अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४४ | Colorodo: 00:59

नबुझेका कुरा

पेशल आचार्य २०७८ भदौ ३० गते ८:१७ मा प्रकाशित

कविता

रहर हो
वा के हो ?
पतिपत्नी सँगै बस्छन्
खान्छन्
सुत्छन्
हिँड्छन्
रिस खुस सबै सँगै छ
तर फोटो खिच्दा
पतिले पत्नीलाई
यसो अँगालो मारेकै हुन्छ
अरूलाई त कस्तो लाग्छ कुन्नि
मैले हेर्दा कसो कसो अल्टर देखिन्छ,

पत्नीले तीज, पञ्चमी या बिहे सिहेमा
फोटो खिच्दा
चाहे त्यो पतिले खिचोस्
या अरू जस कसैले
सारी लगाएको पोजमा
एउटा खुट्टा बाङ्गो पारेर उचालेको
र हेरेको किन होला ?
मैले बुझ्न नसकेको कुरो ?

एउटै घर परिवारका सदस्यहरूलाई
जन्मदिनमा
बधाई दिन
फोटो मुन्तिर
अन्टसन्ट केके लेखेको हो केके
पढ्नेको कन्पारो तात्ने गरी
लेखेर
दुनियाँलाई सुनाउनु किन?

खाएका कुरा
लुगा फाटो
र गहनाका धाक
हुँदा हुँदा अब त
स्वास्नीले बोकेको भुँडी देखाएर
लोग्नेले घुँडा मारेर खिचेको फोटो
या यस्तै बेबी सावर
जहाँ दही चिउरा खुवाएका
बेढङ्गी फोटाहरुका जुलुस
व्यक्तिगत जीवनका प्राइभेसी
यो वात्यो बहानामा
देखाउन हुने वानहुने
केके हो केके
बुझ्न नसकेका गुत्थी हुन्,

हाँक्न वा चलाउन जान्नेले होइन
नजान्नेले
अरूका गाडी अगाडि आएर
फोटो लिएको कहिल्यै बुझिएन
छोरा छोरीका ग्रेडसिट
सार्वजनिकगर्नुको तुक के ?

एउटै जिज्ञासा
मानिस किन देखाउने चिज लुकाएर
लुकाउने चिज चाहिँ
खोचे थापेर देखाउँछ ?
यो मैले कहिल्यै बुझ्न सकिनँ ।