अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४८ | Colorodo: 23:03

एमाले माओवादी एकता हुनै गाह्रो छ, प्राविधिक रूपमा भैहाल्यो भने टिक्नै गाह्रो छ

रामप्रसाद खनाल २०७५ वैशाख १८ गते ८:५४ मा प्रकाशित

 

कथित जनयुद्धका नाममा २०५२ फागुन १ देखी दश वर्ष सम्म एमालेका कार्यकर्ता नेता र समर्थकहरूलाई छानी छानी कुटपिट गर्ने, लुट्ने, चन्दा आतङ्क मच्याउने, घरबार र सम्पत्ति कब्जा गर्ने, सताउने, अपहरण गर्ने, मार्ने माओवादीका तत्कालीन कमान्डर प्रचण्डसँग एमालेले चुनावी गठबन्धन मात्र गरेन मिलेरै प्रदेश देखी केन्द्र सम्म सरकार बनायो ।

गएको आठ महिना देखी बाम गठबन्धन मात्र होइन पार्टी एकताका नाममा एमालेले माओवादी केन्द्र नामक खिईदै गएको प्रचण्ड नेतृत्वको गुटसँग पार्टी एकता गर्ने भन्दै, आज भोलि भन्दा भन्दै बागमतिमा धेरै पानी बगिसकेको छ तर पार्टी एकताको अन्तिम टुङ्गो अझै लागेको छैन । एमाले र माओवादी दुवै तर्फबाट बिरालाले मुसा खेलाए जस्तै खेलाउने, गलाउने खेल मात्र होइन एउटै कार्यक्रममा अलग अलग ब्यानर राखेर, नाराबाजी गरेर नाटक प्रदर्शन गर्ने काम देख्दा मानिसहरूले हाँडी गाउँको जात्रा बिर्सिसकेका छन् ।

एमालेसँग एकता गर वा काङ्रेससँग फर्क, हेग तिम्रो अन्तिम गन्तव्य हो प्रचण्ड, यसमा कुनै दुई मत छँदै छैन ।

नेपालमा कमल थापा जस्तै सत्ता र शक्तिका लागि जे पनि बोल्ने, जे गर्न पनि तयार हुने प्रचण्ड एमालेलाई पहिलेनै धेरै पटक थाङ्नामा सुताएर काङ्रेस तिर बसाइ सरिसकेका बिधर्मी हुन भन्ने कुरा कसलाई थाहा छैन र ! तर काङ्रेस तिर पनि गएर उनी धेरै अडिएनन । नेपाली राजनीतिका उनका कडा दुस्मन केपी ओलीसँग रातारात गठबन्धन गरेर नेपाली राजनीति कति फोहोरी र अनैतिक छ भन्ने कुरा प्रमाणित गर्दै उनको कथित जनयुद्ध नामको आतंकबादमा उनैद्वारा भ्रमित लाखौँ नेता कार्यकर्तालाई चुना लगाउँदै उनी केपी ओलीलाई पनि फेरी थाङ्नामा सुताउने र एमालेको बागडोर समातेर एमालेका सोझा इमान्दार कार्यकर्ता र भोटरको पनि नेता हुने, विगतका अपराधहरूबाट आफूलाई जोगाउन खेल खेल्ने र अन्ततोगत्वा फेरी प्रधानमन्त्री भएर देश आफ्नै छत्रछायाँमा राख्ने उनको कुटिल चाल राजनीति बुझ्ने जो कसैलाई बुझ्न कठिन छैन ।

प्रचण्डलाई के विश्वास छ भने मैले राजालाई बेकुफ बनाएँ, गिरिजा प्रसादलाई बेकुफ बनाएँ, भारतलाई पनि झुक्याउन सकेँ भने केपी ओली र उनको एमालेलाई पनि सजिलै झुक्याउन सक्छु भन्ने उनलाई लागेको छ । माधव नेपाल, झलनाथ खनाल, बामदेब गौतमहरूलाई त उनी गन्दै गन्दैनन । शेर बहादुर र काङ्रेसको लुते र नालायकी प्रब्रिती राम्ररी बुझेका र काङ्रेसको पनि बारम्बार घोँडा चढिसकेका प्रचण्डले यता नभए उता, उता नभए यता दुवैतिर पासा फ्याँकी रहेका छन् र यो कुरा बुझेर पनि काङ्रेस एमाले प्रचण्डसँग साँठगाँठ गर्न मरिहत्ते गरिरहेका छन् ।

