अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

हामी नेपाली भयौॅं त ?

युवराज मैनाली २०७७ जेठ ५ गते १८:०७ मा प्रकाशित

देशान्तर भज्दै
देशान्तरकै मन्त्र जप्दै
देशान्तरमै गर्व गर्दै
देशान्तर नै गन्तव्य मानेर
हामी –
चरा सरी उडिरहेका छौॅं
हामी-
हावा सरी चलिरहेका छौॅं
हामी-
खोला सरी बगिरहेका छौॅं
हामी-
चुम्बकले फलाम तानेझैँ
देशान्तर उतै तानिएका छौॅं
मुखले जति देश रटे पनि
मन, मुटु र मस्तिष्क
हामीले-
कतै दूर देशमै बन्दकी राखेका छौॅं !

सरकार नामका कारहरूमा
यता फहराइरहेका
राष्ट्रिय झन्डाहरूमा
कति भेट्न सकिएला – राष्ट्रियता ?
अवसरहरू छोप्न पहिरिएका
टोपी, दौरा, सुरुवाल र कोटहरूमा
सारी, चोली, पटुकी र पछ्यौरीहरूमा
कति सुरक्षित रहला- नागरिकता ?

बाजाहरू बजिरहेका छन्
गीतहरू गुन्जिरहेका छन्
नाचहरू चलिरेका छन्
खै ! यिनले कति बोक्लान् – स्वाधीनता ?

कहरले वा रहरले
प्रतिदिन हाम्रो माटो
हामी सितै अपरिचित हुने क्रम बढ्दो छ
खै ! कसलाई दुखेको छ ?
यो चिमोटिॅंदा
खै ! जाग्नुपर्ने कुन जागेको छ ?

नेपाल !
नेपालीको जन्मभूमि हो
को नकार्न सक्छ यसलाई ?
हाम्रा बोली वचन पनि
महान् छन्
देशभक्तिका !
राष्ट्रियताका !
तर रगत र पसिना अन्तै बगाएर
सारङ्गी रूपको कल्पिएर
पिठ्युॅं फर्काएर आफ्नै माटोमा
के हामी नेपाली भयौॅं त ?

**

धुम्बाराही , काठमाडौॅं ।