अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५७ | Colorodo: 20:12

हजार सारस कागजका

गीता खत्री २०७७ माघ २० गते १४:१९ मा प्रकाशित

जापानमा क्रेन (सारस) लाई पवित्र र रहस्यमयी चराको रूपमा हेरिने रहेछ । जापानी क्रेन र अमेरिकी एटम बम सम्बन्धी एउटा उत्कृष्ट कलालाई पनि यो पार्कमा समावेश गरिएको रहेछ । हिरोसिमा मेमोरियल पार्कमा गएपछि यो हेर्न कसैले पनि छुटाउँदैनन् । वरिपरि कागजैकागजले बनेका रङ्गीचङ्गी हजार क्रेनका लहरहरू छन् र बिचमा करिवतीस फिट जति अग्लो क्रेन (सारस) को मूर्ति ठड्याइएको छ । दुईवटा खुट्टा र लामो चुच्चोले जमिनमा टेकेको जस्तो देखिन्छ । सबैभन्दा माथि एउटा मान्छेले आफ्ना लामा लामा हात दुबैतिर फैलाई धातुको क्रेनलाई टक्क अड्याएर राखेको छ ।

क्रेनको शरीरका दुईतिर दुई जना बालकहरू हात पैmलाएर क्रेनको शरीरमै टाँसिएर रहेका मूर्तिहरू छन् । त्यो किन राखिएको हो मैले बुझ्न सकिनँ । चालकसँग सोध्नु पर्ला भनेर हामी अगाडि बढ्यौँ । हामीलाई पनि सबै सिध्याउनु थियो । त्यसैले धेरै जोड गरेनौँ । यसको मुन्तिर ठुलो घन्ट झुन्ड्याइएको छ । यो घन्ट पनि क्रेनजस्तै आकारमा बनाइएको रहेछ । आगन्तुकहरूले बजाउन सकुन् भनेर लामो डोरी तलसम्म आइपुग्ने गरी झुन्ड्याइएको छ ।

यी कागजी क्रेनहरूको खातैखात, लहरैलहरभित्र त एटम बमसँग जोडिएको कथा पो रहेछ । कथा यस्तो थियो— एटम बम खसेको दिन यसको हाइपोसेन्टरबाट करिवडेढ माइल जति परको एउटा घरमा एउटी आमा र उनकी दुई वर्षकी छोरी मात्र थिए रे । ती बच्चीको नाम साडाको सासाकी रहेछ । बमको थर्काइले साडाको सासाकी भकुन्डो जस्तो गरी उफ्रिएर झ्यालबाट बाहिर उछिट्टिन पुगिछन् । उनकी आमाले अब छोरी मरिन् भन्ने सोचेर दौडेर बाहिर पुगिछन् तर ती बच्ची जिउँदै रहिछन् । करिवसात–आठ वर्षपछि उक्त बच्चीको घाँटीतिर, कानतिर सुन्निन थालेछ । त्यसपछि खुट्टाका ठाउँ ठाउँमा नीला–नीला दागहरू देखिन थालेछन् ।

डाक्टरहरूले के पत्ता लगाएछन् भने उनलाई ल्यूकेमिया भन्ने रोग लागेको रहेछ जुन रेडिएसनको एक्सपोजरबाट हुन्छ । सहरभरि अन्य धेरै केटाकेटीहरूमा ल्यूकेमिया देखिन थालिसकेको रहेछ रे । साडाको सासाकीलाई अस्पतालमा राखिएछ । उपचारबाट केही नहुने भएछ । अब सासाकी मर्छिन् भन्ने कुरा थाहा भयो रे । ती सानी बालिकालाई बाँच्ने निकै रहर रहेछ, नहुनु पनि किन र ! जीवन जिउन कसलाई मन नपर्ला र ! सासाकीको मनमा के विश्वास रहेछ भने हजार कागजी क्रेनहरू बनाउन सकियो भने मान्छेले इच्छा गरेको कुरा पूरा हुन्छ । उनको इच्छा बाँच्ने थियो । त्यसैले उनले कागजका क्रेनहरू बनाउन सुरु गरिछन् । छ सय चौसट्ठी वटा क्रेन बनाउँदैमा उनको मृत्यु भएछ । त्यसपछि उनका स्कूलका साथीहरू मिलेर हजार वटा कागजी क्रेनहरू बनाइदिएछन् । हजार कागजी क्रेनको सन्देश के हो भने युद्ध नहोस्, संसारभर शान्ति छाओस् । यसै सन्देशको सम्झनामा साडाको सासाकीको नाउँमा हजार कागजी क्रेनको स्थापना म्युजियममा गरिएको रहेछ । केटाकेटीको जीवन लामो समयसम्म बाँचिरहोस् भनेर क्रेनको दुबैतिर बच्चाको मूर्ति टाँसिएको रहेछ ।

अझै जापानमा हजार कागजी क्रेनको प्रथा निकै प्रचलित रहेछ । जापानीहरू आफ्नी छोरीको विवाहमा नयाँ दम्पतीको सुखशान्ति, दीर्घायु र उन्नतिप्रगतिका लागि तथा बच्चा जन्मँदा उसको दीर्घायु र उज्ज्वल भविष्यका लागि हजार कागजी क्रेनको उपहार दिने चलन अझै कायमै रहेछ ।

आआफ्नो विश्वास न हो !

धूलिसात् भएको तिम्रो बाँच्ने इच्छाको सम्मानमा मेरा आँखा एक पटक फेरि भिजेका छन् प्रिय छोरी सासाकी !