अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:३७ | Colorodo: 01:52

अमेरिकी महादेशमा बुवाको सम्मान

गीता खत्री २०७७ असार ३ गते १५:१७ मा प्रकाशित

यो धर्ती संसार विचित्रको छ । जुन कुनामा पुगे पनि मानव जाति उस्तै, उनीहरूको जन्म मरण उस्तै अनि भगवानप्रतिको आस्था उस्तै । त्यसैगरि एक आपसी माया ममता उस्तै । ईश्वरीय सृष्टिमा सबै मानवीय सृजना उस्तै उस्तै । केबल ठाउँ, समय र परिस्थिति अनुसार जीवन जिउने कला, धर्म संस्कृति, भाषा भेष, लवाइ खुवाइ रहनसहन अलिअलि फरक ।

हामी अमेरिका प्रवेश गरेदेखि यहाँ सबै किसिमका धर्म संस्कृति तथा परम्परालाई समानरुपले मनाइरहेको देख्दै आएकाछौं । त्यसमा पनि न्यूयोर्क सहर जंँहा संसारका सबै मानव जातिको उपस्थिति प्रत्येक दिन देख्न सकिन्छ । यो विशाल सहरमा विविध धर्म, संस्कृति तथा परम्पराको तामझाम भनौँ वा मनाउन पाउने अधिकार भनौँ प्रत्येक दिन देख्न पाइन्छ । यस्तो परम्पराले नव प्रवेशीहरुलाई पनि आप्mनो धर्म, संस्कृति तथा परम्परा अगाल्ने प्रेरणा मिल्दछ । फलस्वरूप हामी पनि यहाँ आएदेखि हामीले मनाइ आएका चाडपर्व, उत्सव, मेला, धार्मिक क्रियाकर्महरु सबै मनाउँदै आएका छौ । यति बेला न्यूयोर्क सानो नेपाल हो जस्तो लाग्छ । जसरी नेपाल विभिन्न जातजाति, धर्म, परम्परा तथा समुदायले भरिएको छ त्यसरी नै न्यूयोर्क पनि सबै किसिमको जातजाति, धर्म, संस्कृति, भाषा भेष तथा परम्पराले भरिएको छ । त्यसैले समय अनुसार हामी यहाँ सबै जातजातिले मनाउने चाडपर्व, धर्म, संस्कृति तथा परम्परालाई भ्याएसम्म मनाउँदै आएकाछौं । अमेरिकी स्वतन्त्रताले यी सबैलाई बचाई राख्ने अवसर पनि दिएको छ ।

अबको केही दिनमै (जुन २१) अमेरिकी फादरस् डे आउंदैछ । सन् १९९७ मा न्यूयोर्कमा पहिलो पटक फादरस् डे सुनेर म छक्क परेकी थिएँ । नेपालमा बाबुको मुख हेर्न दिन वा कुशे औँसी भनेर मनाउँदै आएको हाम्रो पर्व त यहाँ पनि रहेछ । कुशे औँसी भाद्र महिनामा पर्दथ्यो । यता अलि अगाडि जुनमै आयो । टेलिभिजनमा चौबिसै घण्टा बाबुलाई दिइने उपहारका सामानको विज्ञापन देखिन थालेपछि बल्ल यो दिनको पर्खाइमा मानिसहरू बस्न थाल्छन् । यदि यसरी विज्ञापन नगर्ने हो भने कार्य बोझले धेरैले बाबुको मुख हेर्ने दिन बिर्सन पनि सक्ने रहेछन् । हामी पूर्वीय परम्पराका मान्छेहरू धर्म कर्ममा बढी आस्था र विश्वास राख्ने भएकाले पुराना शास्त्र तथा धार्मिक ग्रन्थलाई आधार बनाएर हाम्रा परम्परालाई अगाडि बढाउँछौँ । यता पश्चिमी समाजतिर कसरी यो परम्परा चल्यो होला भन्ने मलाई कौतुहाल जाग्यो ।

