अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:३७ | Colorodo: 12:52

निम्तो आफ्नै अन्त्येष्टिको

कृष्ण भट्ट २०७५ चैत ११ गते १८:५० मा प्रकाशित

रसिला आँखाबाट तिखो एक नजर मतिर फालेर उनले अभिवादन गरिन् – “गु…ड इभि..निंग” । मैलेपनि त्यस्तै लय मिलाएर अभिवादन फर्काएँ अनि थपेँ – “हाउ आर यु ?” उनले पारी डाँडातिर देखाएर अङ्ग्रेजीमा भनिन् – “मलाई उ त्यहाँ जानु छ।” मैले उनलाई साथ दिनपर्ने झन्झट हुन्छ कि भन्ने ठानी “सी यु” भनेर आफ्नो बाटो लागेँ, आफ्नै गतिमा, ६ किमी प्रति घण्टा ।

मैले केही दिनदेखि उनलाई त्यही बेञ्चमा बसेर पारी पट्टि एकोहोरॊ हेरिरहेको देखेको थिएँ ।
******

हिँड्दै गर्दा त्यै डाँडातिर हेरेँ, सहर जस्तो देखिन्थ्यो । के रहेछ हेर्नलाई आफ्नो बाटो त्यतैतिर सोझ्याएँ । ताल छेउ छेउ घुमेर जाँदा निकै टाढा रहेछ । त्यहाँ पुगेँ, देखेँ, त्यो त मृतहरूको छुट्टै संसार रहेछ । विभिन्न रूप रङ्ग, आकार प्रकारका समाधिहरू रहेछन् – मरेकाहरूको घर ! केही महल जस्ता, केही झुपडी जस्ता; कुनै साना, कुनै ठुला; कुनैमा फुल रोपिएका, केहीमा नक्कली फुल गाडिएका; केहीमा फुलका गुच्छा चढाई पूजा गरिएका; कतिपय कहिल्लै वास्ता नगरिएका झारै झारले भरिएका । मान्छेको यो संसार जस्तै त्यो संसार पनि विविधताले भरिएको रहेछ । व्यक्तिका जीवनी कसैको छोटो, कसैको लामो पत्थरमा कुदिएका थिए भने कुनैमा एउटा काठ गाडिएको र नाम मात्र लेखिएको थियो । कतिपय मक्किईसकेको काठमा नाम पनि मेटिई सकेको थियो ।

सबै आ-आफ्नो समाधिमुनि भूमिगत चीरनिद्रामा हुँदा हुन् । मेरो दिमागभित्र प्रश्नहरू सल्बलाउन थाले – भित्र उनीहरू कस्तो अवस्थामा होलान् ? भोक भोकै शरीर सुकेर अस्थिपन्जर भए होलान् कि सग्लै होलान् ? या आफै अरूको भोजन बने होलान् ? शरीरबाट असङ्ख्य किराहरू जन्मे होलान् ! किराहरूको डीएनए ती मानिसहरूसँग मिल्छ होला कि नाइ ? हेर्दै गएँ, एउटामा ताजै फुलका गुच्छाहरू चढाइएको देखेँ, भर्खर भर्खर वार्षिकी पूजा गरिएको हुँदो हो । ढुङामा नाम हेरेँ, अलेक्जेन्डर ग्रीनलैंड (नाम परिवर्तन),जीवनी पढेँ, कुनै बेलाका प्रमुख व्यक्ति रहेछन्, दस वर्ष अघि बितेका । कल्पना गरेँ – उनी जति नै ठुला वा धनी मान्छे भए पनि भित्र उनको हालत अरूको भन्दा के नै फरक होला र !

