अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५४ | Colorodo: 18:09

अनलाइनमा एक क्षण उनीसँग

कृष्ण भट्ट २०७५ फागुन ५ गते ११:४८ मा प्रकाशित

लघुकथा:

धेरै चर्चा सुनेँ उनको, अनि व्याकुल भयो मन हेर्न उनलाई । सपनामा, बिपनामा हमेसा यो मन उनको पिछा गर्न थाल्यो । खोज्दै जाँदा अनलाइनमा भेटेँ । नाम नै उनको कति राम्रो, समृद्धि ! अहा ! उत्तिकै सुन्दर उनको रूप रङ्ग ! प्रोफाइल तस्बिर खुप्पै हेरेँ । जति हेरेपनि हेरिरहूँ लाग्ने । उनका स्टाटसहरु पनि कति आकर्षक ! दोहोर्याई तेहर्याई हेरेँ । उनलाई साथी बनाउन चाहना भयो । हेरेँ, लाखौँ लाख उनका फलोवर रहेछन् तर साथी भने अति नै सीमित । एक पल्ट फ्रेन्ड रिक्वेस्ट गरी हेर्न मन लाग्यो, क्लिक गरेँ । फलोवर भएँ, मेसेन्जरमा एड गरेँ अनि वेभ गरेँ । जवाफको अपेक्षा थिएन तर ‘हेलो’ अङ्ग्रेजीमा जवाफ पाएँ । सपना हो कि बिपना छुट्ट्याउनै सकिन । आफैलाई एक पल्ट चिमोटें, बिपनै रहेछ । खुसीको सीमा नै भएन, के गरूँ, के गरूँ भयो ।

‘हाई, ह्वेर अ यु फ्रम ?’ मैले पनि अङ्ग्रेजीमै लेखेँ ।
‘आई एम फ्रम यु एस, एण्ड यु ?’ उनको जवाफ अनि प्रश्न पनि ।

‘आई एम फ्रम नेपाल’ मैले जवाफ दिएँ ।
‘नमस्ते, म पनि नेपालबाटै हो, बाल्य अवस्थामै आएर यतै हुर्के बढेको । ‘

‘ए, खुसी लाग्यो । तपाईँ कति भाग्यमानी, स्वर्गमै बस्नु भएको छ !’
‘स्वर्ग त नेपाल नै हो ।’

‘हो र ? यहाँ त सबै त्यहीँ नै स्वर्ग हो भन्ने ठान्छन् ।’
‘यो त एउटा बनावटी स्वर्ग हो, प्रकृतिले नै बनाएको स्वर्ग त नेपाल हो । मान्छेले बिगारेर पो त ।’

‘खै, हामीलाई त त्यतै उडेर जानपाए हुन्थ्यो जस्तो लाग्छ । अनि तपाईँलाई नेपालतिर आउन मन लाग्छ ?’

‘लाग्छ, असाध्यै लाग्छ । नेपालमा उपयोग नभएर त्यसै खेर गइरहेको आफ्नो अथाह सम्पत्ति छाडेर विदेशमा बस्ने कहाँ रहर छ र ? म एक दुई पल्ट गएको पनि हुँ, त्यहीँ बस्न भनेर । तर बस्नै नसकेर फर्केँ । जताततै डर, त्रास, असुरक्षा ! जहाँतहीं गिद्धे नजरले हेर्नेहरूको भिड । एक पल्ट त आफैले भोगेँ । सम्साँझै बिच बाटोमै म लुटिएँ । बेस्सरी चिच्याएँ, गुहार मागेँ । देख्ने मान्छेहरू उल्टै झ्याल ढोका थुनेर घर भित्र लुके । धन्न लगाएका केही गहना मात्र लुटे । मलाई नै उठाएर कतै झाडी खोल्सातिर लगी मेरो शरीर लुटेको भए पनि मेरो चीत्कार सुन्ने कोही हुने थिएन । त्यसैले म फर्केँ । अहिले त सुन्दछु झनै असुरक्षा छ रे । दिउसै लुटपाट, अपहरण, बलात्कार, हत्या भइरहेको छ रे । त्यसैले मन लागेर पनि जाने आँट गर्न सक्दिन । हुन त आजकल सुन्छु मलाई धेरैले खुपै सम्झिरहेका छन्, मेरो नाममा निकै गीत पनि गाइन्छ रे । काकाहरू मध्ये एक जना हुनुहुन्छ, ठुलो मान्छे हुनुभएको छ, आजकल मेरो नाम निकै लिनु हुन्छ । म फर्कन्छु भनेर अरूको अगाडि खुब फुर्ती लाउनुहुन्छ । हुन त मलाई वहाँ हुरुक्कै गर्नु हुन्छ । तर वहाँले मलाईभन्दा पनि मेरो सम्पत्तिको माया गर्नुभएको बुझ्छु । वहाँका आफ्नै सन्तान छैनन्, तर एउटा उखान छ नि, ‘अपुताको धन प्यारो’ ! देख्छु वहाँको वरिपरि बदमास गुण्डाहरुको ठुलो झुन्ड छ जसले मेरै सम्पत्ति मेरै नाममा लुटेर खाइरहेका छन्, वहाँ टुलु टुलु हेरेर बस्नुहुन्छ । मलाई गिद्धे नजरले हेर्ने गुण्डाहरुसंगै बसेर खानुहुन्छ । विश्वास कसरी गर्नु ? अरू काकाहरू पनि त्यस्तै छन् । कसको भर गरेर फर्कूँ ?’

‘तपाईँ आउनुहुन्छ भनेर केही समय यता निकै चर्चा छ, तपाइको आगमनको लागि भनेर निकै तामझाम छ । स्वागतको लागि तम्तयार माथिदेखि तलसम्म सरकारै सरकार छन् , स्मार्ट सरकार ! तपाईँ नआउने भन्दा दुख लाग्यो । तर तपाईँसँग यति कुरा गर्न पाउँदा पनि धेरै खुसी लाग्यो, एक पल्ट लाइभ भिडिओ च्याट गरौँ न !’ अनुरोध गरेँ ।

‘म हत्तपति कसैसँग कुरा गर्ने गरेको छैन, तर आज तपाईँसँग …. ल ठिकै छ .. म भिडिओ अन गरेँ ।’
म त खुसीले पागल जस्तो भएँ, रिङ बज्यो, आँखा खुले । मोबाइलमा बिहानको अलार्म बजेको रहेछ । उठेँ ।

कृष्ण भट्ट