अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२३ | Colorodo: 01:38

कवि पेशल आचार्यका ५ कविता

पेशल आचार्य २०७४ फागुन १३ गते १०:०२ मा प्रकाशित

 

 

 

 

 

 

 

कविता –१

लोड सेडिङ्

अथाह जलराशि
अपरिमेय जङ्गल
असरल्ल जमिन र
अनगिन्ती जडिबुटीका
मालिक हामी
ऊर्जाशील पौरखी हातहरू
निरन्तर विदेश पलायनमा मस्त छन्
पराइ देश सिँगार्नमा व्यवस्त छन्,

देश
अधिकारका बिस्कुन सुकाउने क्रममा
हुनु र नहुनुको बसहमा
अनर्गल मुद्दाका मिसिलहरू
खेलाइरहेछ
सन्धिसर्पन लाग्ने
सिमाना मिच्दैछ पराइ
तर्क र उपतर्कहरू
कहिले गणतन्त्र
कहिले संघीयता
बाटा विनाका मुस्ताङ्गे स्याउ
कुँडो पकाइएका छन्
जाजरकोटका बिरामी
ओखती पर्खिरहेछन्
हुम्ली जडिबुटी
जुम्ली सौन्दर्यता
फगत् वाचाल वार्ताका विषय भएका छन्,
उफ ! देश संवृद्धिको प्रशव वेदनामा
निरन्तर छट्पटाइरहेको छ
न नेताको खबर छ
न कार्यकर्ताको खुट छ
मुलुक झर्दै छ बन्जी जम्पझैँ
उधोमुन्टो गरेर भोटेकोसीमा
मुुुुलुकीहरू महङ्गीको गोमन डसाइबाट
आहत छन्
अहिले यतिबेला
मेरो देशमा सजिलै पाउन सकिने वस्तु भएको छ
लोड सेडिङ्,

अँध्यारोले
क्रमशः जनसंख्या बढाइरहेछ
जोतेर नाराहरू नेता हली बन्दैछन्
मौसम परिवर्तनले
सिर्कनाको पिटाइ पिँडुलामा
के फसल फलाउने ?
कुन दर्शन झुलाउने ?
ढुक्क कोही छैनन्,
माछाबजारको हल्ला
बाँस झ्याङ्का रुपी
एउटा हाडमा कुकुरको झैँ झगडा
निरन्तर चलिरहेछ मेरो देशमा
शताब्दीऔँ देखि,

बल्ल बुझियो
यहाँ पछि मात्र
पानीको लोड सडिङ्को चलन चलेको रहेछ
बानीको लोड सेडिङ्को
चलन त पहिल्यै थियो । 𞉀𞉀

 

कविता –२

प्रयोजन

सत्य हेर्न छाडेका यी आँखाहरू
असल सुन्न छाडेका यी कानहरू
सुपथ हिँड्नै नसक्ने यी गोडाहरू
सुकाम गर्न नजान्ने यी हातहरू
सार्विक सोच्न नसक्ने भएको मुटु
अब के काम भयो ?
जात हराए
बात हराए
इमान जमानका खात हराए,
सारथि हराए
सारसौँदा थिए सत्यांशहरू
सुदूर यात्राका
पार्थ हराए,
नाद बीचमा संगीतको
सेलो हरायो
गन्तव्य अगावै
कामको मेलो हरायो
प्रजोजनपरक
उद्देश्यको ठेलो हरायो । 𞉀𞉀

कविता –३

आह्वान

गुराँसको अबीर
हिउँको दही र
चोखो माटोको अक्षता मुछेर
अझै हामीले एकताको टीका थाप्नु छ,

तराईका भाइभाइ मिलेर
पहाडको संस्कृतिले
हिमालको काखमा
देउसी भट्याउनु छ
भैलिनी गाउनु छ,
नागबेली नदीका माला
वन फलका कोसेली बोकेर
अझै हामीले भ्रातृत्वको गीत गाउनु छ
छठ
इद
ल्होसार
क्रिसमस
दसैँ र औसीँ हुँदै
अलिकति अक्षय तृतीयामा रमाउनु छ
अलिकति साउने संक्रान्तिमा गाउनु छ,

जमराले दिने सुवासमा रमाएर
दहीच्यूरा खाँदै असार पन्ध्रलाई
अझै आफ्नो बनाउनु छ
इन्द्रेणी टीका लगाएर निधारमा
स्वसंस्कृतिमा रमाउनु छ
तराईकी चेलीले
हिमालको माइती अझै धाउनु छ । 𞉀𞉀

 

कविता –४

उस्तै-उस्तै

कुन्तीको नियति भोग्दैछ
वर्तमान
जो चाहेर पनि
कर्णलाई
आफ्नो सन्तान भन्न सक्दिन,

पिपिरी बजाएर
जुलुस दौडिरहेछन्
युवाहरू
काँधमा दायित्वको
जुवा छैन
उन्माद
आज फेरि
ज्वारभाटाको
सोपान चढ्दैछ
मान्छे सस्तियो
मान्छेकै बजारमा
अब महँगी किन्न
या जीवन निखन्न
मान्छे आफैँ
मासा तोलामा
जोखिन्छ यहाँ,

यतिन्जेल
बाग्मी लेदो छादेर
टक्क अडिएको मुग्लिन उत्रिएको
नाइट बसको यात्रु भएको छ,

घोषणापत्र देखाएझैँ
चुनावमा
कराउँदै छन् साहुनीहरू
कुर्ताको गोलगलाबाट
झोलिएका बुबुहरू
देखाएर,

कचपल्टिलो
निद्रा रुप्स्यागमा बोकेर
अद्र्धनिद्रामा
धर्मराउँदै छ यात्री
कुन होटलमा
संघीयता पाकेको छ
कुन ढावामा
धर्मनिरपेक्षता भार्सिएको छ
मुग्लिनमा उत्रिएको यात्री
र जनताको नियति उस्तैउस्तै छ । 𞉀𞉀

 

कविता–५

ओरालो अमलेख

यतिखेर
तिम्रो निषेधित क्षेत्रमा
कफ्र्यू लागेको छ,

मौन छन्
ज्ञानेन्द्रियहरू
वाचाल भए
कर्मेन्द्रियहरू
असन्तुष्टिको तराजु
कहिले
तिमीतिर
कहिले
मतिर
ढल्किएको छ,

हल्ला छ सहरभरि
अब कू हुन सक्छ
बैँसबाट,

उत्तेजनाको पोखरीमा
तिमीले ढुङ्गा फेँक्यौ
जतिखेर
मैले
अनुहार हेर्ने
जमर्को गरेको थिएँ,

आँखाको यात्रा
जतिसुकै
लामो किन नहोस्
त्यसलाई
ओठले ट्राफिक बनेर
रोक्दोरहेछ,

निधारमा
झुन्ड्याएर गोडाहरू
हामी साष्टाङ्ग दण्डवत मुद्रामा
सलामी भाकिरहेछौं
या विचार अमलेखका खातिर
ओरालो लागिरहेछौं ।
𞉀𞉀