अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३८ | Colorodo: 15:53

डिसीमा नेजाको सामुदायिक अन्तरक्रिया सम्पन्न

विजय थापा २०७५ पुष २८ गते २२:५८ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका पत्रकार सङ्घ(नेजा)को सामुदायिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । भर्जिनियाको मनासस सहरको एक पुस्तकालयमा उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।कार्यक्रममा नेजा अध्यक्ष सुदिप पन्त तथा कार्यकममा डिसी महानगर क्षेत्रका विभिन्न सङ्घ/संस्थाका प्रतिनिधिहरू तथा अधिकांश सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको मुख्य उद्देश्य समाजले नेजालाई कसरी हेरको छ र अमेरिकामा सामुदायिक पत्रकारिता जान सक्छ भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सचिव भण्डारीले बताए । कार्यकम सञ्चालन नेजाका सचिव सुरज भण्डारीले गरेका थिए । 

स्वागत मन्तव्य डिसी महानगर क्षेत्रका लागि नेजाका क्षेत्रीय संयोजक लीला ओझा ढकालले गरेकी थिइन् । नेजाका अध्यक्ष सुदिप पन्त डिसी क्षेत्रको भ्रमण रहेको अवसरमा समुदायसँग छलफल गर्ने उद्देश्यले कार्यक्रको आयोजना गरिएको हो । नेजाले कसरी समुदायमा आफ्नो सम्बन्धलाई फराकिलो बनाउँदै जान सक्छ र अगाडी बढ्न सक्छ भन्ने उद्देश्यले सामुदायिक अन्तरक्रिया राखेको लीला ओझाले बताइन ।

कार्यक्रम परिचयबाट सुरु भएको थियो भने छोटोमा सहभागीहरूले आफ्नो आ-आफ्ना मन्तव्य राखेका थिए । वरिष्ठ पत्रकार हरि अधिकारीले पत्रकारले आफ्नै नियमले आफै बाँधिनु पर्छ। अधिकारीले धेरै वटा छरिएर रहेका सञ्चार माध्यमहरू एकैमा विलीन हुने हो कि ? यसको लागि पहल गर्ने हो कि ? हरेक घरघरमा सञ्चार माध्यम हुनु भन्दा मिलेर काम गर्दा राम्रो हुने आफूलाई लागेको बताउँदै सुझाव दिएका थिए ।

वरिष्ठ पत्रकार योगेश उपाध्यायले यहाँ भई रहेको पत्रकारितामा आफू सन्तुष्ट छैन भन्दै सोखको रूपमा मात्र गरेको पाएको बताए । पत्रकार राम प्रसाद खनालले हामीले गरेको पत्रकारिता पर्याप्त नभएको बताए ।

उक्त सामुदायिक अन्तरक्रिया कार्यक्रममा विशेष गरी सञ्चारकर्मीको तर्फ बाट ईञ्जाका अध्यक्ष गुणराज लुइँटेल,वरिष्ठ पत्रकार हरि अधिकारी, पत्रकार राम प्रसाद खनाल, एएनएका अध्यक्ष मेदनी अधिकारी, पत्रकार राजेश मिश्रा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल, हर्नडनका नगर परिषद्का नव निर्वाचित नगर परिषद् सदस्य प्रदीप ढकाल, नेजाका संस्थापक अध्यक्ष गिरीश पोखरेल, मेरिल्याण्ड राज्यको इन्डियन हेड अफ टाउनका उप नगर प्रमुख किरण सिटौला तथा वरिष्ठ पत्रकार योगेश उपाध्याय लगायतले मन्तव्य राखेका थिए ।

पत्रकार राजेश मिश्रले नेजाको स्थापन कालमै नेपाली पत्रकारितालाई मूलधारमा लाने कुरा चलेको प्रसङ्ग गर्दै नेपाली पत्रकारितालाई कसरी मूलधारमा लाने अहिले सम्म आफूले नबुझेको बताए । उक्त समयमा तालील लिनु पर्छ योजना गर्नु पर्छ भन्ने कुराहरूको पनि चर्चा परिचर्चा भएको सुनाए ।

अन्तर्राष्ट्रिय नेपाली पत्रकार सङ्घ (ईन्जा)का अध्यक्ष गुणराज लुइँटेलले इन्जा एक ग्लोबल संस्था हो, विश्वका पॉच महादेशमा कार्यरत रहेको ईन्जाले नेपाली भाषी पत्रकार र आबद्ध सञ्चार माध्यमका लागि पत्रकारिताको नैतिकता कायम राख्न प्रोत्साहन गर्दै सामुदायिक पत्रकारितामा प्रोत्साहन गर्ने नीति लिएको ब्यहोरा जानकारी गराए ।

नेपाली पत्रकार र पत्रकारिताको हितका लागी काम गर्ने नेजा लगायत नेपाली भाषीका सामुदायिक सङ्घ संस्थाहरूको उत्थानका लागी सहयोग गर्न ईन्जा सदैव तयार रहेको समेत ईन्जाका अध्यक्ष लुईटेलले जानकारी दिए । यसै गरी समुदायमा कार्यक्रम गर्दा कार्यक्रमको एजेन्डा सहित आउन र संस्थाहरू व्यवस्थित हुनु पर्ने ईन्जाका उपाध्यक्ष सुनिलमणि दाहालले सुझाव दिएका थिए ।

नेजाका पूर्व अध्यक्ष गौतम दाहालले अमेरिकामा आएर हामी नेपालबाट आएका पत्रकारहरूले मूलधारको पत्रकारिता गर्नु भनेको मेरो लागि हास्यास्पद हुने बताए । हामी नेपाली समाजका उत्पादक हौ । नेपाली समाजलाई राम्रो बनाउन नेपाली सञ्चार माध्यमले के गर्छ भन्ने कुरामा केन्द्रित हुनु पर्ने कुरामा जोड दिए ।

नेजाका अध्यक्ष सुदिप पन्तले धन्यवाद गर्दै आफ्ना मन्तव्य राखेका थिए । उनले पत्रकारले समाज परिवर्तन गर्न त्याग गर्नु पर्छ । उनले अगाडी भने पत्रकारहरूमा ईमान्दारिता हुनु पर्छ । असल हुने नाममा राजनैतिक रङ्ग नदिउ भन्ने कुरामा जोड दिए । आफूले ईमान्दारिता पूर्वक काम गरेको छु भने इमान्दारिता पूर्वक लेखौँ । पत्रकारले लेख्न नडरानु । समाचार लेख बापत धम्की दिन्छ भने नेजाले निःशुल्क परामर्श दिने प्रतिबद्धता जाहेर गरे ।

आफू मूलधारमा विजयी भएकालाई हौसला गर्न आएको हु भन्दै धन्यवाद दिँदै कार्यक्रमको विसर्जनको घोषणा गरे ।

प्रतिक्रिया