अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१८ | Colorodo: 22:33

विद्रोही प्राज्ञ-प्रेमा शाह

गीता खत्री २०७५ मंसिर ९ गते २०:१२ मा प्रकाशित

स्कुले जीवनबाट साहित्यमा कलम चलाए पनि नेपाली साहित्यको फाँटमा मैले विचरण गर्न थालेको धेरै दशक भएको छैन । साँच्चै भन्ने हो भने बचेको समयको सदुपयोग यतातिर गरेको मात्रै हो भन्न पनि अप्ठेरो मान्दिन । साहित्यमा चर्चित कृतिहरू भ्याएसम्म सबैको पढ्ने प्रयास गर्छु । नेपाली साहित्यजगतमा मैले नसुनेका नामहरू थोरै मात्र थिए । त्यसैमा प्रेमा शाहको नाम आउने रहेछ । आज प्रसिद्ध साहित्यकार नरेन्द्रराज प्रसाईँले लेख्नु भएको विद्रोही प्राज्ञ—प्रेमा शाहको जीवनी लेख पढ्न भ्याएं । नरेन्द्रराज प्रसाइ दाजुले यसभन्दा अगाडि झन्डै तीस वटा जति जीवनी लेखिसक्नु भएको छ भने पचासभन्दा बढी अन्य कृतिहरू सिर्जना गरेर नेपाली साहित्यजगतलाई निकै ओजिलो र तेजिलो बनाइसक्नु भएको छ ।

प्रेमा शाहको जीवनी पढी सकेपछि मलाई के लाग्यो भने सानै उमेरमा प्रेमा शाहले नेपाली साहित्याकाशमा उदाएर छोटो अवधिमै नेपाली साहित्य तथा नेपाली समाजलाई कहिल्यै कसैले बिर्सन नसक्ने योगदान दिएर अस्ताउनु भएको रहेछ । मान्छे जतिसुकै पढेलेखेको भए पनि कहिलेकाहीँ जीवन के हो? समाज के हो? मानवजगतमा किन यिनीहरूको खाँचो पर्छ भन्ने कुरा बुझ्न मान्छे असमर्थ हुने रहेछ । प्रेमा शाह त्यही असमर्थ मान्छे मध्येको एक मूर्धन्य स्रष्टा पर्नु भएछ । उहाँले तत्कालीन समाजसँग त सिँगारी खेल्नु भएछ नै, कोहीदेखि कहिल्लै डराउनु भएन । कुनै कुरामा चित्त नबुझेपछि आफैलाई लाड प्यार गर्नेलाई पनि गोली हान्न पछि पर्नु भएन । मलाई के लाग्छ भने उहाँले आफ्नो योग्यता, क्षमता र बौद्धिकतालाई समय अनुसार बुझ्न सक्नु भएनछ, चिन्न सक्नु भएनछ ।

मान्छे बाहिरबाट हेर्दा भद्र भलादमी देखिँदैमा उनीहरूभित्र लुकेका यौनपिपासा, यौन कुण्ठा, हिंसा, धुर्तता तथा दम्भको आकलन गर्न सकिन्न । मान्छेभित्र उब्जिने ती सबै अवस्थाहरूलाई प्रेमा शाहले घरभित्रै तथा घर बाहिरी गएर कलिलो उमेर तथा छोटो अवधिमै देख्नु भो, बुझ्नु भो र अनुभव गर्नु भयो । तत्कालीन समयमा खास गरेर यौन व्यभिचार, हिंसा, दमन खानदानी घरहरूमा घरभित्रै र समाज गाउँटोलमा घरबाहिर चलिरहन्थे । तर यसलाई सबैले लुकाउने, छुपाउने, दबाउने वा अझ यसो भनौ अँध्यारोभित्रै सकाउने प्रचलन थियो । प्रेमा शाहको साहसले ती कुराहरूलाई समाजमा वा भनौ बौद्धिकजगतमा पहिलो पल्ट पर्दा हटाउन सफल भएको रहेछ । यस सम्बन्धमा सनातनी समाजभित्र एउटा विद्रोहको शंखनाद गर्नु भएको रहेछ प्रेमा शाहले । त्यस बखतका उनका कविता ‘आऊ मलाई सम्भोग गर’, ‘म सूर्यलाई सम्भोग गर्छु’ जस्ता कविताले बौद्धिकजगतमा सनसनि मच्चाउन सफल भएको रहेछ । मैले सीता पाण्डेको यस्तै विद्रोही कविता ‘मासुको डल्ला’ विभिन्न कार्यक्रमहरूमा सुन्दै आएको छु । जब सीताजी ‘मासु डल्ला’ वाचन गर्न थाल्नु हुन्छ तालीको गडगडाहट कविता नसकिएसम्म हुन्छ अहिले पनि । अनि मलाई लाग्थ्यो नेपाली साहित्यमा सीता पाण्डेले नै पहिलो पटक फ्रायडवादलाई खुल्लामन्चमा ल्याएकी रहिछन् ।

