अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१४ | Colorodo: 15:29

बार्दली

विश्व कुइकेल २०७८ चैत २७ गते ९:५९ मा प्रकाशित

भित्तामा एउटा चित्र छ । चित्रमा हरिणलाई बाण लागेको देखिन्छ । महाराज त्यही चित्र हेरेर उभिएका छन् । उनको पछाडि आएर मन्त्रीले भने “महाराजको जय होस् । जन्मदिनको शुभकामना हजुर।”

उनी प्रसन्न मुद्रामा पछाडि फर्किए । “भन त सुगन्धवीर, के छ आजको खबर ?”

“महाराज, हजुरको दर्शन गर्न सैयौ मानिसहरू बाटोमा उभिएका छन्।” बार्दलीमा महारानी त उभिइबक्सेको रहेछ, हजुरलाई नदेखेर ….” हात जोड्दै मन्त्रीले भने।

उनी केही नबोली बार्दलीतिर हानिए। महारानी अलिक बायाँतर्फ सरिन्। तल हेर्दा साँच्चै सैयौ मानिसहरू माथितिर हेरिरहेका थिए। उनीहरूका आँखाले महाराजलाई पछ्याइरहेका थिए । अग्लो दरबारको बार्दलीमा एक्कासि उनलाई देखेपछि तलका मान्छेहरू कराए, “महाराजको जय होस्।”
महाराजले ती मानिसहरूलाई हात हल्लाउँदै भने, “हेर त सुगन्धवीर, तलका मानिसहरू कति साना देखिएका ! किरिमिरी किरा जस्ता पो देखिन्छन् त ।”

मन्त्रीले जवाफ दिए, “हो, यो सबै दृष्टिको कुरा हो। अघि म त्यहीबाट आउँदा यहाँ महारानीलाई देखेको थिएँ। महारानी पनि उचाइमा त पक्कै हुनुहुन्थ्यो तर सानो नै देखिनुभएको थियो।”

अदबपूर्वक हलुका झुकेर फेरि मन्त्रीले थपे, “अर्को कुरा महाराज! अरू हजारौँ मानिसहरू यो सडकमा हजुरको जय जयकार गाउन उभिएका छैनन्। ती अन्तै छन्।”

महारानीले क्रमशः मन्त्री र महाराजको अनुहारमा जिज्ञासापूर्वक हेरिन्।
साँच्चै नै माथिकोले हेर्दा तलका मान्छे सानो देखिए र तलकाले हेर्दा माथिका मान्छे उचाइमा मात्र देखिए ।

प्रतिक्रिया