अमेरिकाको वेष्ट भर्जिनिया राज्यको खानीमा काम गर्ने ३६२ जना कामदारहरू सन् १९०८ मा खानीले पुरिएर मरेका रहेछन् । कोही जीवित भेटिएछन् पनि । तिनै मृत आत्मा तथा अन्य बहादुर पुरुषहरूको सम्मानमा वेष्ट भर्जिनियाको चर्चले पहिलो पल्ट सन् १९०८ पुरुषहरूको सम्मान कार्यक्रमको आयोजना गरिएको रहेछ । त्यो कार्यक्रम नै फादरस् डेको शुभारम्भ भएछ । पछि सोनारा डोड नाम गरेकी एउटी महिलाले यसलाई हरेक वर्ष मनाउनु पर्छ भन्दै अगाडि बढाइछिन् र उनको बाबुको जन्मदिन पारेर मनाउने प्रस्ताव गरिछिन् । तर त्यो दिनलाई सबैले नमानेर जुन १६ को दिन मनाउन थालेछन् । वासिङ्टन स्टेटले पहिलो पल्ट सन् २०१० मा बाबुको मुख हेर्ने दिन मनाएको रहेछ । बिस्तारै अरू राज्यहरूले अनुसरण गरेछन् । बेलायतले पनि यतैको अनुसरण गरेको रहेछ । बिस्तारै युरोपका अन्य मुलुकहरूमा पनि चल्न थालेछ तर कतै फेब्रुअरी, कतै मार्च र कतै जुन महिनामा । जुनमा पनि सबैले एकै दिन नमनाएर छुट्टाछुट्टै दिन निर्धारित गरिएका रहेछन् । तर अमेरिकी राष्ट्रपति लिन्डन जोन्सनले सन् १९६६ देखि जुन महिनाको तेस्रो आइतबारको दिन मनाउने घोषणा गरेछन् । पछि सन् १९७२ मा राष्ट्रपति रिचर्ड निक्सनले यसलाई आधिकारिक बनाएछन् ।

बाबुले आफ्ना बालबच्चाको सुरक्षा, लालन पालन, सुख सयल तथा राम्रो शिक्षादीक्षाको लागि पु¥याएको योगदानको कदर गर्दै छोराछोरीहरूले बाबुप्रति देखाउने सम्मान, आदर तथा आभार नै फादरस् डे वा बाबुको मुख हेर्ने दिन हो । केटाकेटीहरू ठुला भएपछि बाबुआमाको भनाइ वा आदेशप्रति अनादर गर्ने वा नमान्ने पनि हुन सक्छन् । समयले पुरानो पुस्ता र नयाँ पुस्ताबिच खाडल सिर्जन गर्न सक्छ । फलस्वरूप घरपरिवारमा सानातिना झैँ—झगडा पनि हुन सक्छ । अथवा आ—आफ्नो कामको पछि लागेर आमाबाबुबाट टाढा पुगेका हुन सक्छन् । ती सबै छोराछोरीहरू एकै ठाउँमा जम्मा भएर आमाबाबु तथा छोराछोरीबिचको गहिरो नातालाई नवीकरण गर्दै मीठा मीठा खानेकुराहरू खाने तथा बाबुआमालाई मन परेका उपहार दिई खुसी बनाएर आशीर्वाद लिने दिन नै फादरस् डे हो ।

संसारको सृष्टि क्रममा आमाबाबु दुवैको योगदान ठुलो छ । कुनै एक विना सृष्टि चल्दैन । तर्क गर्नेहरूसँग धेरै कुरा हुनसक्छ । सरसरती हेर्दा बालबच्चा गर्भमा रहेदेखि पाँच—छ वर्षको उमेर नभएसम्म आमाको भार बढी हो की जस्तो मलाई लाग्छ । त्यसैले कुरा उठ्न सक्छ मदरस् डे पहिला सुरु भयो की फादरस् डे । आमाको जिम्मेवारी बढी देखेर नै होला सन् १८६० देखि नै मदरस् डे सुरु भएको थियो ।

हिन्दु धर्म, संस्कृति तथा परम्परामा पनि बाबुको मुख हेर्ने र आमाको मुख हेर्ने दिनलाई ठूलै पर्वको रुपमा लिइन्छ । बाबुको मुख हेर्ने दिनलाई कुशे औंसी पनि भन्ने चलन छ । यो पर्व हरेक साल भाद्र महिनाको कृष्णपक्ष औंसीमा पर्छ । पश्चिमी देशतिर जस्तै बाबुको मुख हेर्ने दिन भने भइहाल्थ्यो । किन कुशे औँसी भन्नु परेको भन्ने प्रश्न वर्तमान पुस्ताले गर्न सक्छन् । हामी हिन्दु सनातनवादी समुदाय भएकाले हाम्रा जीवनका हरेक उकालीओरालीमा हिन्दु धर्म, संस्कृति तथा परम्पराको डोर छ । हिन्दु परम्परामा कुश एउटा महत्वपूर्ण घाँस हो जुनविना हिन्दुहरुको कुनै पनि धार्मिक अनुष्ठान सम्पन्न हुन सक्दैन । कुश, पिपल र शालिग्राम यी तीनै प्राकृतिको सृजनाले हिन्दु धर्ममा अति महत्व राख्नछन् । हिन्दु शास्त्र अनुसार यी तिनै बस्तुले संसारको पालनहार भगवान विष्णुको प्रतीक जनाउँंछन् । हामी मध्ये धेरैले स्वास्थानीको कथा पढेकै हुनुपर्छ ।

