अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

अरूको चरित्र हत्या गर्दा, खुट्टा तान्दा आनन्द मान्ने मान्छेहरूका नाममा

रामप्रसाद खनाल २०७७ जेठ ४ गते २२:२८ मा प्रकाशित

नेपालको अवस्थाका बारेमा फोनमा एक जना पुराना राजनीतिज्ञ दाइसँग कुरा हुँदै थियो, वहाँले बिचमा फ्याट्ट भन्नुभयो – खनालजी, तपाईँले रबीन्द्र मिश्र, रवि लामिछानेहरूको समर्थनमा किन लेख्नुहुन्छ ? किन बोल्नुहुन्छ ? तपाईँ अमेरिका बस्नुहुन्छ त्यसैले उनीहरूको बारेमा तपाईँलाई थाहा छैन । मैले प्रतिप्रश्न गरेँ – के गरेर दाजु उनीहरूले ? वहाँले भन्नुभयो – रबीन्द्र मिश्र भ्रष्ट, युरोपियन दलाल हो । उसले युरोपियनहरूको पैसा खाएर अहिले साझा पार्टीको पसल थापेको छ । परोपकारका नाममा करोडौँ पैसा झ्वाम्म पारेको छ । अनि तपाईँहरूको रवि लामिछाने अमेरिकनहरूको पैसा खाएर ओली सरकार ढाल्न यो नौटङ्की देखाइरहेको छ ।

केपी ओलीसँग निकट पुराना राजनीतिज्ञ वहाँको यो भनाइ सुनेको के थिएँ मेरो बर्बन्नी तात्यो । दाइ तपाईँ पुरानो राजनीतिज्ञ म मान्छु । हजुरको योगदानको कदर पनि गर्दछु । तर तपाईँ जस्तो मान्छेले पनि यस्तो बकवास कुरा गर्न सुहाउँछ र ? बिबिसीको आकर्षक जागिर, मनग्यै आम्दानी छोडेर परोपकारको क्षेत्रमा काम गर्ने रबीन्द्र कसरी भ्रष्ट, कसरी युरोपियन दलाल ? अनि नेपालका लागि केही गर्छु भनेर राजनीतिमा होमिनु के को अपराध ? रवि जसले अमेरिकी पासपोर्ट र नागरिकता त्यागेर देशमै केही गर्छु भनेर, जनताको मन जितेर काम गरिरहेका छन् उनी कसरी अमेरिकी दलाल ?? म यसै गरी तर्क प्रस्तुत गर्न थाले पछि दाइले ल तपाईँ मान्नुहुन्न अरू के छ भनेर बिसयान्तर गर्न थाल्नु भयो । म पनि ती कुराले एक प्रकारको आश्चर्य मान्दै फोन राखे पछि पनि घोरिएँ । मलाई वहाँको कुरा सुने पछि फेरी पनि लाग्यो – सतीले श्राप गरेको देश हो नै हाम्रो देश । यहाँ राम्रो गर्न खोज्ने कसैको खैरियत छैन । रबीन्द्र होस वा रवि वा अरू कोही पनि । बदनाम गर्न अनेक गर्छन् मान्छेहरू । हुने नहुने कुरा गरेर, चरित्र हत्या गरेर मान्छेलाई जिउँदै मार्ने प्रयास गर्छन् । तर मलाई रबीन्द्र मिश्र होस वा रवि लामिछाने दुवैको अहिले सम्मका काम कुरा सबै हेर्दा कुनै खोट छ जस्तो लाग्दैन । दुबैका बारेमा म अत्यन्त सकारात्मक छु । भोलिको कुरा समयले बताउला ।

ज्ञानेन्द्र शाहीमा पनि केही कमी कमजोरी अवश्य छन् तर उनले उठाएको भ्रष्टाचारको मुद्दालाई कसरी नकार्न सकिन्छ र ! तर हेर्नुस् त उनको खैरो खनेका, भाला रोपेका ! प्रा. डा.सुरेन्द्र केसीले केही राम्रो कुरा गरे भने हेर्नुस् त त्यस्तो बिद्वत मान्छे माथि दलका दासहरू कसरी आक्रमण गर्छन् । अधिवक्ता बालकृष्ण न्यौपाने, विष्णु भट्टराई, सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल, दिनेश त्रिपाठीहरूलाई हेर्नुस् त कसरी आरोप लगाइन्छ, कति तल्लो स्तरमा गाली गरिन्छ जसले नियम, कानुन, न्यायका कुरा गर्छन्, लड्छन् । अपराधहरूका विरुद्ध सडक देखी अदालत सम्म बहस गर्छन् तिनीहरू माथि भइरहेको अरिङ्गाल आक्रमण देख्नुभएको छ ? यी र यस्ता राम्रा सबैलाई आरोपित गर्ने, बिटुल्याउने र आफ्ना भ्रष्ट नेताहरूको बचाउ गर्ने झुटको खेती अहिले निकै मौलाएको छ ।