अहिले एमाले जुन सुकै हालतमा प्रचण्डको माओवादी गुटसँग एकता गर्न जसरी ज्यान फालेर लागेको छ त्यसै गरी काङ्रेसले एमालेसँग होइन हामी सँग आऊ सत्ता चलाऊ भनेर प्रधानमन्त्रीको पासा फ्याँकिरहेका छन् कुरा संविधानले दुई वर्ष सम्म प्रधानमन्त्री माथि अविश्वास प्रस्ताव ल्याउन नमिल्ने कुरामा गएर मात्र अड्किएको हो नत्र अहिले सम्म प्रचण्ड काङ्रेससँगै फर्किएर फेरी प्रधानमन्त्री भएका हुने थिए ।

अब जुन सुकै मूल्य चुकाएर पनि पार्टी एकता गर्ने भनेर केपी ओलीले उदघोस गरिसकेका छन् किन कि उनी एमालेका अध्यक्ष भैसके, प्रधानमन्त्री भैसके, आलो पालो अध्यक्ष बन्ने भद्र सहमति छँदै छ । एकता भए पनि केपी ओलीले गुमाउने केही छैन बरु उनले अफैले भनेझैँ उनीसँग अब धेरै दिनको जिन्दगी बाँकी छैन । दुवै किड्नी फेल भएका र अर्काको किड्नीमा बाँचिरहेको छु भन्ने केपी ओलीलाई जाने बेलामा मनमोहन बन्ने सपना छ, कम्युनिस्ट एकताको पगरी भिरेर जाने इच्छा छ ।

एकता भैहाल्यो भने दुई वर्ष भित्रै प्रचण्डले एमाले छिन्न भिन्न मात्र होइन बर्बादै बनाएनन भने भन्नुहोला !

एमाले र प्रचण्ड गुटको माओवादी एक भए भने प्रचण्डलाई फाइदै फाइदा छ भने एमाले पुरै घाटामा जानेछ । केपी ओली पछिका कुनै पनि नेता प्रचण्डलाई ओझेल पार्न सक्ने हैसियत राख्दैनन । जो हैसियत राख्छन ती नेताहरूको कुनै जोर चल्दैन एमालेमा किनकि अहिले केपी ओली को खोक्रो रास्ट्रबादले सबैलाई अन्धो बनाइदिएको छ । मान्छेमा भ्रम छ । एमाले भनेकै केपी ओली र केपी ओली भनेकै एमाले भने जस्ता भएका छन्, जो केपी ओलीका विरुद्ध बोल्छ त्यो एमाले भित्र अहिले भित्तामै पुर्‍याइन्छ । घनश्याम भुसालहरु त्यसका ज्वलन्त उदाहरण हुन ।

प्रचण्डलाई विगतका अपराधले डोर्याउँदै हेग सम्म पुर्‍याउला भन्ने सबैभन्दा ठुलो डर छ त्यसका लागि उनी सधैँ नेतृत्व र हाली मुहालीमा रहन चाहन्छन तर उनले यो पनि बुझेका हुनुपर्छ म नेपालमा त पावरको खेलले बचुँला तर हेग जानु पर्‍यो भने के गर्नु यो कुराले उनी रातोदिन पिरोलिएका छन्, यिनका हरेक रातमा देखिने सपनीहरू हगेकै हुनुपर्छ र हुन पनि हेग प्रचण्डको अन्तिम सत्य र गन्तव्य हुने छ लेखेर राख्नुस् ।