अँध्यारो हुन थालिसकेको थियो, फर्केँ दिमागमा तिनै कुराहरू बोकेर ।
******

भोलिपल्ट साँझ फेरी त्यही बेन्चमा बसेर एकोहोरो पारी पट्टि हेरिरहेको उनलाई देखेँ । यसपल्ट मैले नै पहिले ‘गुड इभिनिंग’को अभिवादन गरेँ । उनले आफ्ना सेता गालामा गाढा मुजा पारेर हेरिन अनि बस्ने इसारा गरिन । म बसेँ । “कति राम्रो मौसम !” उनले कुरा सुरु गरिन ।
“हो साह्रै राम्रो मौसम छ ।” मैले प्रतिक्रिया दिएँ ।

कुराकानीको सुरुवात मौसमबाटै हुने सामान्य यताको चलन हो ।

उनले आज फेरी दॊहोर्याइन “म उ त्यहाँ जाने हो ।” गम्भीर मौनतासाथ उनलाई हेरिरहेँ । उनले थपिन् “मेरो पति त्यहीँ छ, मलाई कुरिराखेको छ । मलाई त्यहाँ जान ढिला भएको छ । मेरा सबै भाइ बहिनी गइसके । मेरा आमाका पाँच सन्तानमा म जेठी अझ यहीँ छु । म आमाको सन्तान ! बाउको सन्तान त कसरी भनूँ जसलाई कहिल्लै देखिन । तर आमाले मेरो अनुहार बाउको जस्तै भन्थिन् । उ युरोपको थियो व्यापार गर्न आएको । म जन्मनु भन्दा अगाडी नै छाडेर गयो, कहिल्लै फर्केन । आमाको सन्तान भए पनि मेरो नामको थर उसैको हो । मेरी आमाको उ पहिलो पुरुष, उसलाई धेरै सम्झन्थिन् । अरू चार पुरुषबाट एक एक सन्तान थिए । मेरी आमाले कसैसँग बिहा गरिनन् ।”

मलाई उनको कुरा सुन्न चाख लाग्न थाल्यो, उनी पनि कुरा सुनिदिने मान्छे पाउँदा खुसी देखिन्थिन ।

“मेरो जिन्दगीभर एक मात्र पति थियो । हामी सानैमा एक अर्कालाई प्रेम गर्‍यौँ, सँगै बस्यौँ, तीन सन्तान जन्मिए, हुर्कायौ बढायौँ , हाइस्कूल पास गरेर बाहिर गए, फर्केनन् । पछि हामी बिहा गर्‍यौँ । लामो समय सुखी दाम्पत्य जीवन बितायौँ । पाँच वर्ष अघि उसले एक्लै छाडेर गयो । म पनि छिट्टै जाने हो अब, मैले उसको छेउमा जग्गा पनि लिएर राखेको छु । झन्डै ३२०० डलर तिरेको ३० बर्गफीट जग्गा । कफीनको लागि, अन्त्येष्टिकोलागि र समाधीकोलागि पैसा डिपोजिट गरिसकेको छु । तँ पनि मेरो अन्त्येष्टिमा आएस है !”

“हुन्छ, अवश्य पनि आउँछु ।” मैले बाचा गरेँ ।

“मेरो आमाले धेरै माया गर्थिन, म उनको अन्त्येष्टिमा जान पाइन । मेरो आमाको जन्म बरफको गुफामा भएको थियो । साह्रै राम्री थिइन् । पुरुषहरू हुरुक्कै हुन्थे ।

“तपाईँ पनि धेरै राम्री हुनुहुन्छ ।” मैले भनेँ ।

उनी आफ्ना नभएका दाँत सबै देखिने गरी निकै जोरले हाँसिन । उनको अनुहार उज्यालो भयो । सेतो अनुहारमा अलिकति लाली पना देखियो । मलाई एउटा कुरा महसुस भयो, रूपको तारिफ जुनसुकै उमेरको महिलाकोलागि खुसीको ऊर्जा हुँदो रहेछ । हत्तपत्त कसैको अगाडी रूपको तारिफ नगर्ने मान्छे त्यहाँ गरिदिएको थिएँ !
******

फेरी साँझ पर्न थाल्यो ।

“कहाँ बस्नुहुन्छ ?” मैले सोधेँ । उनी इल्डरस होममा बस्ने रैछिन । नजिकै रहेछ । “अब जानुपर्छ” मैले भनेँ । उनी बिस्तारै उठिन, लौरो टेक्दै आफ्नो वासस्थान तिर लागिन्, म आफ्नो डेरातिर लागेँ ।
******