राम्रो गर्ने, गर्न खोज्ने जो कसैलाई पनि अहिले रातारात बदनाम गर्न बेर लाग्दैन । ज जसले नेकपाको, सरकारको रवैयाको विरोध गर्छन् उनीहरू आक्रमणको पहिलो तारो बन्ने गरेका छन् । हरेकको हातमा फेसबुक र सामाजिक सञ्जालहरू भएकोले होला अहिले मान्छेको चरित्र हत्या गर्ने, बदनाम गर्ने दुस्साहस अलि बढी नै हुन थालेको छ ।

अब आफ्नै प्रसङ्ग तिर लागौँ ।
आफैले आफ्नै विषयमा बोल्दा, लेख्दा मलाई असहज महसुस हुन्छ तर कहिले काहीँ बोल्न कलम चलाउन बाध्य बनाउँछ परिस्थितिले । कृपया अन्यथा नमानिदिनुहोला ।

म २०६४ सालको अन्त्य तिर बाट मात्र अमेरिका बस्न थालेको हुँ । मलाई केही प्रचण्ड, बाबुराम भक्तहरूले जनयुद्धकै बेला भागेर अमेरिका गएर शरणार्थी भएर बसेको भनेर बदनाम गर्न तल्लीन देखिन्छन्, लेख्छन् । एमालेले माओवादीसँग कुनै हालतमा पनि एकता गर्नै हुन्नथ्यो भन्ने मान्यता राख्ने मैले माओवादी र एमाले एकता पछि जब नेकपाको अलि बढी आलोचना गर्न थालेँ तब नेकपा भक्तहरू केही बाट पनि यो र यस्ता हावादारी आरोप आउने गरेको देख्छु । जबकि अमेरिकाले संसारका प्रतिभा वान मान्छेहरूलाई प्रदान गर्ने एक्स्ट्रा अर्डिनरी एबिलिटी अन्तरगत सम्मानित ग्रिन कार्ड प्रदान गरेको हो मलाई जुन मैले मेरो आफ्नो वेबसाइट www.RamPrasadKhanal.com देखी प्रकाशित मेरो पुस्तक गुल्मी देखी अमेरिका सम्ममा खुल्ला किताबका रूपमा ग्रिन कार्ड नै प्रकाशित गरी राखिदिएको छु । आँखा देख्ने जो कसैले पनि हेर्न सक्छ देख्न सक्छ । अमेरिकी राजदूतावास र अमेरिकी सरकारी निकायसँग भेरी फाइ गर्न सक्छ तर एकोहोरो शरणार्थी रट लगाउने ती बिचराहरूलाई म के भनौँ र खोइ !

मलाई विशेष गरेर प्रचण्ड, बाबुरामका केही भक्तहरूले राजावादी, राजाको शासनमा माओवादी विरुद्ध सुराकी गरेको, युवराजले दिएको गाडी चढेको, राजाले दिएको घरमा बसेको, राजाको शासनकालमा देश लुट्नेहरू मध्ये एक होस भन्दै मूर्ख मनुवाहरूले अत्यन्त हास्यास्पद तरिकाले मेरो चरित्र हत्या गर्ने गरेको विषयमा मेरो भन्नु के छ भने – हो राजाले २०५९ सालमा ” देश बर्बाद भयो, भ्रष्टाचार अति भयो, माओवादीका नाम मा धेरै जनता मरे, म दुई वर्ष सत्ता आफ्नो हातमा लिएर देशमा सुशासन कायम गर्छु, माओवादीलाई वार्ताको माध्यमबाट राजनीतिको मूलधारमा ल्याउँछु, प्रजातन्त्रलाई सबल बनाउँछु, तपाईँहरूको साथ र सहयोग चाहियो” भन्दा हामीले साथ दिएकै हो । ढाँट्नु पर्ने कुनै कारणै छैन । मैले राजा, प्रजा सबै मिलेर अगाडि जाऊँ, भ्रष्टाचार अन्त्य गरौँ भनेर राष्ट्रिय रूपमा आह्वान गरेर राष्ट्रिय गीत गाएकै हो । एल्बम सिडी निकालेकै हो । मैले आफ्नै लगानीमा एल्बम सिडी प्रकाशन गरेको हुँ र आरोप लगाइए जस्तो कहीँ कतै बिक्री गरेर कुनै लाभ लिएको छ भने अहिले प्रचण्डहरूकै पार्टीको सरकार छ, फाइल पल्ट्याउ देखाऊ, त्यो बापत एक पैसा कहीँ कतै बाट लिएको कसैले प्रमाणित गर्छ भने म सर्वस्वहरण हुन तयार छु मेरो चुनौती छ ।