संसारकै राजनीतिलाई केलाएर हेर्नुस् । कयौँ देशका राष्ट्रपति, प्रधानमन्त्री र मै हुँ भन्ने बादशाहहरू पनि सत्ताबाट बाहिरिए पछि, बिस वर्ष, तिस वर्ष पछि पनि हेग तानिएका छन् र कोही फाँसीमा त कोही आजिबन कारावासको सजाएँ भोग्दै जीवन सिध्याएका छन् । प्रचण्डको पनि अन्तिम नियति यहिनै हुनेछ । एमालेसँग एकता गर वा काङ्रेससँग फर्क- हेग तिम्रो अन्तिम गन्तव्य हो प्रचण्ड यसमा कुनै दुई मत छँदै छैन । नेपालबाट हेग पठाउन सम्भव नभए अन्तर्राष्ट्रिय जगतले नै तान्ने छ, अबको युगमा बचुँला भन्ने कल्पना नगरे हुन्छ प्रचण्डले । देह त्याग गरेर बचे बँच्लान अन्यथा उनी बच्ने कुरा कसैले नसोचे हुन्छ । यदि कसैले उनलाई आफ्नो नेता बनाएर बँचाउँला वा आफ्नो स्वार्थ सिद्ध गरौँला भन्ने सोंचेको छ भने त्यो पनि क्षणिक दिवा सपना मात्र हुने छ याद गरे हुन्छ ।

यहाँ नेर एमालेको एउटा बुझ्न नसकिएको कुरा के छ भने जनताले राम्रैसँग पत्याएको, मत दिइरहेको, मदन भण्डारीको बहुदलीय जनवाद मार्फत प्रजातान्तिक बाटोलाई अनुसरण गरिसकेको एमाले, स्थापित भैसकेको एमाले किन प्रचण्डको सती जाँदैछ, हिँजो उसकै आतंकबादका कारण सिउँदो पुछिएका, टुहुरा भएका, अङ्ग भङ्ग भएका, लुटिएका, मारिएका, थात न बास भएका एमाले कार्यकर्ता, नेता, जनता, समर्थक सबैलाई एमालेले किन भुलिरहेको छ, किन आँखा चिम्लिरहेको छ ? के एमाले ले हिँजो माओवादीले गरेका अपराधहरूको जिम्मा लिन तयार छ ? उसलाई सुनपानी छर्केर, चोख्याएर प्रचण्ड बाबुरामहरूको आतङ्कको त्यो कालो इतिहासको जिम्मेवारी लिन सक्छ ?? सर्वत्र चासो र चिन्ताको विषय र ज्वलन्त प्रश्न छ यो ।

के एमालेले हिँजो माओवादीले गरेका अपराधहरूको जिम्मा लिन तयार छ ??

एमालेले यो पनि बुझोस् यो एकता वास्तविक एकता हुनै गाह्रो छ, भैहाल्यो प्राविधिक रूपमा भने टिक्नै गाह्रो छ । दुई वर्ष भित्रै प्रचण्डले एमाले छिन्न भिन्न मात्र होइन बर्बादै बनाएनन भने भन्नुहोला । डायरीमा नोट गरेर राखे हुन्छ । तसर्थ अझै पनि एमालेका नेता कार्यकर्ता समर्थ शुभचिन्तक हरूले छातीमा हात राखेर सोँचुन । प्रचण्डको सती नजाउन यत्ति मात्र भन्न सकिन्छ । यदि कसैले म त प्रचण्डको माओवादी गुटको सती जान्छु नै भन्छ भने भिरमा जाने गोरुलाई राम राम भन्ने हो काँध थाप्न सक्दै सकिन्न चेतना भय ।

==============
(नोट : लेखक खनाल तीन दशकदेखि पत्रकारिता, गीत, सङ्गीत, कला र साहित्यको क्षेत्रमा कृयाशिल छन् । उनी नेपालमा रहँदा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरूमा प्रधान सम्पादक सम्म भएर काम गरिसकेका अनुभवी पत्रकार र नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक पत्रकार पनि हुन – सम्पादक )