परापूर्वकालमा देवता र असुरबीच घनघोर युद्ध भएको थियो । जालन्धर नाम गरेको असुर असाध्य बलियो र शक्तिशाली भएकोले उसले देवगणलाई युद्धमा पराजित गर्ने सम्भावना बलियो भयो । असुर बिजयी भएको खण्डमा संसारमा सत्यमाथि असत्यको, न्यायमाथि अन्यायको र धर्ममाथि अधर्मको बिजय हुने निश्चित भयो । असुर जालन्धरको बल उसको पतिब्रता पत्नी बृन्दाको सतीत्वमा अडेको थियो । जबसम्म बृन्दा पतिब्रता रहन्छिन् जालन्धर अमर रहने कुरा भगवान विष्णुलाई थाहा थियो । त्यसैले भगवान विष्णु जालन्धरको भेष धारण गरी बृन्दाको सतीत्व नष्ट गर्न गए र गरे पनि । पछि बृन्दाले चाल पाइन । त्यसपछि उनले भगवान विष्णुलाई श्राप दिइन । उनले विष्णुलाई रुख, ढुङ्गा, घाँस र झारपात हुनुपरोस् भनेर श्राप दिइन । त्यही श्रापले भगवान विष्णु धर्तीमा पिपल, शालिग्राम, तुलसी र कुशको रुपमा अबतरित भए । हामी यी चारै बस्तुलाई भगवान विष्णुको प्रतीकका रुपमा पुजाअर्चना गर्दछौं । यही भाद्र कृष्णपक्ष औंसीको दिन कुशलाई जरैसंग उखेलेर घरघरमा भित्र्याइन्छ र बर्षभरि गरिने धार्मिक अनुष्ठान तथा क्रियाकलापहरुमा कुशको प्रयोग गरिन्छ । अर्थात भगवान विष्णुलाई घरघरमा राख्दछौं र उनको पुजा आराधना गर्दछौं । जीवित आमाबाबुको सेवा गरेमामात्र मातृ ऋण र पितृ ऋणबाट मुक्ति पाइन्छ । जीवित अवस्थामा राम्रो व्यवहार नगर्नेले मरेपछि श्राद्ध गरेर वा अन्य दानपुण्य गरेर पितृको कहिले उद्दार हुंदैन भन्ने कुरा मानव जगतले बुझनु आवश्यक छ ।

बाबु हुनेले आफ्नो बाबुलाई यताकै जस्तो आदरसत्कार गर्ने, मीठामीठा खानेकुरा बनाइ खुवाउने तथा बाबुलाई मनपर्ने उपहार किनेर खुसी र प्रशन्न बनाउने र बाबुको आशीर्वाद लिने गर्दछन् । बिबाहित छोरीचेलीहरु पनि यो अवसरमा बाबुलाई भेटन मिठाइ, फलफुल तथा उपहार लिएर माइतिघरमा आइपुग्छन् । एकातिर बर्षभरि भेटघाट नभएका छोरीछोरीसंग बाबुआमाको भेटघाट हुन्छ भने अर्कोतिर दिदीबहिनी तथा दाजुभाइबीच पनि भेटघाट भई फेरि पारिवारिक मायाप्रेम र आदरसत्कारको पुर्नताजगी हुन्छ । सानातिना मनमुटाब पनि सकिन्छ । बाबु नहुनेले भने काठमाण्डौंस्थित गोकर्णमा रहेको उत्तरबाहिनी नदी र बागमती नदीको संगमस्थलमा गइ बाबुको श्राद्ध गर्ने गर्दछन् । त्यहाँ गएर श्राद्ध गर्दा पितृको उद्धार हुन्छ भन्ने जनविश्वास छ । त्यसपछि गोकर्णेश्वर महादेवको मन्दिरमा गई महादेवको दर्शन र पुजाआराधना गर्नाले पितृ लगायत सबै परिवारजनको मनोकामना पूर्ण हुन्छ भन्ने भनाई पनि प्रचलनमा छ ।

