अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५३ | Colorodo: 20:08

‘प्रतिज्ञा’ विनाका प्रधानमन्त्री र ‘गरिमा’ विनाका राष्ट्रपति

पेशल आचार्य २०७८ जेठ ९ गते ११:०७ मा प्रकाशित

सामयिक लेख

बैखाख ३१ गते शुक्रवार सम्पन्न शपथ ग्रहण समारोहको दृश्यमा राष्ट्रपतिले शपथको ब्यहोरा वाचन गरिरहेकै बेलामा एक्कासि ‘ईश्वर’ भन्ने शब्दमा अल्पमतका प्रधानमन्त्री केपी ओलीले सो शब्द नभनी ‘देश र जनता’ मात्र भने अनि जब ‘प्रतिज्ञा’ शब्द राष्ट्रपतिले उच्चारण गरिन् त्यस बेला प्रमले भने ‘त्यो पर्दैन’ जवाफमा राष्ट्रपति हाँसिन् ‘हिँहिँही’ । सो समारोहलाई लाइभ गरिएको थियो भने नेपाली टेलिभिजनहरूले त्रुटि देखाउँदै विश्लेषणीय समाचारका रूपमा प्रस्तुत गरेका थिए । धेरै प्रबुद्ध व्यक्तिहरूले प्रधानमन्त्रीको संविधान प्रतिको ‘खेलाँची’ र राष्ट्रपतिको ‘नादानी’ भनी टिप्पणी गरे ।

इटहरीका पुराना पत्रकार तथा प्रेस व्यवसायी कृष्ण अधिकारी आफ्नो फेसबुक स्टाटसमा लेख्छन् –‘सकिएको ओली गुट बलियो भयो, बलियो नेपाल गुट पतन भयो ।’ नेपाली राजनीतिमा हरेक महिना/पन्ध्र दिनमा यस्ता अनपेक्षित घटनाहरू देखिन्छन् वा दोहोरिन्छन् ।

पत्रकार माधव बस्नेत आफ्नो फेसबुक वालमा लेख्छन् –‘केपी शर्मा ओलीले संविधान र पदको धेरै ठुलो दुरुपयोग गर्नु भयो । तर पनि हामी यहाँलाई नै प्रधानमन्त्री मान्न अभिशप्त छौँ । फ्रान्सका राजा लुई चौधौंले ‘म नै राज्य हूँ भन्थे’, रोम जलिरहेको थियो, निरो बाँसुरी बजाइरहेका थिए’ भनेर पट्कपट्क पढिएको हो । ओलीले उहाँहरूलाई पनि माथ गर्नु हुने भयो ।’

यसको जवाफमा विश्वदीप लामिछाने लेख्नुहुन्छ –‘डेनमार्कका लागि नियुक्त राजदूत सुमित्रा भण्डारी प्रमका विदेश मामिला सल्लाहकार राजन भट्टराई, गोरखापत्रका सल्लाहकार सम्पादक गोपाल खनालकी सासू र प्रमका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीकी काकी हुनुहुन्छ । वहाँ केही वर्ष अघिसम्म झापामा निमाविका विद्यार्थीहरूलाई सामाजिक शिक्षा पढाउनु हुन्थ्यो । भनेपछि एउटा मुलुकको कूटनीतिक दूतका लागि पनि यसरी शैक्षिक र व्यवहारिक योग्यता नभएका तर फरियाका नाताका भरमा हाम्रो देशले राजदूत सिफारिस गरिरहेको रहेछ भन्ने बुझेपछि आफूलाई लोकतान्त्रिक गणतन्त्रका नागरिक भएकोमा पछुतो महसुस भइरहेको छ ।’

प्रसिद्ध छन्दवादी कवि स्व.भरतराज मन्थलीयका सुपुत्र जो कहिलेकाहीँ आफू पनि मन बहलाउन दिल छुने कविता कोरेर फेसबुकका भित्तामा पोस्ट गर्नुहुन्छ । वहाँ आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ –‘बिहेको कुरा छिनेको बत्तीस वर्ष बित्यो । बत्तीस वर्षअघि पनि एउटै नारा सुनेको थिएँ । ‘अब देश स्वीटजरलेण्ड हुन्छ’ भन्थे । मेरो छोरो जन्मेर हुर्केर÷बढेर ‘वेष्टरल्याण्ड’ गइसक्यो । नेपाल त उही पुरानै ल्यान्डमा छ । अचम्म छ नेता पनि उही छ । राग पनि उही छ । धन्यवाद ।’ यो एउटा ले म्यानको देशप्रतिको दृष्टिकोण हो । देश किन बनेन भन्नेबारे माथापच्ची गरेर धेरै बहस गर्नै पर्दैन । यही एउटा फेसबुक स्ट्याटसलाई दोहोलो¥याएर पढे पुग्छ ।

