अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०० | Colorodo: 17:15

नेपालमा श्रमको सम्मान नहुँदा युवा वैदेशिक रोजगारीमा

दीपक तिमल्सिना २०७७ चैत १९ गते ७:०५ मा प्रकाशित

नेपाल, जहाँ युवा जनशक्तिको अभाव नै छैन यदि वैदेशिक रोजगारीमा रहेका युवा स्वदेशमै बस्ने हो भने ।

के युवालाई स्वदेशमै श्रम गर्ने वातावरण सिर्जना नभएकै हो त सरकार ? हामीले रोजगारी उद्योग, कलकारखानामा मात्रै हुन्छ भन्ने सोच राख्छौँ । यो सोच गलत हो । श्रम गर्ने हो भने हरेक क्षेत्रमा अवसर छ । एकाधरि विश्लेषकको कुरा यहाँनेर ठिक लाग्छ कि, एक युवा खाडी मुलुकमा गएर जस्तो सुकै काम गर्न तत्पर हुन्छ तर त्यही काम यहाँ गर्न कि तत्पर हुँदैन ?

हरेक व्यक्ति श्रमिक हुनुपर्छ, तर बोलीमा मात्र हैन, व्यवहारमा, यथार्थतामा सँगै भावनामा पनि । मजदुर भन्दा हामी झुत्रो कपडा लगाएको, कमजोर, निरीह मान्छेको चित्र कोर्छौ । वास्तविक त्योभन्दा अलि फरक छ । समाजले श्रमिकका भावना बुझ्दैन, तर श्रमिक भावनाका धनी हुन्छन् । श्रमको मूल्य र पसिनाको रहस्य श्रमिकले बोध गर्छन् । फोहोर बटुल्ने, भारी बोक्ने, खेत खन्नेलाई सम्मान गर्न नसक्ने र आपूmलाई सभ्य ठान्ने सामन्ती सोच भएको समाजमा छौँ हामी ।

समाज परिवर्तन गर्नका लागि समानताको श्रम, सम्मानवादी सोचको आवश्यकता पर्छ । समाजले समाजवादी सोचको विकास गर्न सक्यो भने युवालाई स्वदेशमै श्रमका लागि परिचालन गर्न खासै गार्हो पर्दैन ।

लाखौँ युवाको मनोभावनाको कदर गर्न नसक्ने समाजले श्रमको कदर पनि गर्न सक्दैन ।

अब युवालाई कृषि, पशुपालनमार्फत उत्पादनमा जोड्नुपर्छ । उत्पादन बिना समृद्धि सम्भव छैन । नेपालका अधिकांश ठाउँमा भइरहेको कृषि तथा पशुपालन परम्परागत शैलीको छ । यसलाई आधुनिकीकरणसहित व्यावसायिक बनाउनुपर्छ । आधुनिकीकरणसहित व्यावसायिक बनाउनका लागि युवालाई नै परिचालन गर्नुपर्छ ।

अब बहस गरौँ, नेपालको रोजगारीको । बुद्धिजीवीहरूले यो पनि सोचुन् कि नेपाली युवा देशमै काम गर्न किन चाहँदैन त ? विदेशमा श्रमको सम्मान छ, नेपालमा श्रमको सम्मान छैन । बुद्धिजीवी, ठुलाबडा नै बुज्रुक छन् यहाँ । टाई सुट लगाएर काम गर्नेको मात्र सम्मान हुने देश हो नेपाल ।

दुई वटा साधारण उदाहरण हेरौँ:

उदाहरण एक –
एउटा गाउँको युवा एसईई उत्तीर्ण गरेर उच्च शिक्षाका लागि सहर आउँछ । सुरुसुरुमा जीवनको समृद्धिको सपना देख्छ । दिनप्रतिदिन उसलाई अभावको महसुस हुँदै जान्छ । बढ्दो अभावलाई न्यूनीकरण गर्न जस्तोसुकै काम गर्न पनि तत्पर हुन्छ । ऊसँग खासै क्षमता र दक्षता हुँदैन र समाजका ठुलाबडाले भन्ने गरेका ती साना काम गर्न बाध्य हुन्छ । त्यसपछि साथी, सङ्गतिबाट हेपिन थाल्छ, उसको श्रमको सम्मान हुँदैन । अपमानजन्य व्यवहार भोगेर उ बस्न चाहँदैन र विकल्पमा वैदेशिक रोजगारीलाई रोज्छ ।

उदाहरण दुई –
घरपरिवारको आय स्तर मध्यम भएको एउटा विद्यार्थी बा आमाले दिएको खर्चबाट स्नातक, स्नातकोतरसम्मको अध्ययन गर्छ । अध्ययन सकेपछि राम्रो जागिर खाने सोचमा हुन्छ उ । विभिन्न ठाउँमा जागिरको लागि आवेदन दिन्छ, छनौट हुन्छ तर उसलाई आफ्नो अध्ययन अनुसारको जागिर कहीँ कतै पाए जस्तो महसुस गर्दैन, अनि ऊ नवीन सोचका साथ कृषि तथा पशुपालन गर्ने सोचमा गाउँ फर्कन्छ । पशुपालन र कृषिलाई मुख्य पेसा बनाउन गाउँ आएको त्यो शिक्षित युवालाई पढेलेखेको भएर पनि सानो काम गर्न लागेको, जागिर खान नसकेको, जागिर खाने क्षमता नभएको जस्ता विभिन्न आलोचनाबाट आलोचित गरिन्छ । अनि त्यो शिक्षित युवा मनमा भएको कृषि र पशुपालन गर्ने उद्देश्यलाई तिलाञ्जली दिएर वैदेशिक रोजगारमा जान बाध्य हुन्छ ।

युवालाई रोजगार दिने सरकारी स्तरका ठुला कार्यक्रम आएकै छैनन् । खिसिट्युरीमा आएको एउटा कार्यक्रम हो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका नाममा करोडौँ रुपैयाँ बाँडियो, त्यसले बेरोजगार समस्यालाई दीर्घकालीन समाधान गर्यो त ! विपक्षीले लगाउँदै आएको आरोप – ‘कार्यकर्ता भर पोषण गर्ने प्रधानमन्त्री रोजगार कार्यक्रम’, सत्यता नै यही हो कि जस्तो लाग्छ । वैदेशिक रोजगारको विकल्पसहित बेरोजगारी समस्याको दीर्घकालीन समाधान खोज्नुको सट्टा प्रतिफलहीन अर्बाैको भार बोकाउने प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याउनु आफैँमा ठिक थिएन । त्यसैले त्यसको नतिजा पनि राम्रो आउन सकेन ।

यी र यस्ता सम्पूर्ण समस्याहरूको मुख्य जड भनेको नीति निर्माण र कार्यान्वयन गर्ने तहमा भिजन भएका व्यक्तिको अभाव हुनु नै हो । नेपालले सम्भाव्यताको चाङलाई पर्गेल्ने भिजन भएका व्यक्तित्वलाई एकजुट गराओस्, श्रमिकको सक्षमतालाई सम्मान गरेर रोजगार देओस् । बौद्धिक भेला तथा अनुसन्धान गराओस्, किनभने श्रमिकको परिश्रम देशको लगानी, देशको उत्पादकत्व श्रमिकलाई रोजगार, देशको समृद्धि श्रमिकको व्यक्तित्व विकास सबै आपसका पर्याय हुन् । अब देशले व्यक्तिको व्यक्तित्व र देशको अवस्थामा छलाङ मार्नुपर्छ ।