अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

आजको औंशीको दिन

राधा रिजाल २०७४ वैशाख १३ गते १०:२१ मा प्रकाशित

आजको मिर्मिरे यस्तो होस्
जस्मा बर्सिने शीतका चिसा लहरले
मेरी आमाको शरीर तङ्रिएर उनको मुहारको हाँसो
बोकेर सिरेटो बनी सुटुक्क मेरो झ्यालको कापबाट छिरेर बिहानी पखको निन्द्रा ब्युँझाउँदै
ताजा स्पर्शले अमृत तरंगित गराअोस |

आजको सूर्य यस्तो उदाअोस
जस्मा सूर्यका कोमल रक्तिम् किरणहरुले
मेरी आमाकोआसुँ सुकाइ चरणस्पर्श गरेर मेरो
मनको आँगनको डिलमा सुकायको आशीर्वादको
विस्कुन सुकोस |

पृथ्वीमा आज यस्तो हावा चलोस
जसले मेरी आमाको शरीरका पसिना अोबाएर
हरेक कण कणले उनको मातृवात्सल्यको सुगंन्ध
बोकी बहदै बहदै मेरो समिप ल्याइपुराअोस
र म मोहित भई सुगंन्धित भई माया र सद्भाव समेटेर
सधैँ लहरिइ रहन पाउँ जीवनमा |

आज ब्रमाण्डमा यस्तो पानी परोस
जसले मेरी आमाको दु:ख कष्ट रोग ब्यादी सबै
पखालेर निरोगीपनलाई काखी च्यापी बग्दै बग्दै
हरेक थोपा थोपाले मेरो मनको मझेरिमा सर्दै गरेको
प्रेरणाको ,सम्झनाको, बिरुवाले हरियो हुँदै रङ फेरोस |
र देखियको सप्तरङी इन्द्रेणीको रङहरु मेरी
आमाको मुहारमा यस्तरी सजिउन ता कि
आँखा चिम्लदाँ मैले आमाको प्रतिबिम्ब उज्यालो
देखुँ |

आज संसारमा दिनको मध्यन्तर् यस्तो होस्
जहाँ मेरी आमा बिसाएर माया प्रेम स्नेह र स्याहारको
खाजा खाएर खुसी र संतुस्ट हुँदै लामो आयु जिउन सकुन ता कि म ३३ कोटी देवता भन्दा पनि माथि रहेकी जीवित देवी को सामु शिर झुकाइ
आशीर्वाद को भोको मुख बाइरहन पाउँ|
विरक्तिको प्रचण्ड गर्मीमा तिम्रो मायाँको चौतारीमा
बिसाउन पाउँ|

आजको सुर्यास्थ यस्तो होस्
आजको औंशीको रात यती कालो होस्
जहाँ मेरी आमा निस्स्वार्थ उज्यालो द्दीप बनेर चम्किरहुन
जँहा बाँचुन्जेल जीवनशैली अघि बढाउन
कालो रात झैँ जिन्दगीका क्षणहरु
अँध्यारियका पलहरू
अल्मलियाका प्रहरहरु
र सबै सबै गोरेटोहरुमा
आमाको मायाँको ,ममताको ,
आशिष् को उज्यालोको खाँचो परिरहोस् |
सायद ….
सायद !! तेसैले होला आमाको मुख हेर्ने दिन
को साइत औंशिमा परेको !!