चर्चित आख्यानकार रत्नमणि नेपाल आफ्नो फेसबुक वालमा लेख्नुहुन्छ –‘बडो विडम्बनाको कुरो: ३० वर्षमा न राजनीति बद्लियो । न संस्कार । झन् ठिमाहा भएको देख्छु । झन् अड्केको देख्छु । भर गरेको युवा पुस्ता पनि बद्लिन र बदल्न तत्पर देखिँदैन । आशा गरौँ: आउने पुस्ताले बदल्नेछ । खास क्रान्ति गर्नेछ ।’

सो स्टाटसका बारेमा हितैषी भूपेन्द्र दाहाल लेखक रत्नमणि नेपालको कमेन्टमा लेख्नुहुन्छ –‘हामीजस्ता गैर जिम्मेवार, स्वअनुशासन शून्य, लोभी, भ्रष्ट नागरिक र दास मनोवृत्तिका कार्यकर्ता रहुन्जेल हाम्रा प्रतिनिधि पात्र पनि यस्तै रहनेछन् । प्रचण्ड, माधव, झलनाथ, खड्ग, शेरबहादुर, रामबहादुर, बाबुराम, सन्त, महन्त, राजेन्द्र, उपेन्द्र या अन्य कुनै इन्द्र जे आए पनि त्यो केवल नाममा मात्र फरक हुनेछ: प्रवृत्तिमा हैन ।

ज्यानको बाजी थापी देश बदल्न आफ्नै रगतले हस्ताक्षर गरी विद्रोह गर्ने हालको पहिलो पुस्ता त यति धेरै विकृत भैसकेको छ भने चाकडी र दलालीमा मात्रै आफ्नो भविष्य देख्ने भ्रष्ट दोस्रो पुस्तामाथि झन् के विश्वास गर्नु ? ठेक्कापट्टा कमिसनबाट टिकेको छ तेस्रो पुस्ता । हेक्का रहोस् जम्प गरेर चौथो पुस्तामा जाने विचार गर्नु भएको छ भने केही अपवादबाहेक यी प्रायः सबै गाउँका राजनैतिक संयन्त्र उपभोक्ता समिति, व्यवस्थापन समितिमा बसेर फर्जी बिल बनाउँदै जन्मिएका हुन् । यस्तो परिवेश सम्झिँदा घरीघरी चिच्याउन मन लाग्छ ः ‘विकासवादी तानासाह जिन्दाबाद !’ तर पनि चिच्याउन सक्दिनँ । सायद लोकतान्त्रिक व्यवस्था प्रतिको मोहले मनमा जरा गाडिसकेको छ । सायद मन भित्रको गहिराइमा एउटा विश्वास छ कि हामी अवश्य सुध्रनेछौँ र सुध्रिएका हामीले छनोट गरेको नेतृत्वले बिग्रने हिम्मत गर्दैन । यस्तो अवस्थामा सबैभन्दा सुन्दर शान्त व्यवस्था लोकतान्त्रिक शासन व्यवस्था नै हुनेछ ।

सायद मनमा अझै विश्वास छ: त्यो सुन्दर बिहानी अवश्य आउने छ । घिट्घिट् भएको यो विश्वासलाई मलजल गरेर बचाउन सकिएन भने देश मर्नेछ र फगत बाँकी रहनेछ एउटा मुर्दा भूगोल !

एक कथित महापुरुषहरू ! यो उत्तेजना केवल त्यही मुर्दा भूगोलको बलात्कार गर्नका लागि साँचिरहेका हौँ ?!?’

वर्तमान समयका हरेक तह र तप्कामा रहेका बौद्धिक वर्गका मानिसमा आक्रोश र असन्तोषको राग चुलिएको छ । यहाँ हरेक मानिस आफ्नो पीडा र व्यथा सुनाउन चाहन्छ चाहे त्यो एक्चुअल दुनियाँमा होस् या भ¥र्चुअल दुनियाँमा । आफ्ना गथासाहरू सबैले सुनिदिनु पर्ने तर आम भुइँ मान्छेका गथासाचाहिँ हाम्रा राजनीतिज्ञ हौँ भन्ने राजनीतिको बेपार गर्ने पण्डाहरूले चाहिँ कुनै समय नै नदिई सुनिदिनु नहुने ? यो कस्तो सिस्टमको विकास गर्न खोजेका हौँ हामीले ?

