अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

मध्यान्हको त्यो घण्टी

कृष्ण भट्ट २०७५ फागुन २५ गते ९:५१ मा प्रकाशित

लघुकथा:
मध्यान्हतिरको चर्को घाममा हजारौँको भिड थियो । एक खालको सन्नाटा अनि संशयपूर्ण वातावरण थियो । कथामा सुनिएको, सिनेमामा हेरिएको दृश्य प्रत्यक्ष देखिँदै थियो । अगाडी विशेष मञ्च खडा गरिएको थियो, कुनै आसनको व्यवस्था थिएन । मञ्च भन्दा अग्ला दुई खम्बा, अनि खम्बा बिचमा पिङ हाल्न ठिक्क एक डण्डामा एक अङ्कुशे डोरी, अनौठो तैयारी थियो । केही बेरमै मकुन्ड़ोधारी अजङका दुई कायाकासाथ एक दुब्लो पातलो मानव शरीर मञ्चमा देखिन्छ । कालो कपडाले अनुहार छोपी डोरीको अङ्कुश घाँटीमा छिराइदिएर ती दुई तल झर्छन् । ठिक मध्यान्हमा घण्टी बज्छ । मञ्च कोल्याप्स हुन्छ, शरीर डोरीमा तनक्क हुन्छ । एउटा न्यायिक आदेशको तामिल पुरा हुन्छ, सार्वजनिक स्थलमा फाँसीको सजाय ।

भर्खर नयाँ कानुन बनेको थियो । न्याय प्रेमी जनता कै माग थियो, “हत्यारा बलात्कारीलाई फाँसी दे ।” मुलुक कै इतिहासमा यस प्रकारको पहिलो कानुनी कार्यवाही थियो । दृश्य देखेर शरीर थरर काम्छ । धेरैजसोका आँखा रसाउँछन् । खुसीका या कोमल क्षमाशील नेपाली मनमुटुबाट पलाएको सहानुभूति ! कतिपयका मुखबाट “बिचरा” “च्व च्व” आवाज सुनिन्छ । खासखुस पनि सुनिन्छ “यस्तै गरिब सोझा साझा मानसिक रोगी झुन्डिने हुन्, ठूलाबडा पहुँचवाला अपराधीलाई प्रमाण नष्ट गरेर जोगाइन्छ, यस्तै छ, चोरलाई चौतारो साधुलाई शूली, सतीले सरापेको देश !” यस्तै गाइगुइ भिडमा जताततै सुनिन्छ ।
मेरा पनि आँखा रसाएका हुन्छन् , पुछ्नलाई आँखामा हात पुग्छ । आँखा खुल्छन्, अँध्यारो हुन्छ, सिरानी भिजेको हुन्छ ।