेछन् ।

पर्ल हार्बर दोस्रो विश्व युद्ध मोनोमेण्ट समुन्द्रको बिच भागमा सन् २००८ मा बनाइएको रहेछ । सेतो रङ्ग दिएर ११७७ जना अमेरिकी सैनिकको एकैचोटीको भएको जीवन उत्सर्गलाई आजको जापानी साम्राज्यसँगको अमेरिकी घनिष्ठताले बिर्साउने प्रयासको प्रतीक होला भन्ने मलाई लाग्यो । समुन्द्रमा ठूलाठूला पिलरमाथि करिब दुइटा बसजतिको लम्बाई बिस फीटजतिको चौडाइ, अगाडि र पछाडि फराकिलो बिचमा अलि पातलो साइजको सेतो रङ्गको उक्त मोनोमेण्ट टक्क अड्याइएको छ । नीलो समुन्द्रमा सेतो मोनोमेण्ट असाध्य आकर्षक देखिन्छ । यसको बिच भागमा दुबैतिर सात सात वटा ऐनाका झ्यालहरू राखिएका छन् । यति बेला हामी सौभाग्यशाली भएनौँ किनकि मर्मतसम्भारको लागि केही महिनाको निमित्त यसलाई बन्द गरिएको रहेछ । भित्र पस्ने धोको बाँकी नै रह्यो । तर हामीलाई लिएर गएको पानीजहाजले यसको चारैतिरबाट हामीलाई दर्शन भने गराइ दियो । त्यसमा रहेका चालक क्याप्टेन सेतो लुगामा थिए । उनले जहाजलाई चारैतिर घुमाउँदै चारैतिरबाट देखिने बस्तुहरूको विस्तृत जानकारी अडियो मार्फत हामीलाई सुनाइ दिए ।

त्यसको लागि पर्ल हार्बर हिस्टोरिकल साइट प्रबन्ध समितिलाई धन्यवाद दिनै पर्छ । मोनोमेण्टकै वरिपरि ठाउँठाउँमा सिमेण्टका साना साना स्तम्भहरू बनाइएका छन् । पानीबाट केही फिट माथिसम्म आएको छ । परैबाट देख्न सकिन्छ । त्यहाँबाट अलि पर एउटा ठुलो आरिजोना, युथा, ओकलोहामा नामको पानीजहाज देख्न सकिन्छ । आरिजोना नामक पानीजहाज त्यसबेलाको सबैभन्दा ठुलो युद्ध पोत थियो रे । यी दुईवटा पानीजहाज डुब्न भ्याएका थिएनन् रे । तर यिनीहरू पनि आक्रमणमा परेर काम नलाग्ने भएका थिए । यसभित्र रहेका सबै सैनिकहरू मारिएका रहेछन् । बाँकी अरू सबै पानीजहाजहरू नष्ट भएर समुन्दमै डुबेछन् । अहिले यिनलाई सुरक्षित राखिएको छ । यिनीहरू अहिले बेग्लाबेग्लै म्युजियमको रूपमा पर्यटकहरूलाई उनीहरूको तत्कालीन अवस्थाको ऐतिहासिक जानकारी गराइ राखेका छन् । डुबेका जहाजहरूको सम्झनामा ती सेता पिलरहरू बनाइएका रहेछन् । सबैमा आ-आफ्नो नाउँ लेखिएको छ टाढाबाट चिन्न सकिन्न । करिब आधा घण्टाजतिको यो परिक्रमा सकाएर जहाजले हामीलाई पहिलेकै ठाउँमा ल्याइपुर्‍याएर ओरालिदियो ।
◊◊◊

हामीले पर्ल हार्बरमा रमाउनका लागि दिनभरिको टिकट किनेका थियौँ । त्यसैले यहाँ नजिकै रहेको नेभी म्युजियमतिर पुग्यौँ तर त्यहाँ फेरि अर्को पैसा तिर्न पर्ने भयो । कति पटक टिकट किन्ने भन्दै हामी त्यता नपसी बाहिरै राखिएको तत्कालीन क्षेप्यास्त्रहरुको अवलोकन गर्न तिर लाग्यौँ । कुनै सुताएका, कुनै उठाएका, कुनै तेर्सो पारेर राखिएका ती क्षेप्यास्त्रहरु हेर्दै तिनीहरूसँगै उभिएर तस्बिरहरू खिच्दैखिच्दै हामी केही बेरा त्यता डुलिरह्यौँ । क्षेप्यास्त्रहरु चाङ्गकाचाङ्ग देखेपछि मलाई युद्धबाट डर लागे जस्तो भयो । उत्तर कोरियाको किम जोङले टेस्ट गरिरहेको क्षेप्यास्त्र, भारत पाकिस्तानले गरेको क्षेप्यास्त्र परीक्षण, अनि विगत चारपांँच वर्षदेखि सिरियामा प्रयोग भइरहेको क्षेप्यास्त्रको परिणाम कस्तो भयावह होला वा हुन सक्ला भन्ने बिचार दिमागमा खेल्न थाले । कति धनजनको क्षति हुन्छ होला । मर्ने त मरेर गई हाल्छन्, टन्टा नै साफ । बाँच्नेहरूका लागि कति पीडा कति दर्द होला कल्पना पनि गर्न सकिन्न । तर के गर्ने बलियाले शक्ति आर्जन गर्न वा भएको शक्तिको प्रदर्शन गर्न अथवा भनौ बलियाले निर्धामाथि आक्रमण गर्न कतै कमी आएको देखिन्न ।