राजाको शासनकालमा न मैले केही लिएको हुँ, न मागेको हुँ, मेरो पत्रिका निष्पक्ष साप्ताहिकले पनि, अरू सबै साप्ताहिकहरूले सरकारी वर्गीकृत विज्ञापन अहिले जसरी वितरण गरिन्छ त्यो बेला पनि त्यसरी नै बराबर वितरण गरिन्थ्यो, विज्ञापन पाए होला । तर त्यस बाहेक कुनै फाइदा लिएको प्रमाणित होस म फाँसी चढ्न तयार छु । मैले खुन पसिना सिँचेर किनेर चढेको गाडी, मेरो घर मैले को सँग कहिले कहाँ कतिमा किनेको भन्ने सबै रेकर्ड हेर, अहिले तिमीहरूकै राज छ । जाऊ यातायात विभाग, जाऊ मालपोत कार्यालय तिमीले देख्ने नै छौ । राजाले दिएको प्रमाणित गर, म मेरो घर तिम्रै सरकारलाई बुझाउन तयार छु । सुराकी रे ?? सुराकी गरेको भए, लौ तिम्रै भएकाछन क्यारे पुलिस सेना सबै, खोज, प्रमाणित गर के सजाय भोग्नुपर्ने हो म चुनौती दिन्छु ।

माओवादी अपराधीहरूले मलाई २०६४ साल भदौमा अपहरण गरेर बेपत्ता पारे पछि यस्तै हावादारी आरोप लगाउँदै प्रश्नहरू गरेका थिए, मैले अपहरित अवस्थामा पनि भनेको थिएँ प्रमाणित गर मलाई मृत्यु स्वीकार्य छ । उनीहरू यती लागे, यती लागे तर भएको भए पो प्रमाणित हुन्थ्यो र ! त्यस पछि माफी मागेर खनालजी गल्ती भयो भन्दै अपहरण मुक्त गरेका बेला सुन्ने पत्रकारहरू र मेरा मित्र हरू अहिले पनि जीवितै छन् बुटवलमा ।

म राजनीति बाट पूर्ण अलग छु । स्वतन्त्र भएरै भन्दै छु ती एउटा राजा र त्यो राजसंस्था अहिलेका तिम्रा प्रचण्ड, ओली, बाबुराम, शेरबहादुर लगायतका हजारौँ छोटे राजाहरू भन्दा हजार गुणा बढी राष्ट्रभक्त, जनता भक्त थिए । हो कि होइन जनतालाई सोध । छातीमा हात राखेर आफै भन !

मैले स्वर्गीय मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका अवसरमा एउटा लाइभ भिडियो मार्फत वहाँहरूलाई श्रद्धा सुमन व्यक्त गर्दै ओलीको प्रतिवेदन सार्वजनिक हुनुपर्ने, दाशढुङ्गा काण्डका बारेमा सरकारले सत्य तथ्य बाहिर ल्याउनुपर्ने कुरा के गरेको थिएँ, मदन आश्रितको नक्कली अन्तर्वार्ता छाप्ने के के भनेर केही अरिङ्गाल खनिएछन् । मेरो चरित्र हत्या गर्दै केही दल र नेताका दासहरूले एउटा अनलाइन र फेसबुकमा सुन्दा पनि हाँसो उठ्ने गरी यती तल्लो दर्जामा गाली गलौचमा उत्रेछन्, के भन्नु ! मलाई नाना भाँती आरोप लगाउँदै धारे हात लगाएछन् । उनीहरूले अमेरिका बसेर किन नेपालको कुरा गर्छस्, हाम्रा नेताहरूलाई किन आलोचना गर्छस् सम्म भन्न भ्याएछन् । तिनीहरूका लेखाईबाट तिनीहरूको स्तर छर्लङ्ग हुन्थ्यो ।

आफै खाडीमा छ, आफै विदेशमा छ, फेसबुकमा लेख्छ- विदेशमा बस्ने अनि नेपालमा नेताहरूलाई गाली गर्ने ? आफै मूल्याङ्कन गर्नुस् त यस्ता दासहरूलाई के भन्ने ! म आफै पनि विदेशमा भएकाले र विदेशको मर्म बुझेकाले विदेशमा बस्ने हरेक हरेक नेपालीलाई अति सम्मान गर्दछु तर केही झोलेहरू यस्ता छन् जो खाडीमा बसेर पनि तिनै भ्रष्ट नेताहरूलाई भगवान् मान्छन् । आफै बिदेसिनु परेको मर्म यिनलाई नै थाहा छैन । के भन्नु !

