अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०३ | Colorodo: 17:18

‘श्रीमतीको महिमा !’

दीपक तिमल्सिना २०७७ चैत १७ गते ६:५९ मा प्रकाशित

‘श्रीमती’ कसरी उत्पत्ति भयो होला ? भन्ने प्रश्नले मनमा घेरा हालेपछि कम्प्युटर अगाडि बसेर ‘श्रीमती’का विषयमा केही लेख्ने विचार गरे । सोचे केही बेर । अहो ! यो शब्दको महिमा त ठुलो पो छ, शब्दमा हैन कर्ममा बयान गर्नुपर्छ भन्ने लाग्यो ।

एउटै गर्भबाट जन्मिएका छोरा र छोरी । छोराले चैँ अर्काकी छोरी बिहे गरेर आफ्नो घर ल्याउने अनि छोरीले चैँ आफू जन्मेहुर्केको घर छोडेर अर्काको घर जानुपर्ने । यो एउटा असमान परम्पराको ज्वलन्त उदाहरण हो ।

अह ! हैन परम्परा गलत हुँदै हैन, गलत त त्यो परम्परालाई बहाना बनाएर कुरीति भि†याउने तत्त्वहरू हुन् ।

मेरा अलमल सकिए, अब ‘श्रीमती’को त्याग र तपस्याको वर्णन गर्नेछु ।

पौराणिक ग्रन्थमा नारीलाई पूजनीय र देवी तुल्य मानिएको छ । नारीका धेरै स्वरूप छन्, छोरी, स्वास्नी, प्रेमिका, आमा, बहिनी आदि आदि । जन्ममा ‘स्त्री’ भएर जन्मिएका कसैका छोरी, कसैका बुहारी, कसैका श्रीमतीको जति त्याग सायदै जन्ममा ‘पुरुष’ भएर जन्मिएकाहरूले गर्न सक्दैनन् । हाम्रो पूर्वीय संस्कृति र परम्परामा सायदै यस्ता उदाहरण भेट्टाउन कठिनै पर्ला ।

छोरा जन्मेपछि छोरालाई ‘कुल’ मान्ने समाजले छोरीलाई किन मान्न नसकेको होला ?

छोरी जन्मे हुर्केको घर जवानी लागेपछि माइतीघर बनाइदिन्छ यो समाजले । छोरी कसैकी बुहारी, कसैकी ‘श्रीमती’ हुन्छे ।

अहिलेको आधुनिक युगलाई एकै छिन कुनामा राखेर हेर्दा एउटा अपरिचित ठाउँमा आफ्नो परिचय बनाउन उभिन्छे एउटी ‘श्रीमती’ । सुन्दा एकदमै कोमल शब्द ‘श्रीमती’, तर उसलाई आइपर्ने अप्ठ्यारा निकै कठोर हुन्छन् ।

एउटी छारोकी बिहेपछि पहिचान फेरियो, सम्बन्ध फेरियो, बोलावट हुने बोली फेरियो । बिहेपछि एउटी छोरीको बालापन खोसियो, सपनाहरू छरिए, स्वतन्त्रतामा तारबार लगाइयो ।

तर ‘श्रीमती’, जीवनमा यति धेरै उतारचढाव आउँदा पनि कति पनि नआत्तिई फेरिएको पहिचानलाई सुदृढ बनाउन, फेरिएको सम्बन्धलाई सुमधुर बनाउन, छरिएका सपनाहरूलाई बटुल्न तल्लीन हुन्छिन् । उनका आँट र साहस भने कहिल्यै छरिँदैन, त्यो आँट र साहस केबल ‘श्रीमती’मा हुन्छ ।

के यो सबै साहस केटा मान्छे अर्थात् ‘श्रीमान्’ मा हुन्छ ?

हामी जति पनि समान समाजको निर्माण गर्न भनेर लागे पनि छोरीबाट श्रीमती हुँदा गुमाएका सम्बन्ध, खोसिएको स्वतन्त्रता उनलाई दिन किन सक्दैनौ ?

‘स्त्री’ ‘पुरुष’ बराबर भनेर नारा लगाइरहँदा बराबरीकै हैसियतमा राख्नका लागि श्रीमान् र श्रीमतीको आधा जीवन श्रीमानको घरमा आधा जीवन श्रीमतीको घरमा बिताउने संस्कारको विकास गरौँ न त ! भनेर प्रस्ताव गरियो भने यो हाम्रो समाजले स्विकार्न त धेरै परको कुरा सुन्न समेत चाहँदैन । त्यसैले पनि ‘समानता’ भित्रका केही बुँदाहरू मात्र लागु हुन्छ भनेर भन्नु सायदै गलत हुँदैन जस्तो लाग्छ ।

‘श्रीमती’ एउटा चट्टान बनेर समाजमा जिइरहेकी हुन्छिन् । तपाई यो विषयमा नेपालका जुनसुकै समाज वा घरको अध्ययन गर्नुस् ‘श्रीमती’ को महिमा ‘श्रीमान्’को भन्दा बढी नै पाउनुहुनेछ ।

‘स्त्री’का हरेक रूपसँगै उनेको कर्तव्य र जिम्मेवारी पनि तोकिएको छ । ‘स्त्री’को एउटा रूप श्रीमती । श्रीमती अर्धाङ्गिनी तर कामका लागि मात्र । वाह ! नारीको एक रूप ‘श्रीमती’ जहाँ उसले गर्नुपर्ने कर्तव्य र उसको जिम्मेवारीलाई हरेक पल बोध गराइन्छ ।

हाम्रो समाजले नारीलाई देवी भनेर पुज्छ र लक्ष्मी भनेर घर भित्राउँछ । तर त्यही समाजले ती नारीको स्वतन्त्रता, सम्मान र इच्छाको घाँटी थिचिरहेको छ । तर पनि ‘श्रीमती’ अडानी चट्टान बनी जीवन हाँकिरहेकी हुन्छिन् ।

निष्कर्षमा समाजमा नारी अर्थात् ‘श्रीमती’को भूमिका गहन हुन्छ । भनिन्छ नि एउटी असल नारीले घर मात्र हैन समाज नै असल बनाउन सक्छिन्, त्यो उत्कृष्ट क्षमता नारीसँग मात्र हुन्छ । जीवनको दौडाहामा एउटी नारीको जीवनमा अनेकौँ घटनाक्रमहरू आउँछन्, पत्यारिला अनि अपत्यारिला पनि । ती सबै घटनाक्रमहरूलाई साहसका साथ सामना गरेर अघि बढ्ने आँट नारी अर्थात् ‘श्रीमती’मा हुन्छ । हरेक समाजको आधार स्तम्भ भनेका पनि त्यो समाजका नारी अर्थात् ‘श्रीमती’ नै हुन् ।