विश्वमा शान्ति भएजस्तो म देख्दिन । मैले सुन्दै आएका अशान्तिका कुराहरू लेबनान, मिश्र, इजरायल, गाँजा, इरान, रुवाण्डा, इथियोपिया, सुडान, युगान्डा आदि थिए । आज थपिएर आएका अफगानिस्तान, सिरिया, अल्बानीया, सर्बिया, कोसोभो, मेसेडोनीया, बोस्नीया हर्जगोभिना आदि आदि । पहिले पहिले नेपालबाट चारपांँच सय सेना मात्र शान्ति सेनामा जान्थे । अहिले दश पन्ध्र हजार नेपाली सेना र प्रहरी शान्तिसेनामा सम्मिलित छन् भनिन्छ । यसैबिच धेरै जनाले विश्व शान्तिका लागि नोबेल पुरस्कार पनि जिती सकेका छन् तर अशान्ति र लडाइ ज्युँकात्युँ छ । बरु पहिलेभन्दा बढी र डरलाग्दो देखिएको छ । सिरियामा केमिकल वीपनसमेत प्रयोग गरेको भन्ने पनि सुनिएको छ । मान्छे मार्ने भनेको त किरा फटेङ्ग्रा मारे जस्तो भइरहेको छ । मान्छेको कुनै मूल्य नै छैन । संयुक्त राष्ट्रसघं भनेको बलियो राष्ट्रको तलब खाएर उनीहरूको गीत गाउने संस्था जस्तो देखिइरहेको छ ।

सोच्दासोच्दै हामी आरिजोना सिप हेर्न जाने ठाउँमा पुग्यौँ । आरिजोना सिपमा जानको लागि फोर्ड आइल्याण्डमा जानु पर्ने रहेछ । आइल्याण्डभित्र बेग्लै आइल्याण्ड रहेछ । जसलाई फोर्ड आइल्याण्ड भन्दा रहेछन् । त्यहाँ बसबाट मात्र जानु पर्ने । अमेरिकी सेनामा काम गर्ने मान्छे भए उसले गाडी लिएर जान सक्ने अरू पर्यटकहरू भने बसबाट मात्रै जान पाउने व्यवस्था रहेछ । गेटमा टिकट देखायौँ । गेटको सेक्युरिटीले भित्र गएर बस्नु, केही बेरमा बस आउँछ भनेर बस्ने सिट देखाइदियो । हिँडेर थाकेका पनि थियौँ । अलिअलि गर्मी पनि थियो । शीतलमा आनन्दसँग बस्यौँ । केहीबेरमा हरियो रङ्गको बस हामी बसेको अगाडि आएर रोकियो । पर्यटकहरू उत्रिन थाले, हामी त्यसैमा चढ्नको निमित्त लाइनमा बस्यौँ । बस आरामदायी थियो । वरपरका दृश्यहरू हेर्दै करिब दश मिनेट जतिमा बसले हामीलाई आरिजोना सिपको अगाडि पुर्‍यायो ।

आरिजोना सिपतिर जाने बाटोको दुबैतिर अमेरिकी झन्डाहरू फरफराइ रहेका छन् । पर्यटकहरूको आवतजावत भीडै छ । आरिजोनाको तलदेखि माथिसम्म पर्यटकहरू घुमिरहेका देखिन्छन् । मौसम एकदम रमाइलो छ । आरिजोना साइजमा ज्यादै ठुलो भने होइन तर युद्धको लागि तयार गरिएको सबैभन्दा ठुलो र हातहतियारले सुसज्जित चाहिँ रहेछ । पहिले कस्तो रङ्गको थियो, अहिले यसलाई खरानी रङ्ग दिइएको छ । टिकट चेक गर्ने लाइन, फोटो खिच्ने लाइन छिचोल्दै हामी एरोले देखाइएको बाटोलाई पछ्याउदै आरिजोनाको पहिलो तल्लामा उक्लियौं । आरिजोनाको प्रयोग सन् १९१६ मै गरिएको रहेछ । डिसेम्बर ७, १९४१ मा जापानी बम विस्फोटले बिग्रेपछि यसलाई विश्राम दिइएको रहेछ । उक्त आक्रमणमा अन्य सबै जहाजहरू ध्वस्त भएर समुद्रमा डुबेछन् तर यही आरिजोना मात्रै मर्मत गर्न सक्ने अवस्थामा डुबेको थियो रे । त्यसैले मर्मत सम्भार गरेर आजसम्म जस्ताको त्यस्तै अवस्थामा राखिएको रहेछ ।

(आरिजोना सीप)