एउटा अलि पुरानो घटना बताउँछु – २०५० सालमा बुटवलबाट मेरो सम्पादनमा प्रकाशन हुने निष्पक्ष साप्ताहिकले मदन र आश्रित स्वर्गारोहण हुनुभन्दा केही दिन अघि मात्र वहाँहरू सँग फोनमा गरिएको वार्ता पत्रिकामा प्रकाशित भयो । संयोग कस्तो भयो भने हाम्रो पत्रिका छाप्ने छापाखानामा छाप्ने मेसिन बिग्रिएका कारण बिचमा ३ हप्ता प्रकाशन स्थगित भएको निष्पक्ष साप्ताहिक ३ हप्ता पछि निस्कियो । स्वर्गारोहण हुनु अगाडिको अङ्क मदन आश्रित स्वर्गारोहण भए पछि प्रकाशन हुँदा त्यहाँ सुरुमै माथि बकाइदा नोट लेखिएको थियो कि – यो वार्ता फलानो मितिमा यसरी गरिएको थियो, बिचमा हाम्रो पत्रिका प्राविधिक कारणले प्रकाशित हुन सकेन, आज प्रकाशन हुँदा समसामयिक नै हुने भएकोले यी वार्ताहरू प्रकाशन गरिएको छ भनेर नोट सहित प्रकाशित कुराकानीमा न त कुनै विवादित विषय छन् न त केही । पार्टीका बारेमा गरिएको कुराकानी थियो त्यो त्यसको सम्पूर्ण प्रमाणहरू हामी सँग सुरक्षित छन् । त्यो प्रकाशित भए पछि बुटवलमा मेरो र मेरो पत्रिका निष्पक्ष साप्ताहिकको निकै खेदो खन्ने बाबुराम भट्टराई र कर्ण बहादुर कार्की सहित एक दुई जनाले नक्कली अन्तर्वार्ता भनेर समाचार छाप्न भ्याएछन् । अनि उनीहरूकै पहलमा पत्रकार सङ्घले पनि हो मा हो लगाएर एकतर्फी सदस्यता खोस्ने निर्णय गरेछ । न म सँग कुनै कुरा सोधियो न त भेरी फाइ गरियो ।

मैले तत्कालीन एमालेलाई लौ तपाईँहरू छानबिन गर्नुस् भने । म सँग भएका सबै प्रमाणहरू सहित एमाले र नेपाल पत्रकार महासङ्घलाई पनि गुहारेँ । एमालेले छानबिन गर्‍यो सफाइ दियो, पत्रकार महासङ्घले छानबिन गर्‍यो सफाइ दियो । त्यो बेला मलाई अन्याय भयो भनेर पत्रकार महासङ्घमा आदरणीय अध्यक्ष दाइ होमनाथ दाहाल, पुरुषोत्तम दाहाल, गोपाल दास श्रेष्ठ समेतलाई यो सबै कुरा बुझाए पछि वहाँहरूकै पहलमा सफाइ सहित सदस्यता फुकुवा भयो । त्यस पछि म नेपाल पत्रकार महासङ्घको लगातार केन्द्रीय पार्सद भएर काम गरेँ । यी कुराका सबै जानकार तत्कालीन नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष बालकृष्ण चापागाईँ अहिले पनि सकुशल हुनुहुन्छ । वहाँ सँग सोधे हुन्छ । यी तथ्यलाई सधैँ बङ्ग्याउने र मेरो बदनाम गर्न तल्लीन केही मान्छेहरू लाई यो सधैँ खुराक हुने गरेको छ । हिम्मत छ भने पुष्टि गर म फेरी पनि चुनौती दिन्छु । आरोपको कुनै तुक छैन ।

