अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

जीवनवादीका १० छोटा कविताहरू

पेशल आचार्य २०७९ वैशाख ९ गते २२:०२ मा प्रकाशित

१. शैली
अक्षरहरूले
यस पटक फेरि
आख्यानका गह्रा
र कविताका चउरहरूमा
कौमार्य छरे !

२. यात्रा
ताराहरूलाई
सीमान्त पीडाको गर्तमा भित्र्याएर
निष्ठुरी त्यो जून
हिँड्यो परदेश ।

३. आसा
हामी वर्षौँदेखि
भोकलाई
मिठो व्यञ्जन मानेर
आश्वासनमा हाली
निरन्तर निरन्तर चपाइरहेछौँ ।

४. केन्द्रबिन्दु
काठमाडौँको नाभि
धरहरा
मनमा विराजमान भो
अब हामी घुम्दैछौं फनफनी ।

५. कवि
शब्दका पाँजाबाट
अक्षरका दाना झारेर
फेसबुके आत्मरतिमा
आजकाल अघोरै रमाउँछ – ऊ ।

६. मार्ग
ध्यानको राजमार्गमा
वर्षौंवर्ष हराएको म
स्वज्ञान पिउनका लागि ।

७. यौन
जति जोते पनि
कहिल्यै बाँझो नमारिने
अटेरी ! पर्ती खेत !!

८. प्रेम
मोरीले
झन्नै गाल पारी
होटेलको बिल तिर्ने बेला
धन्न पर्स रित्तो रहेनछ ।

९. सन्तान
आउँछन्
खान्छन्
रून्छन्
हाँस्छन्
र बाआमालाई ओल्चेर जान्छन्
एकएक ओटा छुद्र वचन ।

१०. उत्तेजना
पर्दा उघारेपछि
अनायास बिजुली चम्कियो
देखेँ,
ऊ सर्वाङ्ग नाङ्गै रहिछे ।