अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 11:08

छोरीकी आमालाई ढुक्क बनाइदे सरकार !

दीपक तिमल्सिना २०७७ भदौ १६ गते ६:३८ मा प्रकाशित

हामी सामाजिक, राजनीतिक रूपमा परिष्कृत समाजको खोजीमा लागिरहँदा एउटा छोरी छोरी भएकै कारणले अधिक पिडा पाएपछि बाँच्छु भन्दा पनि बाँच्न नपाउने त !

गर्भमा छोरी हुँदा आमालाई सधैँ त्रास भइरहने वातावरण अझै हट्न सकेको छैन नेपालमा । पछिल्लो समय नेपालमा भएका बलात्कार अनि बलात्कार पछि भएका घटनामा हर नेपाली आमाको आँखा आँसुले भिजाएको छ ।

ढुङ्गे युगबाट सुरु भएको मानवको अस्तित्व अहिले वैज्ञानिक युगमा छ । नेपालमा केही समय अघि बलात्कार न्यूनीकरण हुन्छ भनेर अश्लील सामाग्रीहरू राख्ने वेबसाइटहरू बन्द गराइयो, यो एकदमै सकारात्मक कदम थियो । बलात्कार जस्ता जघन्य अपराधका घटना घट्नै नदिने उपाय सरकारी तवरबाट नखोजिनु चाहिँ नेपाली जनताको पिडाको विषय हो ।

अहिले आमाहरू छोरी जन्माएकोमा आफैँलाई धिक्कार्दै छन्, गर्भमा छोरी छ कि भनेर गर्भपतन गराउनेको पनि कमी छैन । आक्रान्त बनेको छ नेपाली आमाहरूको मन ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायको निम्ति सामाजिक अभियन्ताहरू सडकमा उत्रिए । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछिको हत्याकाण्डको घटना एउटा प्रतिनिधि घटना मात्र हो । यहाँ दिनदहाडै, दिउँसै, रातमै चेली बलात्कृत भएका छन् । कति घटना प्रहरीकोमा आउँछन्, त कति भित्रभित्रै गुम्सिएर रहेका छन्, जबसम्म बलात्कार गर्ने बलात्कारी कडाभन्दा कडा कारबाहीको दायरामा आउँदैन, तबसम्म हरेक नेपाली आमाको मनमा शान्ति छाउँदैन ।

पछिल्लो समय नेपालमा एसिड आक्रमणका घटनाहरू पनि उत्तिकै बढिरहेका छन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड आक्रमण भएका छन् । एसिड आक्रमणमा पर्नेमा ८२ प्रतिशत युवती छन् । एसिड आक्रमणपछि बाँच्न त बाँच्लान् तर ती आक्रमणमा परेका व्यक्तिको जीवनशैली बन्द कोठाको अँध्यारो जस्तै हुने पीडितहरूले नै बताउँदै आएका छन् ।

विभिन्न अध्ययनका अनुसार एकतर्फी प्रेमबाट उत्पन्न हुने इगोको भावनाले एसिड आक्रमण जस्ता जघन्य अपराध निम्तिएका देखाएका छन् । आपराधिक मनसाय भएका व्यक्तिहरूले आफू अनुकूल वातावरण पाउने बित्तिकै दुराशय भावले आक्रमण गर्ने गरेका छन् ।

अहिलेसम्म भएका एसिड आक्रमणहरू प्रायजसो युवतीलाई यातना दिने तथा कुरूप बनाउने हेतुले भएका देखिन्छन् । मानसिक रूपमा परेको यस्तो पिडालाई सहन नसकेरै धेरैले आत्महत्या समेत गर्ने गरेका छन् । पीडितलाई न्याय दिन नसक्ने सरकारले अनाहकमा आफ्ना परिवार गुमाएका परिवारका अन्य सदस्यलाई सहानुभूति हुने निर्णय समेत गर्न सक्दैन ।

बारम्बार एसिड आक्रमणबाट किशोरीहरूले ज्यान गुमाएको, शारीरिक अपाङ्ग भएको जस्ता घटना दोहोरिइरहँदा पनि सरकारले एसिडको बिक्रिवितरणको नियमनमा ध्यान पुर्‍याउन सकेको छैन ।

नेपालमा कैयौँ नीति नियम नै फितला छन्, कडा बनेका नीति नियम पनि कार्यान्वयनमा फितलो भएर आइदिन्छन् । एसिड आक्रमण गर्नेलाई पनि खासै कडा कारबाही गरिएको चैँ पाइँदैन । यदि कडा कारबाही हुँदो हो त कि पटक–पटक घटना दोहोरिन्थे होलान् त ?

पिडकलाई यस्तो कारबाही हुनुपर्छ कि अर्को दोस्रो व्यक्तिले एसिड आक्रमण सम्झँदा पनि उसको हात थरथर कामोस् ।

महिलाहरू बलात्कार, एसिड आक्रमण साथसाथै देशका केही ठाउँमा बोक्सीको आरोपमा समेत समाजबाट बहिस्कृत भएका समाचारहरू आइरहन्छन् । तर नियमन गर्ने निकायले यी विषयमा न त अध्ययन नै गर्छ न त सकारात्मक सुधारको बाटो नै रोज्छ ।

बलात्कृत भएको चेली अनि एसिड आक्रमणमा परेकी चेलीको आमा मनमा फाँटेको धाँजो कसरी सिलाउने ? यस्तै घटना हेरेर कैयौँ आमा मन र गर्भमा छोरी नहोस् भन्ने सोच्न थालिसके ।

हामी सामाजिक, राजनीतिक रूपमा परिष्कृत समाजको खोजीमा लागिरहँदा एउटा छोरी भएकै कारणले अधिक पिडा पाएपछि बाँच्छु भन्दा पनि बाँच्न नपाउने त ! पीडितलाई न्याय दिलाउनका सट्टा पिडकलाई ढाकछोप गर्न प्रशासन तथा अन्य निकाय नै लागे पछि पीडितले न्याय कहिले पाउने ? गर्भमा छोरी छ कि भनेर आमाहरू कहिलेसम्म डराइरहने सरकार !