पहिलो तल्लामा पर्यटकहरूलाई हेर्नको लागि धेरै ठाउँ खुल्ला गरिएका थिएनन् । अगाडिको केही भाग र आवतजावतको लागि जहाजको दुबैतिर करिब सात आठ फिट जतिको बाटोजस्तै बरन्डा मात्र राखिएको छ । बाटोमा धेरै ढोका र झ्यालहरू देखिन्छन् । ती ढोकाभित्र अफिस कोठा वा सरसामान राख्ने कोटाहरू हुनुपर्छ । जहाजको अर्को छेउसम्म जान मिल्दैन । त्यसैले साना साना खालका भ¥याङ्ग हुँदै माथिल्लो तल्लामा उक्लनु पर्छ । सबै तल्लामा ससाना कोठा, टम्म मिलेको ठाउँ, सबै कोठा र ठाउँहरूमा केही न केही बस्तु राखिएको छ । कतै सुत्नको लागि बेड पनि देखिन्छन् । हामीलाई ती सामान के के हुन भनेर थाहा पाउन पनि कठिन, थाहा पाएर पनि सम्झिन नसकिने । आप्mनो रुचिको विषय वा कामको विषय नभएको भएर होला । हामी बिस्तारै माथिमाथि चढ्दाचढ्दै गयौँ । कतिपय ठाउँमा त दुलो जस्तोबाट भित्र छिर्न सकिने । भित्र गएपछि काम गर्ने अफिसियल सामानहरू तथा बेडसमेत राखिएका देखिए । हामीले देखेका यस भित्र भएका चोटाकोठाहरुबाट हामीले के अनुमान गर्न सक्यौँ भने सामान्य किसिमको सामुद्रिक आँधिबेहेरी, तुफान आदिले यो जहाजलाई केही पनि क्षति पुर्‍याउन नसक्ने रहेछ । डुबेको खण्डमा पनि ती कोटाहरूमा पानी नपस्ने जस्तो देखिन्थ्यो । जहाजका तिनै चाटो—कोठा, ढोका—झ्याल, अफिस सामान, ओछ्यान—पलङ हेर्दैहेर्र्दै सबै भन्दा ठुलो, लामो र मुख्य तल्लामा पुग्यौँ । यो तल्ला जहाजको ठिक बिच भागमा पर्ने होला । करिब छ सय फिट लामो यो जहाजको सबैभन्दा लामो भाग नै यही हो ।

अगाडि पनि तोपहरूको लाइन, पछाडि पनि तोपहरूको लाइन । एकापट्टि छ वटा तोप, अर्को पट्टि तीन वटा तोपहरूको लाइन थियो । ती तोपहरू अन्दाजी पच्चिस—तीस फिट लामा र एक—डेढ फिटको गोलाइका थिए । साँच्चै भन्ने हो भने यो जहाजको अगाडि पछाडि नै थिएन । जुन बेला जता पनि जान सक्छ जस्तो मलाई लाग्यो । यो जहाजको बारेका गाइडेड टुर पनि थियो । हामीले लिएनौँ । गाइडेड टुर लियो भने झन्डै डब्बलजस्तो प्रवेश शुल्क लाग्छ अनि उनीहरूको पेसमा घुम्नु पर्छ । उनीहरूले भनेका सबै कुरा सम्झना गर्न सकिने पनि होइन । त्यसैले हामी आफ्नै गतिमा हिँडेका थियौँ । दुवैतिरका तोपहरू जहाजको बिच भागको बेससंग जोडिएका थिए । त्यसपछिको भाग खुल्ला थियो । त्यति बेला कुन प्रयोजको लागि बनेको थियो कुन्नि अहिले भने पार्टी कन्सर्ट आदिको लागि प्रयोग गरिएको रहेछ । यो भन्दा माथि पनि अरू विभिन्न तल्लाहरू थिए तर पर्यटकलाई यहाँबाटै बिदा गरिने रहेछ । झन्डै ३२ हजार टनको फलामले बनेको यो जहाज डुबाइदिने जापानी बम कस्तो प्रभावकारी र शक्तिशाली होला । बहादुर जापानीहरूले झुक्क्याएर पनि झन्डै १२ सय जति अमेरिकीहरूको ज्यान लिन सफल भएका रहेछन् ।

प्रत्येक बस्तुको समय सीमा हुन्छ भने झैँ जापानी साम्राज्यको समय पनि यहीसम्म रहेछ । यसपछि राजनैतिक हिसाबमा जापानी प्रभाव विश्वबाट न्यून हुँदै गयो र सन् १९४५ को अगष्टपछि त आत्मसमर्पण गर्न बाध्य भयो । फलस्वरूप जापानीहरूले आफ्नो बाटो बदले । आर्थिक उन्नतिको दिशामा अगाडि बढेर फेरि एकपल्ट संसारमा आफूलाई एउटा धनाढ्य देश बनाउन सफल भए । आरिजोना ब्याटलशीप हेर्ने हाम्रो धोको पनि सकियो । हामी पुरानै ठाउँमा फर्कनको लागि बस स्टाण्डमा गएर आनन्दले बस्यौँ ।
◊◊◊

प्रतिक्रिया