अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१३ | Colorodo: 15:28

पहिचान

विश्व कुइकेल २०७८ फागुन २८ गते १९:३१ मा प्रकाशित

स्कुल पढ्दै गर्दा सुरेशलाई सोधिएको थियो, “तँ को होस् ?”
फेरि कलेजमा सोधियो । गाउँमा अनि सहरमा पनि सोधियो । जागिर र उसले स्वतन्त्रता महसुस गर्ने काममा पनि सोधियो । उसले जवाफ फरक फरक दियो । कहिले विद्यार्थी भन्यो । कहिले जागिरे र कहिले लेखक भन्यो । कहिले दाइ, भाइ, छोरा, पति, बा अनि समाजले दिएको विभिन्न नाता पनि भन्यो ।

त्यतिले पुगेन कि भन्दै रिसाएर उसले “म मान्छे हुँ ।“ भन्यो ।
उसको पेसा, जात, धर्म, वर्ण, लिङ्ग केहीले पनि मान्छेहरूको चित्त बुझाउन सकेन । उसको जवाफमा चित्त नबुझाएर पटक पटक उसको पहिचान सोधियो । ऊ पहिचानविहीन हुँदै होइन । तर उसको आवाज बुझिएन वा बुझ्नै खोजिएन । उसले आफूभित्र खोजेको उसको पहिचानमा त्यस्तै हुँ भन्नेहरूको रङ्ग पटक्कै मिलेको लागेन उसलाई ।
केही सीप नलागेपछि उनीहरूले नै भने, “तँ फलानो होस् ।“
ऊ उत्सुकताले भरियो र फलानोलाई भेट्न पुग्यो तर फलानोले भन्यो, “तँ तिलानो होस् ।“
उसलाई तिलानोले पनि भन्यो, “तँ त ढिस्कानो जस्तो छस् ।“
बाध्य भएर एक दिन उसले भन्यो, “म फलानो हुँ त्यसो भए !”

यो जवाफसँग आफैंलाई चित्त बुझाउन कठिन भइरहेको थियो । तैपनि मान्छेहरूको चित्त बुझाउन मात्र उसले यो भनेको थियो । यसपछि त झन् ऊसँग फलानो हुनुको प्रमाण मागियो । भोलिसम्म फलानो हुने प्रत्याभूति मागियो । फलानोभित्रको तप्का मागियो ।
रनभुल्ल पर्दै उसले भन्यो, “ होइन होइन, त्यसो भए म फलानो सलानो केही पनि होइन ।“
प्रत्येक पाँच वर्षको अन्तरालमा, कहिले त कुसमयमा नै पनि उसलाई फेरि सोधिन्छ, “तँ को होस् ?”
यो निरन्तर सोधिने प्रश्न भए पनि यस्तो समय विशेष समय मानिन्छ, प्रश्न गर्नकै लागि ।
त्यस्तो बेलामा ऊ आफैलाई फेरि पनि सोध्छ, “साँच्चै म को हुँ?”

चित्र नै चित्र भएको लामो लमतन्न परेको कागजमाथि छाप लाउँदा, त्यसको तत्कालीन नतिजा हेर्दा र नतिजाबाट उत्पन्न असर हेर्दा उसलाई आफू केही नभएकोमै खुसी लाग्छ । त्यो कागज हरियो, रातो, निलो वा पहेंलो हुनुमा उसलाई केही फरक लाग्दैन ।
त्यसैले त आजभोली उसले भन्न थालेको छ-
म केही होइन
केही केही पनि होइन

बरु त्यो सेतो कागजमा मेरो लागि छुट्टै चिन्ह थपिदेऊ
जहाँ तिमी प्रश्न गर्न योग्य नभएको प्रमाण छापिदिऊँ
नसोध मेरो मन पर्ने झन्डाको रङ्ग कस्तो छ
त्यो रातो छ
निलो छ
बिचमा सेता चिन्हहरू छन्
र त्यति मात्र ठिक छ ।

।।समाप्त।।

प्रतिक्रिया