कुरोको चुरो घुमिफिरी फेरि त्यही ‘शपथ समारोह’ मै आएर बटारिन्छ । जनता समाजवादीका नेता तथा राजनीतिक विश्लेषक डम्मर खतिवडा आफ्नो वालमा अझ खरो पाराले लेख्छन् –‘राष्ट्रपतिको इज्जत र मर्यादाको कुरा हुन्थ्यो । बिचरी ! झाँक्री कमरेड पक्राउ नै परिन । एक गणतन्त्रवादीका लागि राष्ट्रपति संस्थाको मोह कति हुन्छ, म आफैँ अनुभूति गर्छु । तर पात्रताको कुरा पनि हुने रहेछ । स्वयम् उनका, उनको नजिककाले राष्ट्रपतिलाई कति इज्जत र मर्यादा दिँदा रहेछन्, राष्ट्रपतिको मनोविज्ञान कस्तो रहेछ, पुनः शपथ समारोहले राम्रोसँग देखायो । व्यक्तिका रूपमा कुनै टिप्पणी छैन । संस्था र संस्कृतिका मर्यादाका दृष्टिले नीचताको पराकाष्ठा हो त्यो ।’

केही अघि दिनको स्टाटसमा उनै खतिवडा विकृत राजनीतिको सटिक मीमांसा यसरी गर्दछन् –‘मानदार कस्लाई भन्ने ? कसरी चिन्ने ? इमानदारको पुष्टि त मान्छे मरेपछि मात्रै हुने रहेछ । बाँचुन्जेल त जो जतिखेर पनि बेइमान बन्ने सम्भावना बाँकी नै रहने रहेछ । ट्रयाक रेकर्ड हेरेर नि के भन्न सकिएला खै ? मान्छे हो –कहाँनेर पुगेर ट्रयाक छोड्छ कसरी थाहा होला र ? ठिक छ –कुरा मिलेन, तर खुल्लमखुल्ला भनेरै आआफ्नो बाटो लाग्ने संस्कार बसे, बसाए पनि त हुने ? किन अनेक तिकडम र षडयन्त्र गर्नु पर्ने होला ?’

समयले राजनीतिमा अनेक ट्रयाजिडीहरू जन्माउन छाड्दैन । अहिलेको नेपाली राजनीतिमा पनि केही पात्रताका उपस्थितिका कारणले यो सिस्टमप्रति नै नयाँ पुस्ता र नूतन प्रविधि जान्नेहरूका लागि वाक्क लाग्दो परिवेश तयार हुँदै छ । सिस्टम बसे या बचे मात्र त्यहीँभित्र पानी चाल्न पाइन्छ सिष्टमै नबचे त कहाँ र कसरी पानी चाल्नु ?

यही परिस्थितलाई हुने भनाइ उनै खतिवडाका कलमबाट फेरि –‘ट्रम्प जान सक्छन्, ओली जान सक्दैनन् । अल्पमतको भए पनि सरकार घिस्रिन्छ । यसैलाई संसदीय प्रणालीको महान् सौन्दर्य मानिन्छ । यो प्रणाली टिकाउन न्वारान देखिको बल लगाउने थुप्रै देख्छु । फेरि तिनै मान्छे अस्थिरता भो, संसदीय विकृति भो, नयाँ, राम्रो नेतृत्व आएन भन्दछन् । एकवारको जुनीमा नेपालीको मनोदशा नबुझिने रहेछ । यो प्रणालीमा केही ‘बिकाऊ’ र केही ‘कथित तटस्थ’ जन्मिन मरे छोड्ने हैनन् ।’

यति सटिक विश्लेषण गरिइदिइसकेपछि बाँकी मिलाएर नेपाली लोकतान्त्रिक गणतन्त्रको दर्गदीशा र भावी यात्रा बुझ्ने काम सम्माननीय पाठक महोदयहरूकै हो । किनकि संविधानले माननीय र सम्माननीय भनेकाहरूले त संविधानको अधिकारलाई नै बपौती मान्दै बेला न कुबेला ‘ठट्टा र मस्करी’ गर्दा रहेछन् भन्ने कुरा शपथ समारोहको भाषा र परिभाषा सुन्दै र हेर्दै बुझियो ।

‘प्रतिज्ञा’ ‘त्यो पर्दैन’ र ‘हिहिही’ लाई जनताले एक फेर फेरि ‘प्रतिज्ञा’ विनाका प्रधानमन्त्री र ‘गरिमा’ विनाका राष्ट्रपतिका रूपमा लिएका छन् । आगे आम चेतनशील नागरिकहरूको विचार ।

‘लोक कि कहत ?’ लोकतन्त्रमा सबैभन्दा ठुलो डर नै ‘लोकले के भन्छ’ भन्ने हो ? तर हामीकहाँ त केटाकेटीले पुतलीसँग खेल्ने गणतन्त्र आएको छ । वास्तविक गणतन्त्र त अझै सुदूर छ । कि कसो ?