अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

अन्तर्राष्ट्रिय महिला दिवस २०२१

गीता खत्री २०७७ फागुन २४ गते ११:३९ मा प्रकाशित

वर्षको तेस्रो महिना अर्थात् मार्च महिना महिलाको सामाजिक, आर्थिक, सांस्कृतिक, तथा राजनैतिक उपलब्धिको रूपमा सम्मान गरिँदै आएको महिना हो । झन्डै एक सय वर्ष अगाडिदेखि महिलाहरूलाई उत्साह दिने, उनीहरूको गतिविधिलाई कुनै पक्षपात तथा बाधा व्यवधान रहित आफ्नो काममा लाग्न सकुन् भन्ने उद्देश्य लिएर महिला दिवस अगाडि बढिरहेको छ । विगतमा महिलाले गरेका कामलाई सम्मान गर्नु र आगामी दिनमा महिला विरुद्ध हुने असमान क्रियाकलापको विरोधमा डटेर सामना गर्नु नै महिला दिवसको खास उद्देश्य हो ।

महिला दिवसको सुरुवात न्युयोर्कबाट सन् १९०९ भएता पनि सबैभन्दा पहिला रुसी महिलाहरूले भोट हाल्ने अधिकार सन् १९१७ को मार्च ८ मा पाएका हुन । त्यसको धेरैबर्षपछि अमेरिकी महिलाले यो अधिकार सन् १९६७ मात्र पाएका थिए । संयुक्त राष्ट्रसङ्घले महिलाको यो पवित्र अभियानलाई धेरै वर्ष अवलोकन मात्र गरिरह्यो कुनै ठोस सहयोग पुग्ने काम गरेन । बल्ल सन् १९७७ मा आएर समर्थन जनायो र आधिकारिक रूपमा मनाउन थालेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ को महिला दिवस— महिलाहरूको नेतृत्व कोरोना प्रकोपित संसारमा समान भविष्य प्राप्तिको नारा दिएर अगाडि बढाएको छ । संसारका केही देशहरूले उक्त दिन महिलालाई सार्वजनिक बिदा दिएर सम्मान गरेका छन् भने कति देशले बिदा नदिए पनि विशेष दिन भनेर महिला सशक्तीकरणका निमित्त विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने गरेका छन् ।

महिला र पुरुष एउटै रथका दुइटा पाग्रा हुन भन्ने कुरालाई सिद्धान्तको रूपमा सबैले स्वीकार गरे पनि व्यवहारमा फरक गरिरहेको देखिन्छ । प्रजातन्त्र र मानवअधिकार हकहितको ठेक्का नै लिएको संयुक्त राज्य अमेरिकामा बल्ल सन २०१४ मा समान कामका लागि महिला र पुरुषलाई एउटै तलब भत्ता दिनै पर्ने कानुनमा राष्ट्रपति बराक ओबामाले हस्ताक्षर गरेका थिए । अविकसित देशहरूमा महिला समानता तथा हकहितका कुराहरू कागजमा मात्र सीमित भएको देखिन्छ ।

महिला हकहितको आवाजलाई बुलन्दरुपमा उठाउने उद्देश्य लिएर प्रशस्त मुनाफारहित सङ्गठनहरू खुलिसकेका छन् । त्यसमा संलग्न अधिकारीहरूको जीवनस्तर तथा पहुँच सगरमाथाको टुप्पोमा नपुगेको पनि होइन । तर व्यवहारमा र आफ्नो घरपरिवारभित्रै समानताको कुरा उठेपछि यो कुरा सत्य साबित भएको देखिँदैन । यसो भन्दैमा महिलाहरूको स्तर माथि नगएको वा समान व्यवहार नभएको भने होइन तर जति हुनु पर्ने थियो त्यति भएन जस्तो मलाइ लागेको हो ।

व्यवहारको कुरा गरौन अमेरिकामा कति जना महिला राष्ट्रपति भए ? कति जना महिला प्रधान न्यायाधीश भए ? रुसमा कति जना महिला राष्ट्रपति भए ? अमेरिकी महिला पुरुषको दाँजोमा असक्षम हुन त? रुसी महिला कमजोर नै हुन त? जे होस अमेरिकी वा रुसी महिलाले भन्दा बढी सम्मान नेपाली, भारतीय, बङ्गलादेशी, पाकिस्तानी महिलाले पाएको जस्तो मलाइ लागेको छ ।

पितृ सत्तात्मक नेपाली समाजमा बाबुआमाको मृत्युपछि बचेको श्रीसम्पत्तिको हकदार छोराहरू मात्रै हुने सनातनी परम्परा थियो । महिलाहरूको सक्रिय आन्दोलनले आधा सम्पत्तिको हकदार छोरीलाई पनि बनाई दिए । एक किसिमले महिलाको लागि यो ठुलो उपलब्धि हो भन्नु पर्छ । यसमा लागि पर्नु भएका महिला दिदीबहिनीहरूले यसलाई ठुलो उपलब्धि मान्नु भयो । तर उहाँहरूले हाम्रो समाजमा विद्यमान दाजुभाइ दिदीबहिनीबिचको माया प्रेम सद्भावमा कस्तो असर पर्न सक्ला भनेर सोच्नु भएन । यदि सोचेको भए आज समाजमा दिदीबहिनी र दाजुभाइबिचको जुन माया प्रेम र सद्भावबिच दरार आउने थिएन । उहाँहरूले त बाबुआमाको अधिकार पनि खोसी दिनु भयो ।

