अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०५ | Colorodo: 05:20

बिचरा “उनीहरू”

रामप्रसाद खनाल २०७८ भदौ २८ गते १०:२५ मा प्रकाशित

डुङ्डुङी गन्हाउने फोहोरी राजनीतिमा
सुन्छु म जब जब,
उनीहरू “नेता” बनेको
फलानो पार्टीको कुन्नि के जति,
पदमा निर्वाचित भयो रे भनेको
पढ्छु त्यस्तै त्यस्तै समाचारहरू
सुन्छु तिनीहरूका भ्रमित बिचारहरू
अझ त्यस माथि,
सामाजिक सञ्जाल रङ्गाउँदै
देख्छु बधाई र शुभकामनाका खातहरू
अलाप र रागहरूले भरिपूर्ण बातहरू
अनि मेरो ब्रह्मले मै सँग भन्छ
बिचरा उनी पनि गएछन्
फेरी अर्को आँखा देख्ने तर “अन्धो” भएछन्
उनीहरूका सपनाहरू,
जिन्दगीका आशा र विश्वासहरू
आफ्नो मात्र होइन
सन्ततिको उज्ज्वल भविष्य
तारे भिरको टुप्पोबाट
हाम फालेर आत्महत्या गरेछ !
तिनका लाला बाला र आफन्तजनको सपना
पिपलमा ऐजेरु बेरिए जस्तै बेरिए छ
अनि व्यक्त गर्न मन लाग्छ दिलै देखी सहानुभूति
दिन्छु मनमनै राजनीतिक श्रध्दान्जली
व्यक्त गर्दछु समवेदनाका लहरहरू
उनीहरूको आत्माको चिर शान्तिको कामना गर्दै !