अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२७ | Colorodo: 17:42

पी. एच्. डी. को अर्थ

पेशल आचार्य २०७७ वैशाख २६ गते २१:१६ मा प्रकाशित

कविता

एक जमाना थियो
हजुर बाहरू भन्ने गर्थे –
‘पढी गुनी कौनै काम, हलो जोती खायो माम’
घुमिफिरी फेरि सोही युग आउने’भो
खेतीपाती अब ‘सेलिब्रेटी’ पेसा बन्ने छाँट देखिँदैछ,

बाहरू भन्नु हुन्थ्यो –
‘उत्तम खेती, मध्यम बेपार र निर्घिणी जागिर’
पृथ्वी गोलो भनेर हामीले स्कुलमा पढ्यौँ
अहिले भोग्ने बेला आउँदै छ,

सानो छोराले एका बिहानै सोध्यो –
‘बाबा, पी.एच्.डी.’ भनेको के हो ?
देशका पी.एच्.डी.धारीहरूको क्षुद्रता देखेर
अमिलो मुख पार्दै मैले छोरालाई भन्दिएँ –
‘पी’ भनेको ‘पढेलेखेको’
‘एच्’ भनेको ‘हल्लुँडे’
र ‘डी’ भनेको ‘डाक्टर’ भन्दछन् यहाँ,

छोराले फेरि सोध्यो
‘यो उत्तर डा.बाबुराम र डा.युवराजलाई हेरेर बनाको हो, बाबा ?
ठिक यतिखेर भने
मसँग मिल्ने उत्तर नै थिएन ।