अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४० | Colorodo: 04:55

विदेशमा रहनुभएका नेपालीलाई डा. रवीन्द्र पाण्डेको सुझाव

डा. रवीन्द्र पाण्डे २०७६ चैत २६ गते २३:३२ मा प्रकाशित

अहिले तपाईँहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्र प्रेम, संस्कृति प्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक विपत्तिमा पुर्‍याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहे पनि मन नेपालमै रहेको हामी सबैले महसुस गरेका छौँ |

तपाइहरूको पसिनाले प्राप्त रेमिट्यांसले देश चलेको तथ्य हामीले बुझेका छौँ। आवश्यक परे राज्यले यहाँहरू सबैलाई स्वदेश ल्याउन सक्नुपर्छ। राज्य चाहिने यस्तै सङ्कटको समयमा हो।

आफू बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो सङ्क्रमितको सङ्ख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो हामीले अनुमान गर्न सक्छौँ | यस्तो बेला यहाँहरूले दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरी छ | हाम्रो सानो हेल्चेक्र्यांइले आफ्नो तथा परिवारको स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ | तसर्थ फुकी फुकी पाइला चाल्नु अत्यावश्यक छ |
यस्तो बेला शारीरिक, मानसिक तथा आध्यात्मिक स्वास्थ्य बलियो बनाउन सम्भव भएका यी उपायहरू आजदेखि नै अपनाउनुहुन विनम्र अनुरोध गर्दछु |

– रोगसँग लड्ने इम्युनिटी पावर बढाउनको लागि सुपर हर्ब जस्तै मोरिंगा, गानोडर्मा, जिन्सेन, जिंकोबाइलोबा, यार्सागुम्बामध्ये जे जे पाउनुहुन्छ, अनलाइन खरिद गरेर नियमित सेवन गर्नुहोला |

– Vitamin C, B6, B12, E Zinc भएको Multi Vitamin तथा fish Oil नियमित सेवन गर्नुहोला | यसले तपाईँको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै भाइरसको Mulltiplication लाई रोक्न मद्दत गर्दछ |

– चिनियाहरुले अपनाएको विधि तातोपानी दिनमा ५-६ गिलास पिउने, दिनमा १-२ पटक पानीको बाफ लिने, सुप खाइरहने गर्नुहोला |

– खानामा नेपाली मसलाका अत्यधिक Variety प्रयोग गर्नुहोला | जस्तै : लसुन, प्याज, बेसार, मरीच आदि ||

– सागसब्जी तथा फलफूल नियमित सेवन गर्नुहोला |

– घरभित्र हल्का व्यायाम, योग तथा ध्यान गर्नुहोला |

– दैनिक डायरी लेख्ने बानी गर्नुहोला |

– कमेडी सो, फिल्म, पुस्तक, Motivational Speech तथा पारिवारिक माहौलमा कोरोना कहर व्यवस्थापन गर्नुहोला | सामाजिक सञ्जालले चिन्ता बढाउने काम गर्छ | तसर्थ यसको प्रयोग एकदम कम गर्नुहोला |

– रातमा ७-८ घण्टा र दिनमा १ घण्टा सुत्ने गर्नुहोला |

– तनाव, चिन्ता तथा पीरलर इम्युनिटी पावर घटाउँछ | तसर्थ आत्मबलको प्रवर्धन गर्न मनोरञ्जन गर्नुहोला |
– घरमै ब्लड प्रेसर तथा Blood Glucose हेर्दै गर्नुहोला | ( BP Set तथा Glucometer बाट ) ||
– नियमित औषधिसेवीहरुले औषधि नछोड्नुहोला |

– काम तथा व्यवसायमा बेहोर्नुपरेको घाटाको चिन्ता नलिनुहोला | हामी स्वस्थ रह्यौँ भने मेहनत गरेर त्यो खाडल पुर्न सक्नेछौँ |
– सामान्य रुघाखोकीसँग डर नमान्नुहोला |
– नेपालीहरू फोन / इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहनुहोला | यसले आत्मबल बढाउनेछ |
– अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौँ |
– तपाईँहरू नेपालभन्दा अत्यधिक सुविधा सम्पन्न देशको स्वास्थ्य सेवामा हुनुहुन्छ | तसर्थ संक्रमण भइहाले पनि डर मान्नुपर्दैन |

तपाईँहरू एक्लै हुनुहुन्न | हामी ३ करोड नेपाली, मातृभूमि नेपाल, आराध्य देव पशुपतिनाथ, स्वयम्भूनाथ तथा शक्तिपीठहरु तपाइहरूसँग छौँ / छन् | हरेक देशका नागरिकको आन्तरिक शक्ति फरक फरक हुन्छ | हामी सबैको आन्तरिक शक्ति पनि फरक फरक हुन्छ | हाम्रो तुलना अरूसँग हुँदैन | तसर्थ आफ्नो शक्ति र स्वास्थ्यमा विश्वास गर्नुहोला |
यहाँहरूको जीवन सुन्दर, सुरक्षित रहोस् |

विनीत
डा. रवीन्द्र पाण्डे

 

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको फेसबुकबाट

सम्बन्धित सामग्रीहरू