अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२३ | Colorodo: 15:38

चुनावी नाटक

युवराज मैनाली २०७७ कार्तिक ९ गते १०:१४ मा प्रकाशित

अररो अभिमानी फलामे नेता
नौनी बनेर हात जोड्दै
मुहारमा अनौठो मुस्कान छाई
बस्तीका द्वारद्वारमा पुगी
भोटको भिक्षा माग्छ ।

मगन्ते स्वयम् महान् दाताझैँ
बस्तीका समस्याहरू सम्बोधन गर्दै
सपनाका बिस्कुन सुकाउँछ
मुख मिठ्याउन लालायित – झोलेहरू
ताली बजाउँछन्
उपलब्धिका केही आशाले
बस्तीका जनहरूले पनि
ताली बजाइदिन्छन्
चमर हम्कनेहरू जिन्दावाद भन्छन्
बस्तीका जनहरूले पनि
जिन्दावाद भनिदिन्छन् ।

भोट नझरुन्जेल थलाथलामा
निरन्तर चलिरहन्छ
यो नाटक
एउटै अभिनयमा
एउटै संवादमा
लगातार अघि बढिरहन्छ
यो नाटक ।

आकाशका जून, घाम र तारा
धर्तीमै बास बस्न आउँछन्
सबै अँध्यारो लाग्छ किनारा
बगिरहेका नदीहरू
अनायास बल्छन् – तारहरूमा !
सल्बलाउँछन् – फाँटहरूमा !
समग्रका प्यास मेट्न
दौडन्छन् – धाराहरूमा !

बाघ बस्तीमा पसेका बेला
निमोठिन्छन् हाँस- कुखुरा
निमोठिन्छन् खसी- बोका
पछारिन्छन् भैँसी र राँगा
भाउ आकासिन्छन्
सुन्दरी र सुरा ।

दिन रौनकमय बन्छ
रात अझ चम्किन्छ
नाचगानको हिसाब हुन्न
कुस्तीबाजहरूको कुस्ती चल्छ
साँढेहरू डुक्रिन्छन्
किचिने बाच्छाहरूको लेखा रहन्न ।

फकाउँदै झोलमा डुबाउँदै
थुम्थुम्याउँदै चोक्टामा लुट्पुट्याउँदै
कन्याउँदै नगद खन्याउँदै
धम्याउँदै छप्क्याउँदै
भोट बाकसमा खसालेपछि
बाजले चल्ला टिपेझैँ
त्यो बाकस टिपेर
बस्तीमा पिठ्युँ फर्काउँदै
थाहा हुन्न खै कता लाग्छन् – मुक्केबाजहरू !

सपना बिपनामा भेटिँदैन
आकाशमै फर्किन्छन्
जून, घाम र ताराहरू
च्यातिन्छन् घोषणापत्रहरू
बिर्सिइन्छन् वाचा र कबुलहरू
हराउँछन् विकासका नाराहरू ।

नदीहरू नदी नै भएर बगिरहन्छन्
न तिनले फाँट टेक्न पाउँछन्
न ती तारमा बल्न आउँछन्
न तिनले धाराहरूका रूप पाउँछन् ।

वाचा र नाराका
न सडक र पुल बन्छन्
न शिक्षालय र अस्पतालहरू बन्छन्
बस्तीका पीडा बुझ्ने
न कसैका मन हुन्छन्
तिनका चीत्कार सुन्ने
न कसैका कान हुन्छन् !!

तैपनि बेलाबेलामा बस्तीमा
चुनावको नाटक चलिरहन्छ
चोट दिने भोट झरिरहन्छ
रङ्ग रङ्गका मगन्तेहरूलाई
दाताहरू स्वागत गरिरहन्छन्
भोका अजिङ्गरहरू
तिनैलाई निलिरहन्छन् ।

नारा जे लगाए पनि
सिद्धान्त जे फलाके पनि
चपाउने दाह्रा उस्तै हुन्छन्
निल्ने पारा उस्तै हुन्छन् ।

जल्ने जलिरहन्छन्
बल्ने बलिरहन्छन्
छल्ने छलिरहन्छन्
ढल्ने ढलिरहन्छन्
उठ्ने उठिरहन्छन्
जुट्ने जुटिरहन्छन्
फुट्ने फुटिरहन्छन्
लोकतन्त्रको गहना नै त चुनाव
यो निरन्तर चलिरहन्छ
बिपना रङ्गहीन नै किन नहोस्
सपनाको रङ्ग भने
यसको बडा सुन्दर हुन्छ !!
*

 

धुम्बाराही, काठमाडौँ ।