अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५५ | Colorodo: 05:10

मन कटक्क भयो

कृष्ण भट्ट २०७५ माघ २६ गते २२:५० मा प्रकाशित

लघुकथा :

एकोहोरो आफ्नो चियाको कपमा हेरिरहेको थिएँ, आधा रित्तो भनूँ आफ्नै जीवन जस्तो वा आधा भरिएको भनूँ केही सोच्न सकिरहेको थिइन । अचानक ढोकाबाट भित्र पस्दै गरेको तीन जनाको एउटा समूहमाथि आँखा पर्‍यो । रेस्टुरेन्ट हो मान्छे त आइ नै रहन्छन् नि, तर किन किन आँखा त्यतै ठोकियो । कारण उनीहरूको हाउभाउ । निकै खुसी र उमङ्गको मुडमा थिए । तिनै जनामा एक ढङ्गको रवाफ देखिन्थ्यो । मेरै छेउको टेबुलमा बसे । अब मैले चिया पिउने रफ्तारलाई ह्वात्तै घटाएर आफ्ना आँखाको दाहिने कुनाबाट उनीहरूलाई हेर्न थालेँ । उनीहरू सबैले एकैसाथ के खाने भनेर सोधे । लाग्थ्यो कोही सानो हुन चाहन्नथे । त्यसबेलाको होस्ट बन्ने तछाड मछाड टुंगिन केही बेर लाग्यो । अन्ततः एकजनाले त्यो बिड जिते ।

एउटाले खानाको अर्डर गर्दै गए, मैले मेनुमा हेर्दै गएँ । निकै महँगा अर्डरहरू थियो । म मेरो चिसो भैसकेको चियाको चुस्की लिँदै, आँखा अन्यत्र घुमाउँदै ध्यान उनीहरूतिर लाइरहेको थिएँ ।

“विदेशमा डलर कमाउने भएपछि हामीलाई यस्तरी बिर्सिहाल्ने भन्या ?” एउटाले गफ सुरु गरे ।

“मैले के डलर कमाउनु, तिमी यहीँ करोडको गाडी चढेर हिँडिरहेको देख्छु । साँच्चै के काम गरेर कमाउँछौ हो त्यत्रो पैसा ?”

“नेतालाई के काम गर्न पर्‍यो र ! त्यतिकै मालामाल !” अर्को बोल्यो ।

“के को नेता हुनु, अहिलेसम्म कुनै पद पाएको हैन ।”

“किन पद चाहियो ? मस्त गांठ कमाउन पाएकै छ !”

“तिमी पनि त कम्ता कमाएका छैनौ, करोडौँ पर्ने त्यत्रो ठुलो घर, छोराछोरीलाई महँगो स्कुलमा पढाएका छौ, बाइक नै भए पनि महँगो खालको चढेको छौ । तिम्रो एउटा सरकारी अधिकृत पदको तलबले पुग्छ ?”

“बल्ल बल्ल एउटा सानो गौँथलीको गुँड जोडेको छु, आँखा नलाउ न यार !”

उनीहरूको कुराबाट मैले तीनैजनाको छोटो परिचय पाएँ । एउटा रहेछन् एनआरएन, अर्को सरकारी कर्मचारी, अनि एउटाको पेसा रहेछ राजनीति । यी तिनै जना प्रति मलाइ ईर्ष्या जागेर आयो । आफू पनि त एउटा सरकारी अधिकृत नै हुँ । जीवन धान्न कस्तो धौ धौ छ । कति कोसिस गर्दा पनि विदेश जान सकिन । यहीँ पनि केही गर्न सक्या होइन । आफ्नै कर्मलाई मनमनै धिक्कार्छु ।

उनीहरूका खानेकुरा आयो र खान थाले, मेरो चिया सकियो । अब म के गरी बस्ने ? फेरी एक कप चिया थपुं ? हैन, चिया पनि के दोहोर्याएर पिउनु ? मेनुमा आँखा दौडाउन थालेँ । मूल्य देखेर मुटुमा ढ्याङ्ग्रो बज्यो । तै पनि मुटु दह्रो बनाएर मेनुमा चियापछिको सबै भन्दा सस्तो मशरूम सुप अर्डर गरेँ । मलाई त्यहाँ बसेर केही बेर उनीहरूका कुरा सुन्न एउटा सानो बहाना चाहिएको थियो, त्यो साह्रै महँगो पर्ने भयो मेरोलागि ।

“हैन साथी, विदेशमै जिन्दगी बिताउने हो कि स्वदेश फर्कने हो ?”

“फर्कन्छु ।”

“जवानी रहुन्जेल खैरेहरूको सेवा गर्ने, बुढेसकालमा के खान फर्कन्छौ ? नेपाल वृद्धा श्रम हो कि क्या हो ? आफू त विदेशीको सेवा गर्न गइँदैन, आफ्नै मातृभूमिको सेवा गरेर बसिन्छ । यस्तो स्वर्ग छाडेर को जान्छ ?”

यी घुस्याहा कर्मचारीलाई मातृभूमिको साह्रै माया रहेछ । देश त छाड्नै चाहन्नन् बा ! आफू त नसकेर विदेश नगएको, पाए त जान्थेँ । यस्ता लुटेर खान पाउनेलाई किन स्वर्ग नहोस् त नेपाल ? मनमनै सोचेँ ।

“म विदेश नगएको भए तिमी भन्दा पहिला बढुवा हुन्थेँ पक्कै पनि किनभने मेरो शैक्षिक योग्यता तिम्रोभन्दा बढी छ । तिमी भन्दा सिनिअर हुन्थेँ । तर के गर्थे त ? या त तिमीहरुलेजस्तै देश लुटथें या त तिमीहरूको अगाडी बुङ्गा भएर बस्थेँ । विदेशमा बसेर कमसेकम आफ्नो मातृभूमि लुट्ने पाप त गरेको छैन, बरु केही डलर देशमा भित्र्याएको छु । त्यही रेमिट्यान्सले देशको अर्थतन्त्र धानिएको छ भन्ने त थाहा होला नि ?”

अरू दुइजनाको अमिलिएको अनुहार हेर्न लायकको थियो । क्या दनक दियो भनेर मनमनै म पनि खुसी भएँ । आफू इमानदार भनूँ या श्रीमतीले सधैँ भन्ने गरेको ह्याउ नभाको लाछी भनूँ, जे भए पनि केही राहत महसुस भएको थियो ।

धेरै समयपछि भेट भएका साथीहरूमा जुन खुसीको चरमोत्कर्षको पारो थियो एकाएक तल गिर्‍यो, वियोगान्त नाटकमा जस्तो । त्यसपछि उनीहरूबिच धेरै कुरा भएनन् । ती उठे, एउटाले पैसा तिर्‍यो, बाहिर निस्के । उनीहरूको बिदाबारीमा न्यानो आत्मीयता देखिएन ।

“तिमी कहाँ जाने हो, म पुर्याईदिन्छु ।”

“हैन, पर्दैन ।”

म पनि उठेँ, बिल तिरेँ । सोचेको भन्दा धेरै पैसा तिर्न पर्दा मन कटक्क भयो ।