अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३५ | Colorodo: 00:50

आफ्नै दिवस

कृष्ण भट्ट २०७६ वैशाख १८ गते १०:१४ मा प्रकाशित

मिनी कथा

अप्रत्याशित सुनसान देखेर रलमल्ल पर्‍यो आज साइँलो । सदाझैँ बिहान निस्केको हो उ । कतै चाडै पो आइपुगेको हो कि ! समय हेर्न पूर्वतिर मुन्टो घुमायो । समय डाँडाभन्दा माथि आकाशमा उक्लिसकेको थियो । मध्य वैशाखको तिखो घामले निधार चिसिक्क पोल्यो । अस्तिसम्म कति प्यारो थियो घाम ! क्या सारो चर्को हुन थालेको ! यताउति टाउको घुमाएर हेर्‍यो, कोही देखेन । एउटा आवाज परैबाट सुन्यो, पाले चिच्याएको – “आज काम हुँदैन ।” कारण चाहिँ भन्न आवश्यक ठानेन सायद । उसले पनि किन भनेर सोधेन, लुरुक्क हिँड्यो त्यहाँबाट, लक्ष्यहीन । गम्छामा पोको पारी ल्याएको रोटी थियो साथमा । झिक्यो, चपायो । तुर-तुर पानी झरिरहेको एउटा ढुङ्गे धाराबाट अँजुलीले टन्न पेट भर्‍यो । फेरी अघि बढ्यो । अघिपछि भन्दा खुकुलो थियो सडक । हिँड्दै जाँदा रत्नपार्क पुग्यो । देख्यो, राता राता झन्डा बोकेका मानिसहरूको हुल ।

जुलुस सभा नभएको अलिक समय भएको थियो राजधानीमा । उ रङ्ग मानेर हेर्न थाल्यो । जुलुसमा चर्का नारा लागिरहेको थियो । अझ चर्को सुनिन्थ्यो ‘जिन्दाबाद’ ‘एक हौँ’ भन्ने आवाज । तिनै आवाजसाथ एकै तालमा जोसिला हातका मुठ्ठीहरू माथि उठेका देख्थ्यो ।

छेउमा उभिएर हेरिरहेका एक भद्रजनलाई उसले सोध्यो –
“हजुर यो के को जुलुस होला ?”
“थाहा छैन ? आज ‘मजदुर दिवस’ !” जवाफ पायो ।
“ए ! आफ्नै दिवस पो रहेछ”, उ मनमनै दङ्ग पर्‍यो ।
उसलाई पनि आफ्नो जुलुसमा सहभागी हुन मन लाग्यो । जुलुसका मान्छेहरूलाई हेर्‍यो अनि आफैलाई तलसम्म हेर्‍यो । बकुल्लाको बथानमा कौवा होइन हो कि ठान्यो । अनि छेउबाटै ‘जिन्दाबाद’ भनेर चिच्याउन खोज्यो । तर पेटबाट आवाज माथि आउनै सकेन । उ जुलुसको छेउछेउ लागेर सँगै हिँड्न थाल्यो । आफ्नै ढाँचाका अरुपनि देख्यो छेउछेउबाट हेरिरहेका । उनीहरूको पनि थियो त्यो दिवस, उनीहरूलाई पो थाहा थियो कि थिएन !
*****

जुलुस बसपार्क हुँदै भृकुटीमण्डप पुगेर एकै ठाउँमा थुप्रँदै गयो । पहिलैदेखि जोसिला गीत घन्किरहेका थिए त्यहाँ । जुलुस सभामा बदलियो । मञ्चबाट भाषण सुरु भयो । बिच बिचमा नाच-गान पनि थियो । केहीबेरमा कडा सुरक्षाघेरासाथ मञ्चमा सम्माननीयज्यूको सवारी भयो । मञ्चमा आसीन ठूलासाना सबै उठे । मञ्च अगाडी बसेकाहरू पनि उठे । तर्रर्र ताली बज्यो । सम्माननीयज्यूको आसन ग्रहणसँगै सबै बसे । फेरी भाषण सुचारु भयो । एकपछि अर्को गर्दै धेरै भाषण भए । के के वादका कुरा भए, के के अधिकारका कुरा भए । उसले पटक्कै बुझेन । अन्त्यतिर केही माननीयपछि सम्माननीयको भाषण थियो । सम्माननीय ज्यू आफ्नो भाषणको क्रममा भन्दै हुनुहुन्थ्यो – “अब देशमा दुख, कष्ट, गरिबिका दिन गए । खान नपाएर कोही पनि भोको बस्नु पर्दैन ।” जोरको ताली घन्कियो । उसले पनि ठोक्यो एक जोर ताली । त्यतिका भाषणमा उसले बुझेको र उसको मन छुएको त्यही एउटा कुरा थियो । उ दङ्ग पर्‍यो । सम्माननीयज्यूको भाषणपछि भीड तितरबितर हुन थाल्यो ।
*****

साँझ परिसकेको थियो, उ कोठातिर लाग्यो । बाटोमा झ्वाट्ट सम्झ्यो, घरमा केही अन्न दाना किनेर लानुपर्छ । एउटा पसलमा पस्यो ।
“साहुजी, आज काम पाइएन, एक दुई किलो चामल अनि आलु प्याज उधारो दिनु पर्‍यो हजुर, भोलि तिर्छु ।”
“साँझको बेलामा उधारो हुँदैन”, साहुजीको ठाडो जवाफ पायो ।
सधैँ किन्ने गरेको चिनेको त्यही एउटा पसल थियो । अरू पसलेले त झन् के देलान् भन्ने सोचेर उ त्यतिकै डेरातिर लाग्यो ।
उलाई झिनो आशा थियो बुढीले केही जोहो गरेकी होली । डेरामा पुग्यो । लामो सास फेर्‍यो । सोध्यो –
‘बुढी, खानेकुरा के बनाइछेस ?’
“घरमा कुई भा पो त, तिमीले केही ल्याएनौ ?”
“आज मजदुर दिवस, साइट बन्द रैच, काम पाइएन, पसले साहुले पनि उधारो दिएन, के अर्ने ?”
बुढीचाहिँ बुढाले केही ल्याउलान् भनेर बाटो हेरेर बसेकी रहिछे ।

“आज क्यान्टिन बन्द थियो, मैले पनि त काम पाइन नि ।
अब के खार सुत्ने त?”
“भुराभुरीले के खाए ?”
“बिहानको रोटी टुक्रा खा का निदाइसके ।”
“लौ आज रात त भोकै काट्न परो, भोलि ब्यान कतै पैंचो खोजम्ला ।”
“खै, यो दिवस भन्या नि गाँठे हाम्लाई त दशा नै रच ।”