अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४१ | Colorodo: 04:56

लकडाउनको मोडेल फेर्ने कि ?

डा. रवीन्द्र पाण्डे २०७७ वैशाख ७ गते ९:५६ मा प्रकाशित

सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून सङ्ख्यामा सीमित रहेको छ । लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आवश्यक छ ।

– बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भिडभाड हुने समय हो । तसर्थ दिउँसो १२- २ बजेसम्म स्थानीय पसल खोल्ने एवम् बिहान / बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ ।

– लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठुलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परीक्षण गर्ने, शङ्कास्पद ठाउँ सिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शङ्कास्पद ठाउँमा तार बार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ वर्ष पुगे खाद्य पदार्थ र औषधि स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरी छ ।

– छिमेकी देश भारतमा जुन – जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना सङ्क्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ वैशाख १५ गतेपछि १ महिना सेमी लकडाउन गर्नु उपयुक्त देखिन्छ । वैशाख १५ पछि हट स्पट सिल गर्ने, सुरक्षित ठाउँमा अत्यावश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परीक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने ( आवासीय व्यवस्था सहित ), स्कुल / क्याम्पस / रेस्टुरेन्ट / सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना सङ्क्रमण जाँच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ‘ उत्पादन अभियान ‘ चलाउने आदि गर्नु व्यवहारिक हुन्छ । जुन बेला सङ्क्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ ।

– सिमाना पूर्ण सिल गर्ने तथा आन्तरिक नाका लक गरेर सीमित क्षेत्र सञ्चालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ, उद्योग सुचारु हुनेछन् ।

– आगामी १-२ वर्षसम्म कोरोना सङ्क्रमण केही न केही रूपमा विश्वमा रहिरहन्छ । खोपको व्यापक प्रयोगपछि मात्र यो पूर्ण रूपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना सङ्क्रमण नेगेटिभले काम गर्ने, पोजेटिभ आइसोलेसनमा बस्ने , जोखिम वर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवाबर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ ।

– अहिले कोरोना सङ्क्रमण सामान्य भएको समयमा समय, PPE / N ९५ मास्क/ भाइजर / ग्लोभ्स आदि नाश नगर्ने, पछिको लागि जगेडा राख्ने, आइसियुको क्षमता बढाउने, भेन्टिलेटरको सङ्ख्या अहिलेको १० गुणा बढाउने, आइसियु तथा भेन्टिलेटर सञ्चालन गर्ने तालिम दिलाउने, दात्रु राष्ट्रहरूबाट औषधि उपकरण तथा प्रविधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ ।

– कोरोना सङ्क्रमणको मनोवैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने । कोरोना सङ्क्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सूचित गराउने आदि गर्न सकिन्छ ।
– भ्रष्ट्राचारी, कमिसन खोर तथा कालोबजारीलाई आफ्नो / अर्को नभनी धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ ।

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको फेसबुकबाट

सम्बन्धित सामग्रीहरू