एकै दिन भएपनि यो पर्बले देशका आथिर्क क्रियाकलापमा निकै भरथेग गर्दछ । यो समयमा सबै व्यापारिहरु आ—आफ्नो बन्दव्यापारको उच्च आकांक्षा राखेर व्यापारमा जुटेका हुन्छन् । विभिन्न जातजातिले भरिएको देश भएपनि बाबुआमा र छोराछोरीको माया प्रेम सम्बन्धमा सबैको एउटै धारणा रहेकाले देशभरि नै बडो चहलपहलकासाथ यो पर्ब सुसम्पन्न हुन्छ ।

यस पुनीत अवसरमा छयासी बर्ष पार गर्नु भएका मेरा बुवा कमलबहादुर खड्का र पचासी बर्ष काटनु भएकी मेरी आमा मखमली खड्काको सम्झनामा डुब्दै यति कलम चलाएँ । उहाँहरु आठ बीस उमेर बर्ष पार गर्नु भएकोमात्र होइन, अझै आफ्नै खुट्टामा उभिएर बाँचिरहनु भएको छ । तीनजना आप्mना सन्तान र सातजना नाति र नातिनीको लालनपालनमासमेत अहम् भूमिका निर्बाह गर्नु भएका ती तन्नेरी बृद्धहरु हामी सबैका लागि प्रेरणाका स्रोत पनि हुनुहुन्छ । उहांको साथमा अहिले न कुनै आफ्ना सन्तान छन् न नातीनातिनी । तर उहांहरुको माया, सद्भाव तथा समाजसेवा जस्ता गुणले गाउँका सबै दाजुभाइ दिदीबहिनीहरु उहाँहरुको साथमा छन् । घरका गायक भनौ वा सक्कली गायक नबनेका मेरा बुवा स्वरका धनी हुनुहुन्छ । अहिलेपनि मेजेन्जरबाट प्रत्येक हप्ता कुरा गर्दा दुईतीनवटा भजन हामीलाई सुनाउन भ्याउनु हुन्छ । सन् २०१४ मा म काठमाण्डौ गएका बखत उहाँहरुको दैन्नदिनीलाई हेर्दै एउटा भजन लेखेकी थिएँं । त्यो भजनमा बुबा र मेरी दिदीलाई गाउन लगाउने मेरो धोको थियो । मेरी दिदी पनि गायक त होइनन् तर कोकिल स्वरकी धनी भने हुन । उहांले दुइचारवटा भजनहरुको सि.डी अलबम पनि निकाल्नु भएको छ । मेरो शब्दलाई प्रसिद्ध संंगीतकार राजु सिंहले संगीतबद्ध पनि गर्नु भएको थियो । समयले त्यो काम नेपालमा बन्न दिएन । सन् २०१६ मा मेरो बुबाआमा अमेरिका आएका बखत सो काम सम्पन्न भयो । यहांहरुलाई सुन्न र उहाँहरुको कलाकारिता देख्न मन छ भने कृपया युटुबमा गएर गीता खत्री मखमली भनेर खोज्नु होस् । उहांँको स्वरको मूल्यांकन तपाईहरु आफैले गर्नु हुनेछ । दिदी नभएको बेला परेकोले दिदीको स्थानमा मैले आफ्नै स्वरलाई रेकर्डगर्न बाध्य भएँ । यो बाहेक अन्य चारपांचवटा गीतहरुमा पनि मेरा बुबाआमाले असी बर्ष काटेपछि आफ्नो कलाकारितालाई भिजुलाइजेशन गरेर जनसमक्ष पेश गर्नु भएको छ । साथै सन् २०१६ को जनवरीतिरै न्यूयोर्कको ज्याक्शन हाइटस्स्थित सत्यनारायण मन्दिरमा बुवाले दुई घण्टासम्म लगातार भजन गाएर एउटा युवतिको फोक्सो प्रत्यारोपणका लागि सहयोग जुटाउनु भएको थियो । म उहाँंहरुको मनोबल, शक्ति, मायाममता र सहासप्रति सदा गर्ब गर्दछु । यो छोटो आलेख उहांहरुप्रति नै समर्पित छ ।

अन्तमा संसार जतिनै बिशाल भएपनि आमाबाबु र उनिहरुका सन्तानबीचको नाता, मायाममता र मानसम्मान उस्तै हुन्छ, चाहे विकसित देशमा होस् वा अविकसित देश । परम्परागत हिसाबमा विधिविधानमा केही तलमाथि भएपनि बाबुलाई दिइने मान सम्मान एउटै हो । मुखैमा आइपुग्न लागेको फादरस् डे अमेरिकी महादेशमा बस्नु हुने सबै आदरणीय बुबाहरुमा सादर नमन गर्दै धेरैधेरै शुभकामना अर्पण गर्दछु ।