प्रेमा शाहको जीवनी पढीसकेपछि मेरो सोचाइ गलत साबित भयो । अहिलेको अवस्थामा त यौनजन्य कविता बचत गर्दा तालीको वर्षा हुन्छ भने २०२३।२४ सालतिर त्यसमा पनि बैँसले लटरम्म फुलेकी युवतीले ‘आऊ मलाई सम्भोग गर’ भनेर कविता वाचन गर्दा सहभागीहरू कति उत्तेजित भए होलान्, कतिले मुख छोप्दै हिँड होलान्, कति दिनसम्म कविता र प्रेमाको चर्चा परिचर्चा भयो होला हामी अनुमान गर्न सक्छौँ । दुवै नारीहरू आआफ्नो बैँसमा उस्तै उस्तै साहसी, उस्तै उस्तै निर्भीक अनि उस्तै उस्तै आकर्षणका केन्द्र बिन्दु रहेछन् ।

प्रेमा—तमोट—चिठीका अंशहरूले विभिन्न समयमा प्रेमाका सामाजिक, आर्थिक तथा साहित्यिक अवस्थाहरूको खुल्ला चित्रणले उहाँमा भएको साहित्यिक क्षमता, उहाँको स्वाभिमान, उहाँको निर्भिकता तथा सहासको पुष्टि गर्दछन् । समय र प्रेमा शाहको गहिरो द्वन्द चलिरह्यो चलिरह्यो । अन्तमा समयले प्रेमा शाहलाई पछार्दै गएछ, विवेकले धोका दिँदै गएछ । ‘पैसा र बैँस थाहा हुन्न कान्छी रित्तिँदै गएको’ प्रेमा शाहले बुझ्नु भएन छ वा यो प्राकृतिक नियमलाई चुनौती दिनु भयो । उहाँले जित्न सक्नु भएन । तर त्यस्ता हारले पनि प्रेमा शाहलाई विचलित बनाए जस्तो लागेन । उहाँले आप््mनो स्वाभिमान जीवन रहेसम्म बचाइ राख्नु भएको देखियो । नेपाल र नेपालीप्रतिको उहाँको अगाध मायाप्रेम रहेको देखियो । सत्य र तथ्यको अडानमा मात्र विश्वास गर्ने निडर नारी रत्न प्रेमा शाह हुन भन्ने कुरा उहाँले माड््साबलाई लेखेको एउटा पत्रबाट देखिन्छ । पत्रकारले जे पायो त्यही लेख्नु अनुचित हो, बुझेर सत्यतथ्यमा आधारित लेख मात्र छपाउनु पर्छ भन्ने उहाँको इमान्दारिताको पराकाष्ठा थियो । एक पटक भारतीय पत्रिकामा नेपालबारे छापिएको गतल लेखको प्रमाण जुटाएर त्यो भारतीय लेखकको ‘भ््mयाँको झार्नु छ’ भन्ने शब्दले मलाई उहाँप्रतिको अगाध सम्मान र श्रद्धा दिलायो । यस्तै स्वाभिमानी सबै नेपाली भइदिएको भए आज कुनै नेपाली कसैको आशा र भरोसामा बाँच्नु पर्ने थिएन, न त मरुभूमिको बालुवामा बसेर पसिना चुहाउनु पर्ने थियो ।

विद्रोही प्राज्ञ प्रेमा शाह जीवनीकृतमा छापिएका कुराहरूमध्ये मलाई अलि विश्वास नलागेको भनाइ बासुदेवसरण कोइरालाको भनाइ हो । उहाँको भनाइ रहेछ ‘प्रेमा शाह सर्लाहीको नव जीवन विद्याश्रम स्कुलमा पढाउन जाँदा कालो ओभर कोट लगाएर जानु हुन्थ्यो । आप््mनी सानी छोरीलाई त्यही ओभरकोटको गोजीमा राखेर हिड्थिन’ । यो धेरै काल अघिको कुरा थिएन, २०३७।३८ सालतिरको कुरा हो । ओभोरकोटको गोजीमा मान्छेको बच्चा कसरी अटाउँथ्यो र ? अनि आमाको माया त्यति निर्दयी हुन्छ र ? ओछ्यानमा आफूसँगै सुताउँदा पनि बच्चाको हातखुट्टा च्यापिएला की, आफ्नो जीउले बच्चालाई थिच्ला की, लुगाले मुख छोपिएला की भनेर रातभरि कुनै आमा निर्धक्कसँग निदाउन सक्दैनन् । आफ्नो काखे बालिकालाई गोजीमा राखेर कसरी हिँडिन होला प्रेमा शाह त्यो तराईको रापिलो घाममा । उनिभित्र बच्चाको माया नभएको भए उनी त्यो बालिकालाई जन्माउने नै थिइनन् । त्यो सामर्थ्य उनमा थियो । कोइरालाजीले अलि बढाइ चढाइ गरेको हो की जस्तो लाग्छ मलाई ।
जे होस प्रेमा शाहले डा प्रा. वासुदेव त्रिपाठीले भने भैm प्रेम पथ नै बनाएर जानु भएको रहेछ । उहाँलाई हार्दिक नमन । प्रेमा शाहबारेमा यति धेरै ज्ञान दिने यति धेरै जानकारी दिने कृतिको सिर्जना गरेर हामी पाठकहरूलाई सजिलो बनाइ दिनु भएकोमा प्रसिद्ध साहित्यकार, सिद्ध हस्त जीवनी लेखक आदरणीय दाजु नरेन्द्रराज प्रसाइ तथा नइ प्रकाशनप्रति हार्दिक आभार प्रकट गर्दछु ।

उहाँले यो धर्ती छोडेको झन्डै एक वर्ष हुन लागेछ, उहाँको आत्माको चीर शान्तिको कामना गर्न चाहन्छु ।

प्रतिक्रिया