अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२० | Colorodo: 10:35

नेपालमा क्रान्तिले नल्याएको शान्ति

दीपक तिमल्सिना

दीपक तिमल्सिना २०७६ माघ २० गते १३:१९ मा प्रकाशित

विश्वका कैयौँ मुलुकहरूमा परिवर्तनको मुख्य कारक तत्त्व क्रान्ति नै हो । परिवर्तनका लागि क्रान्ति आवश्यक छ । नेपालमा पनि विभिन्न शासन व्यवस्था ढाल्न जनक्रान्ति नै भएका इतिहास छन् ।

अहिले २१ औँ शताब्दीको दौरानमा मान्छेले सुख, शान्ति, समृद्धि चाहन्छ । २०५२/५३ देखि २०६२/६३ सम्म चलेको १० वर्षे जनयुद्ध पनि जनताले चाहेका थिएनन् । बाध्यात्मक परिस्थितिको सिर्जना भएकाले नै युवाहरू परिचालन गर्न सफल भएको थियो तत्कालीन माओवादी पार्टी । १० वर्षे जनयुद्धबाट परिवर्तन त आयो, तर जुन मनोभावनाले लाखौँ युवा युद्धमा होमिएका थिए, त्यसको एक छेउ मात्र परिवर्तन भयो । सिधा भाषामा भन्दा शासन व्यवस्था र सत्ता परिवर्तन भयो । राजतन्त्र फालियो र कथित गणतन्त्रात्मक राज्य स्थापना भयो । त्यस समयमा कल्पना गरिएको नयाँ नेपालको सङ्कल्प खै त ?

तत्कालीन माओवादी पार्टीको नेतृत्व गरेका नेताका लागि गणतन्त्र राज्य वरदान भयो, ती नेताको पछाडि लागेका कार्यकर्ताका लागि हात्ती आयो हात्ती आयो फुस्सा ! गरिब, निमुखा, पिछडिएका जनता गणतान्त्रिक पद्धति अँगालेको राष्ट्रले पनि माथि ल्याउन सकेन । सोझा, निमुखा जनता अझै त्यही स्तरमा छन्, जुन स्तरमा माओवादी जनयुद्धमा लाग्नुभन्दा पहिला थिए । अहिलेको प्रतिबन्धित दल विप्लव नेतृत्वको नेकपाको पछिल्ला क्रियाकलापहरूलाई हेर्ने हो भने नेपाली जनतामाथि फेरि जनयुद्ध पो लाद्ने षडयन्त्र हो कि भन्ने भान हुन्छ । तोडफोड, चक्काजाम जस्ता गतिविधिले अबको क्रान्ति सफल हुँदैन । विप्लव नेतृत्वको नेकपा यही गतिविधिले अगाडि बढ्ने हो भने असफलतातर्फ मात्र धकेलिन्छ ।

विप्लव, यस कारण असफल हुन्छौ

  • अब जनताले रगत बगाएर परिवर्तन ल्याउन चाहँदैनन्, विप्लवको क्रान्तिको मोडल १४ औँ शताब्दीको जस्तै भयो ।
  • जनताले एक पटक तत्कालीन पार्टी माओवादीबाट धोका पाइसकेका छन्, तीनैसँग पहिला एउटै काँध गरेर हिँडेका विप्लवलाई पत्याउने आधार जनताले पाएका छैनन् ।
  • सरकारदेखि रुष्ट जनता विप्लवदेखि चाहिँ खुसी छन् जस्तो लाग्दैन । विप्लवका पछिल्ला हिंस्रक गतिविधिले फेरि कतै देश गृहयुद्धमा धकेलिँदै त छैन भनेर जनता त्रसित छन् । यस्तो अवस्थामा जनताले साथ नदिने पक्का छ ।
  • तोडफोड, आगजनी समस्याको समाधान होइन तर यस्ता क्रियाकलापमा विप्लव सक्रिय हुँदै गएको छ, यसले अगाडि हैन पछाडि धकेल्छ ।
  • देशका कैयौँ ठाउँमा टावरहरू जलाइए, त्यसको प्रत्यक्ष असर सर्वसाधारण जनताको सञ्चार सेवामा प¥यो । असर सर्वसाधारणलाई पर्ने गरी हैन, देश बिगार्ने ती नेतालाई पर्ने गरी गर्न सक्नुपर्छ ।
  • नेपालका नेताहरू अवसर पाएपछि जस्तो सुकै काम गर्न पनि तत्पर हुन्छन् भन्ने कुरालाई यसअघि नै ठुला पार्टीका ठुला नेताले स्पष्ट पारिसकेका छन् । क्रान्तिमा लागेका विप्लवले आम जनतालाई युद्धको भुमरीमा हालेर ठुलो लोभ लालच र अवसर पाउँदा सत्ता जान वा निर्विकल्प अर्को कुनै विकल्प छान्दैनन् भन्ने के ग्यारेन्टी छ र !

क्रान्ति र परिवर्तनका नाममा मानवीय क्षति, अर्बाैको भौतिक क्षति गरेर नेपाली जनता खुसी हुन सक्दैनन्, हर भौतिक वस्तुमा पनि गरिब जनताको पसिना छ । बन्द, हडताल, चक्काजामले जनताको मन रिझाउन सकिँदैन, यसबाट श्रमजीवी जनतालाई ठुलो असर परिराखेको हुन्छ ।
नेपालमा ठुलो क्रान्ति भयो, तर त्यो क्रान्तिले शान्ति भने ल्याउन सकेन । सिर्फ क्रान्तिले सीमित व्यक्तिको मनोकाङ्क्षा मात्र पूरा ग¥यो । आम नेपालीको मर्मलाई सम्बोधन गर्न सकेन ।

विप्लव, साँच्चै क्रान्ति गर्छौ भन्ने हजारौँ सर्वसाधारण जनताको रगत बग्ने क्रान्तिको मोडल हैन केही देश बिगार्ने देशद्रोही नेताको रगत बगाउने क्रान्तिको मोडल बनाऊ । तिम्रो आन्दोलनले सर्वसाधारण मारिनु नपरोस्, ती अर्बाै भ्रष्टाचार गर्ने भ्रष्टाचारी मारिउन् ।

प्रतिक्रिया