अर्को दिन साँझ मैले उनलाई त्यहाँ देखिन । विभिन्न शङ्का उपशङ्काले मेरो मन चुली चुली भयो । मन गह्रुङ्गो भयो, हिँड्नै मन लागेन, एक छिन बेन्चमा बसेँ । उनी बस्ने ठाउँमा गएर हेर्ने बिचार आयो, गएँ । उनी बस्ने ठाउँ निकै राम्रो सुविधा सम्पन्न वृद्धा श्रम रहेछ । एकजनाले उनको कोठा देखाइदिए, उनी कोठा भित्रै थिइन, मन ढुक्क भयो । ढोकामा उनको नाम थियो – एलेन कार्डिनल (नाम परिवर्तन) । म नबोलिकनै फर्केँ ।
******

त्यसपछि मलाई हरेक दिन उनको याद आउन थाल्यो । झन्डै शताब्दी पुरा गर्न लागेकी बुढीआमालाई दिएको बचन खेरा नजाओस भन्ने मनमा लागिरह्यो । उनको बारेमा धेरै कुराको सोधी खोजी गरेँ । उनी धनी रैछिन, राम्रो पेन्सन आउँदो रहेछ ।
******

चर्चमा भिडभाड देख्दा मनमा चस्को पस्थ्यो, उनलाई नै सम्झन्थेँ । सोधपुछ गर्न पुग्थेँ । एक दिन त्यस्तै भिड देखेर बुझ्न गएँ । अरुनै व्यक्तिको निधन भएको रहेछ । केही परिचित मान्छेहरू देखेँ । साथमा म पनि हेर्न गएँ । पहिलोपल्ट चर्चमा पसेको थिएँ, कस्तो कस्तो लागिरहेको थियो । लाइनमा एक एक गरी मानिसहरू फुल गुच्छाले अन्तिम बिदाइ गर्दै थिए । म पनि लाइनमा थिएँ । देखेँ – अल्पायु मै निधन भएको रहेछ । सुट टाईमा सिँगारेर उनलाई कफिनमा सुताइएको थियो । अनुहार मृतकको जस्तो थिएन । केही बेरमा चर्चका फादरले प्रवचन दिन थाले – “ईश्वरले मान्छेलाई मर्न कै लागि नियुक्ति गरेको हो । यो भौतिक शरीरको मृत्युबाट एक अनन्त जीवनको सुरुवात हुन्छ । उ अब ईश्वरको साथमा रहनेछ । त्यहाँ कुनै दुख कष्ट हुने छैन, त्यहाँ मृत्यु पनि हुने छैन । उसले जान अन्जानमा जीवनमा गरेका सबै पापबाट आज उ मुक्त भयो, स्वर्ग जानलाई बाटो खुला भयो ।”

केही बेर पछि मृतकलाई समाधिक्षेत्रमा लगियो । मलामीको ताँती थियो । पहिलेदेखि तयार खाल्टोको नजिकै लगियो । फादरले फेरी प्रवचन दिन थाले – “अब यहाँबाट नयाँ जीवन सुरु हुन्छ ईश्वरको अलौकिक साम्राज्यमा ।” कफिनलाई बिस्तारै जमिनको खाल्टोमा तल झारियो, फुल बर्साइयो । माथिबाट माटोले पुरेर अन्तिम कार्य सम्पन्न गरियो ।

मैले उनै बुढी आमैलाई सम्झेँ । दुई वर्ष अघि, आफ्नै अन्त्येष्टिकोलागि निम्तो गरेकी । उनको मृत्युको कामना त होइन, मैले त्यो दिनको प्रतीक्षा गरिराखेको छु । त्यो दिनको लागि आफै पूर्व तैयारी गरेकी उनी चौरानब्बे वर्षको उमेरमा नचाहेरै जीवित छिन् भने जीवनमा धेरै देख्न, धेरै गर्न बाँकी हुँदै एक जवानको शरीर जमिन भित्र गाडियो । त्यस स्थलमा एक नयाँ समाधि थपियो । हरेक वर्ष त्यही दिन फुलका गुच्छा लिई प्रियजनहरु भेट्न आउने होलान् ।