म असाध्यै खट्ने, परिश्रम गर्ने मान्छे । परिश्रम गरेपछि, खुन र पसिना चुहाएर काम गरेपछि, गीत सङ्गीत, पत्रकारिता, कलाकारिता सबै क्षेत्रमा खटेपछि, रेडियो नेपाल, नेपाल टेलिभिजन, आफ्नै म्युजिक कम्पनी, एल्बमहरू प्रकाशन गर्दै जाँदा स्वाभाविक हो कार चढ्न थालेँ, आफ्नै घरमा बस्न थालेँ, अग्रज पत्रकार मणि राणाको आग्रहमा बिबिसीलाई सहयोग गर्थेँ । म रेडियो मा बोलेको सुन्नै नहुने, बिबिसीमा मेरो रिपोर्टिङ सुने ज्वरो आउने, रेडियो नेपालमा मेरो आवाज सुन्यो कि ज्वरो आउने, नेपाल टिभीमा म आयो कि ईर्ष्या गर्ने केही मान्छेहरू किन हो मलाई थाहा छैन सधैँ खुट्टा तान्न लागिरहन्थे । २०४७ सालमा पुरुषोत्तम दाहालले सञ्चालन गर्नुभएको रेडियो नेपालको इतिहास रचेको कार्यक्रम घटना र बिचारका लागि मलाई पुरु दाइले लुम्बिनी अञ्चलभरिको जिम्मेवारी दिनुभएको थियो, म घटना र बिचारमा जब लाइभ बोल्थेँ पुरु दाइ लाई फोन गइहाल्थे रे – किन रामप्रसाद खनाललाई रेडियो नेपालमा राखेको भनेर । दाइले अहिले पनि सम्झनुहुन्छ ती दिन । वहाँ भन्नुहुन्छ – हाम्रो समाज अचम्मको छ रामप्रसाद भाइ, कोही अगाडि बढेको, प्रगति गरेकोमा आफ्नै निकटहरू निकै ईर्ष्या गर्छन् । खुट्टा तान्छन् । गरी खाएको देख्न चाहन्नन् ।

हुन त सतीले श्राप गरेको देश हो हाम्रो देश । यहाँ राम्रो कुरा गर्नै हुन्न । मान्छे लाई जिउँदै मारिन्छ यहाँ काल्पनिक कुरा गरेर । कसैले कसैलाई आरोप लगाउँदैमा, फेसबुकमा लेख्दैमा, शेयर गर्दैमा दोषी हुने भए नेपालमा को नै बाँकी रहन्थे होला र ! कठै हल्लै हल्लाको समाज हाम्रो, हावादारी समाचारको बाढी, कौवाले कान लाग्यो भने कान नछामेर कौवाका पछाडि दौडिने हामी । म आफै पत्रकारिता गर्ने मान्छेलाई, रबीन्द्र मिश्र, रवि लामिछाने जस्ता पत्रकारहरू जसको मुख कलम सबै चल्छ र त चरित्र हत्या गरेर यसरी जिउँदै मार्ने प्रयास गर्ने देशमा अरू सर्वसाधारण को के हबिगत भएको होला । न सत्य बुझ्नु छ, न भेरी फाइ गर्नु छ, अनि अनलाइनमा हाल्यो फेसबुकमा शेयर गर्‍यो ।

चरित्र हत्या गरेर के नै पाउँछन् होला ! अरूको चरित्र हत्या गरेर आनन्द आउने हरूलाई मेरो भन्नु केही छैन । अरे अरे का भरमा पुरै झुट कुरा सम्प्रेषण गर्न, आफ्ना नेता र दलको चाकडी बजाउन उद्यत उद्दण्डहरूलाई अरू केनै भन्न सक्छु र ? के नै गर्न सक्छु र ! तर यति अवश्य भन्छु चुनौतीका साथ – मैले मेरो देशको, त्यो माटोको अहित हुने गरी, आफ्नो फाइदा हेरी कुनै त्यस्तो नाजायज अपराधपूर्ण कर्म गरेको छु भने, नेपाल आमाको चिर हरणमा कहिल्यै समावेश भएको छु भने, राज्य दोहन गरेर कुनै व्यक्तिगत लाभ उठाएको छु वा कुनै अपराध गरेको छु भने, कसैलाई मारेको छु भने प्रमाणित गर म हाँसी हाँसी फाँसी चढ्न तयार छु । जस्तो सुकै सजाय भोग्न तयार छु । बाध्यता र विवशताले हाल विदेशमा भए पनि कुनै राष्ट्रघाती, भ्रष्ट, बेइमान नेता वा दल वा व्यक्ति, समूहको चाकडी गरेर आज सम्म खानु परेको पनि छैन. खाने पनि छैन । नङ्ग्रा खियाएर जिन्दगी जिएको छु त्यसमा आफूले आफै प्रति गर्व गर्छु । अपराधीहरूसँग कहिल्यै पनि ज्यू हजुर गर्न जाने पनि छैन यो मेरो प्रतिबद्धता हो, मेरो चरित्र हत्या गर्न खोज्नेहरूलाई चेतना भया !