बाबुआमाको सम्पत्तिमा जसले बाबुआमालाई माया गर्छ,े हेर बिचार र स्याहार सुसार गर्छ उसैलाई सम्पत्ति दिन सकिने कानुन बनाइ दिएको भए बाबुआमाको अधिकार पनि खोसिने थिएन । सम्पत्ति खानको लागि सबै छोराछोरीहरूले बाबुआमालाई उत्तिकै सेवागरि खुसी बनाउन बाध्य हुने थिए । तर त्यसो हुन सकेन ।

महिला विरुद्ध हुने असमान व्यवहारको पहिलो जड/अवस्था घरपरिवार हो । घरमा छोरा जन्मँदा खुसी हुने, मिठाइ बाँड्ने । छोरी जन्मँदा मुख नमिठो पार्ने चलन अझै छ । छोरालाई मीठो खाना खुवाउने, छोरीलाई जे दिए पनि हुन्छ भन्ने । छोरालाई जति पैसा खर्च भए पनि राम्रो स्कुलमा पढाउने, छोरीलाई स्कुलै नपठाउने । पठाइ हाले पनि साधारण स्कुलमा पठाउने । उच्च शिक्षा छोरीलाई किन चाहियो भन्ने । बिस बाइस वर्षको उमेर नहुँदै विवाहका लागि जोड गर्ने परम्परा अझै पचास प्रतिशत भन्दा बढी नेपालीको घरपरिवारमा नभएको होइन । त्यसैले मलाई लाग्छ यसको पहिलो निरूपण पनि घरबाटै हुनुपर्छ भने दोस्रो उपाय शिक्षाको माध्यमबाट हो । स्कुल, कलेज, विश्वविद्यालयका शिक्षकहरूले महिला र पुरुषबिच विभेद गर्नु अनुचित हो । यस्तो विभेदले घरपरिवार तथा समाजलाई र अन्तमा देशलाई समेत नोक्सानी पुग्छ । स्वास्थ्यको हिसाबले पनि महिलालाई बेवास्ता गरिएको देखिन्छ । शारीरिक बनावटको हिसाबले पुरुषको भन्दा महिलाको स्वास्थ्य कमजोर र नाजुक किसिमको देखिन्छ तर हाम्रो समाजमा महिलाको स्वास्थ्य उपचारमा ध्यानै दिएको देखिन्न । जसले गर्दा कयौँ महिलाको ज्यान अकालमै समाप्त भएको छ ।

म अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय अध्यक्ष भएका बेला यिनै यिनै कुराहरूलाई मनन गरेर अनेसासले सन् २०१४ को मार्चमा विश्व नारी दिवसको अवसरमा प्रथम अन्तर्राष्ट्रिय महिला साहित्य सम्मेलन न्युयोर्कमा आयोजना गर्यौं । यो सम्मेलनले

  • महिला शक्ति र सिर्जनालाई नेपाली भाषा साहित्य कला र संस्कृतिको क्षेत्रमा प्रोत्साहित गर्ने,
  • नेपाली महिला सर्जक र समालोचकलाई अन्तर्राष्ट्रिय रूपमै प्रकाशमा ल्याउन प्रयत्नशील रहने,
  • अन्तर्राष्ट्रिय नेपाली महिला साहित्यकार बिच भगिनित्व स्थापना गर्दै एउटा अन्तर्राष्ट्रिय सम्पर्क थलोका रूपमा विकास गर्दै जाने,
  • विभिन्न क्षेत्रमा रहेका नेपाली महिला साहित्यकारलाई सङ्गठित गराई अनेसास मार्फत् विभिन्न साहित्यिक सङ्घसंस्थासँग सम्पर्क, समन्वय र सहयोगको वातावरण सिर्जना गर्ने,
  • आमा नै भाषाको प्रारम्भिक पाठशाला हुन् भन्ने शाश्वत तथ्यलाई हृदयङ्गम गरी विभिन्न क्षेत्रका डायस्पोरामा रहेका मातृ शक्तिलाई नयाँ पुस्तामा नेपाली भाषाको हस्तान्तरण एवं समुन्नत विकासका लागि अभिप्रेरित गर्ने,
  • महिला प्रधान लेख रचना तथा महिला उत्थानका लागि उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई अन्तर्राष्ट्रिय रूपमा सम्मानित गर्ने योजना तय गरेको थियो । अनेसासले यसलाई अगाडि बढाइरहेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आदरणीय तथा प्यारा आमा दिदीबहिनीहरूमा के आग्रह गर्न चाहन्छु भने हामी हाम्रो पौरख, हाम्रो बुद्धि र हाम्रो योग्यताले अगाडि बढ्नु पर्छ । हामी कसैको कोटामा भर पर्ने होइन । हामी कसैको सहयोगको अपेक्षामा बस्ने होइन । त्यसैले हाम्रा छोरीहरूलाई घर भित्रबाटै समान अवसर दिन नचुकौँ । तपाइकी छोरीलाई नपढेको भनेर उनको घरपरिवारमा नोकरजस्तो गरेको देखेर तपाईँको मुटु दुख्दैन? समाजमा डटेर बोल्नुस् म छोरा र छोरी दुबैलाई समान शिक्षा दिन्छु, समान व्यवहार गर्छु र मेरो अन्तिम बेलामा जसले मलाई माया गर्छन् तीनै सन्तानलाई मेरो बचेको सम्पत्ति बाडी दिन्छु । हामी अरूको बहकाउमा आएर सत्य र तथ्यबाट पर भाग्न हुँदैन । आफ्नो बोली र बचनको मान राख्न सक्नु नै हाम्रो सफलता हो । अन्तर्राष्ट्रिय नारी दिवस २०२१ को पुनीत अवसरमा सम्पूर्ण नारी जगतप्रति यही मेरो हार्दिक शुभकामना छ ।