अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०५ | Colorodo: 20:20

काइँल्दाई, नापी नक्सा र हाम्रो घर

रामप्रसाद खनाल २०७७ जेठ ६ गते १२:२९ मा प्रकाशित

असाध्यै बाठा,
पल्ला घरे दाइ !
हाम्रो पाखो पखेरो
कब्जा गर्छन्
खेती गर्छन्
निकास खोल्छन्
तर हाम्रो काइँल्दाई,
कापीमा पेन्सिलले नक्सा कोर्छन्
हो यो कुना देखी यहाँ सम्म,
यो चुच्चो देखी त्यो चुच्चो सम्म
हाम्रै त हो नि भन्छन्
हामीलाई देखाउँछन्
बुझ्यौ केटा हो भन्दै,
हामी आफ्नै भाइ भतिजाहरू ललकार्दै,
पल्लाघरेले भनेर हुन्छ ??
कसले भन्छ हाम्रो होइन भनेर ??
हामी सँग घरमा डुक्रिन्छन् !

काइँल्दाई,
जब बोल्न थाल्छन्
घर नै थर्किन्छ भूकम्पका बेला जस्तो !
छेउ पाटा सब गन्छन्
सब हाम्रै हो भन्छन्
मालपोतको तिरो देखाउँछन्
लालपुर्जाको फोटोकपी देखाउँछन्
तर
सबै प्रमाण भर्दा पनि
सर्जिमिन गर्दा पनि
देख्ने जान्ने बुझ्नेले
यो पाखो पखेरो तिम्रै हो पनि भन्छन्
जब काइँल्दाई
पल्ला घरे दाइका नजिक पर्छन्
बोले मरिजाम !

मुखै फोर्न सक्दैनन्
नापी नक्सा, लालपुर्जाको पोको,
अहँ,
खोल्नै सक्दैनन् !
उल्टै,
खुट्टा समाउँछन्
माई बाप सबै तिमी त हौ भन्छन्
अझ हाम्रा आँखा छलेर
अँधेरी रातमा
काइँल्दाई,
पल्ला घरे दाइकोमा जान्छन्
दाईका खुट्टा मालिस गर्छन्
पैताला देखी तालु सम्म तेल घस्छन्
खोइ कस्तो मालिस गर्छन् गर्छन् रे
शरणमा पनि पर्छन् रे
यस्तै छ हजुर हाम्रा घरको हाल !

बा, अचानक झाँक्री लागेर बेहोस भए
आमा सबै देख्दा देख्दै
विरक्त लागेर होला,
छिन छिनमा मुर्छा पर्छिन्
लौन बर्बाद भयो, बँचाओ मात्र भन्छिन् !
ठुलो दाइ नामर्दै निस्कियो
माइलो दाइ केही गर्ला की भन्दा भन्दै,
घर व्यवहार सम्हाल्न नसकेर बिच्कियो
साइँलो दाइ उस्तै जोइटिंग्रे
काइँल्दाई निकै फुर्ती गर्थ्यो
लौ न त चलाऊ भनेर,
सबैले घर व्यवहार उनलाई सुम्पियो
काइँल्दाई हाम्रा अगाडि हान्ने साँढे जस्ता
खोइ हुन पनि कस्ता कस्ता !

अरू केही निहुँ नपाए
एका एक झोकिन्छन्
कसले भन्यो गैँडालाई राइनो ??
भन्न थाल्छन् !
घर भित्रै आगो बाल्छन्
छानोमा बारुलोको गोलो देखे
घर नै पोल्न थाल्छन्
आफ्नै घरमा आगो लगाएर
एक पटक होइन,
पटक पटक,
खरानीको खेलो गरेका काइँल्दाई
यिनको चर्तिकला के भन्नु र !
भो कुरै नगरौँ भो !

यिनले मर्नु पर्ला भन्ने बिर्सिए
आफ्नाहरू सबै बिर्सिए
बा को आर्जन र इज्जत सबै बिर्सिए
पल्ला घरे दाइ र तल्ला घरे दाइसँग घिर्सिए
तल्ला घरे दाइ ठिकै जस्तो लाग्थ्यो पहिले
हातपात गर्दै घुचट्दछ अहिले
यता काइँल्दाई,
आजकाल एउटा अर्को छट्टुसँग
मित लगाएका छन् !
जोडिएर हिंडेझै गर्छन्
तर,
थाहा छैन कुन दिन खाडलमा पर्छन्
सबैलाई नचाउने पल्ला घरे दाइ
कहिले खेतको साँधी सार्छन्
कहिले हाम्रै पाखा पखेरा बार्छन्
रातारात आफ्नो तिर पार्छन्
हाम्रा साँध सारिँदै गएका छन्
एक पछि अर्को गर्दै बारिँदै गएका छन्
हाम्रो साँध छुट्ट्याउने खोलो पनि
उनकै तिर पारिँदै गएका छन्
हाम्रो काइँल्दाई
पेन्सिलले नक्सा कोर्छन्
हामीलाई देखाउँर्छन् !

हामी पानी मरुवाहरू,
काइँल्दाईकै पेन्सिलवाला नक्सा हेर्छौँ,
दङ्ग पर्छौँ,
उमङ्ग मनाउँछौँ !
यसरी नै चल्दै छ हाम्रो घर
कुन दिन बदलिने हो हाम्रो आफ्नै थर
घरकै उल्लु भएपछि कसको पर्नु भर
घर पाखो गएपछि नक्साको के भर ??
सम्झँदा मनमा लाग्छ डर
कतै भइने त होइन घरबाट बेघर ??!!

– भर्जिनिया