अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२३ | Colorodo: 18:38

शनिवारबाट राजधानीमा बृहत् पुस्तक प्रदर्शनी

कुबेर गिरी, काठमाडौँ  २०७४ पुष २१ गते ६:२१ मा प्रकाशित

डिकुरा पब्लिकेसनले भृकुटीमण्डपमा २२ पुस अर्थात् शनिवारबाट ‘१२ औँ बृहत् पुस्तक प्रदर्शनी’ आयोजना गर्दैछ । २१ पुस अर्थात् आज शुक्रवारबाट आयोजना गर्ने भनिएको मेला प्रबिधिक कारणले एक दिन ढिलो भएको आयोजकले जनाएको छ ।

‘प्रेरणाका लागि पुस्तक’ भन्ने सन्देशका साथ आयोजना हुन लागेको कार्यक्रममा केही व्यक्तिहरूको विरोधका कारणले एक दिन ढिलाइ हुन गएको आयोजक डिकुरा पब्लिकेसनले एक विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

पुस्तक मेलासँगै आयोजना हुने ‘विन्टर बिजिनेस फुटवेयर मेला’ तयारी जुत्ता एशोसियसनका अध्यक्ष रविन श्रेष्ठ सहितका केही पदाधिकारी र भृकुटीमण्डप भित्रका केही जुत्ता व्यवसायीहरूका एक समूहले मेलाको तयारी बिथोलेका कारण मेला आयोजनामा एक दिन ढिलो भएको डिकुरा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाई द्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

शिखर सुजको प्रायोजन रहेको मेला अब शनिवारबाट सुरु भई ७ माघसम्म चल्नेछ । भाषा साहित्यको प्रवर्धन, विकासका लागि भनेर आयोजना हुन लागेको मेलामा देश विदेशबाट प्रकाशन भएका १० हजार शीर्षकका पुस्तकहरू प्रदर्शनमा राखिनेछ ।

विभिन्न उमेर समूहका पाठकका लागि समेत विशेष पुस्तहरु रहने मेलामा बालबालिकामा पढ्ने बानीको विकास गर्ने खालका बालसाहित्यका कृतिलाई विशेष महत्वका साथ राख्न लागिएको लेखक तथा आयोजक प्रसाइले बताए ।

नयाँ कृति बिमोचन समेत गरिने मेलामा विभिन्न पार्टीका उच्च नेता, कर्मचारी, कलाकार, साहित्यकार, पत्रकार, कूटनीतिज्ञ, शिक्षाविद् र विशिष्ठ व्यक्तित्वहरू लगायत १ लाख बढी व्यक्तिको उपस्थिति रहने आयोजकले दाबी गरेको छ ।