अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:१८ | Colorodo: 00:33

यी घरेलु उपाय र आत्मबलले कोरोना सङ्क्रमणको खतराबाट बचाउँछन्

डा. रवीन्द्र पाण्डे २०७६ चैत २८ गते ११:१९ मा प्रकाशित

कोरोना भाइरस नाक, मुख, आँखाबाट शरीरमा प्रवेश गरेपछि घाँटी, श्वास नली हुँदै फोक्सोमा पुग्दछ । फोक्सोको कोषमा पुगेपछि भाइरस गुणा हुँदै ठुलो सङ्ख्यामा रहन्छ । उक्त भाइरसलाई शरीरले बाहिर निकाल्नको लागि प्रयत्न गर्दा फोक्सोमा कोष सुन्निन्छन् । त्यो विजातीय भाइरसलाई शरीर बाहिर निकाल्नको लागि बिरामीलाई खोकी लागिरहन्छ । सुन्निएका कोषहरूलाई भाइरसले क्षति गर्दै जान्छ ।

ती सुन्निएका तथा सङ्क्रमित कोषको समूह Alveoli मा संक्रमण भएपछि फोक्सोमा पानी तथा पीप भरिँदै जान्छ । त्यसपछि श्वासप्रश्वासको प्रक्रिया अवरुद्ध हुनुको साथै अक्सिजन तथा कार्बन डाइअक्साइडको संचरणलाई क्षति गर्दछ, रोक्दछ । अक्सिजन सप्लाई अवरुद्ध भएपछि मिर्गौला, मुटु, मस्तिष्क लगायत अङ्ग फेलर हुन्छन् । त्यसपछि बिरामीको मृत्यु हुन्छ ।

अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना सङ्क्रमणको कारण हरेक देशमा औषधि उपकरण, आइसीयु, भेन्टिलेटर तथा स्वास्थ्य कर्मीको चरम अभाव छ । एकै पटक सबै देशमा उही रोग फैलिएकोले एउटा देशले अर्को देशलाई सहयोग गर्न समस्या छ । यस्तो अवस्थामा हामी आफैले सतर्कता अपनाउनुको विकल्प छैन ।

यसको लागि संक्रमण रोक्नु हाम्रो प्राथमिक दायित्व हो । सङ्क्रमित भइयो भने त्यसलाई निमोनिया हुनबाट रोक्नु अर्को दायित्व हो । अन्तर्राष्ट्रिय रूपमा अभ्यासमा आएको तथा हाम्रो पूर्वीय सभ्यता अनुसार इम्युनिटी पावर बढाउनको लागि यी उपायहरू प्रभावकारी छन् । नेपालीहरू अन्य देशका नागरिकको तुलनामा संक्रमणबाट धेरै सुरक्षित हुनाको कारण हाम्रो जीवनशैली तथा खानपिन नै हो । कोरोना संक्रमणबाट बचनको लागि तल उल्लेखित विधिहरू अपनाउनुहोला ।

बेसार तथा अदुवाको सेवन:
बेसार तथा अदुवाले हाम्रो साइनस तथा घाँटीमा सुन्निने तथा संक्रमण हुने प्रक्रियालाई रोक्दछ । अदुवा र बेसारले संक्रमण बिस्तार हुने प्रक्रियालाई पनि रोक्दछन् ।

नुन पानीको कुल्ला:
छिटो आराम महसुस गर्नको लागि नुन पानीको कुल्ला निकै प्रभावकारी हुन्छ । श्वासप्रश्वास मार्गमा रहेका म्युकस, पीप तथा अन्य तरल पदार्थले खोकी लाग्ने, घाँटी चिलाउने तथा सास फेर्न गाह्रो हुने हुन्छ । नुन पानीले संक्रामक कीटाणु नष्ट गर्ने, मृत कोष तथा तरल पदार्थलाई निकाल्ने काम गर्दछ ।

चिया तथा कफी सेवन:
तातो चिया तथा कफी सेवनले मुड फ्रेस हुनुको साथै श्वास मार्गलाई क्लियर गर्ने काम गर्दछ । चिया तथा कफीमा पाइने क्याफिनले स्वाशनलीलाई फराकिलो गर्ने औषधिले जस्तै काम गर्दछ । जसले गर्दा सास फेर्न सजिलो हुन्छ ।

प्रशस्त झोलिलो पदार्थको सेवन:
श्वासप्रश्वासको समस्या भएको व्यक्तिलाई पानी तथा अन्य झोलिलो पदार्थ नियमित सेवन गर्नाले शरीरमा आवश्यक पानीको मात्रा पुरा गर्दछ । यसले सुन्निने तथा फोक्सोमा पोल्ने प्रक्रियालाई निको गर्दछ । ताजा फलफूलको रस जस्तै सुन्तला, किवी, खर्बुजा आदि एन्टी अक्सिडेन्ट हुन्छन् जसले हाम्रा कोषलाई पुनर्ताजगी गर्छन् ।

मेथीको प्रयोग:
मेथीको प्रयोगले निमोनिया लगायत छालाको रोगमा फाइदा हुन्छ । मेथीमा प्रशस्त फाइबर, म्याग्नेसियम, प्रोटिन तथा म्याग्निज हुन्छ । यसले श्वासप्रश्वास रोग निको गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । मेथीलाई तरकारीमा राखेर वा चियाको रूपमा वा भिजाएर काँचै खान पनि सकिन्छ । मेथीको साग झन् गुणकारी हुन्छ ।

तातोपानीको स्नान:
तातोपानीले दैनिक स्नान गर्नाले शरीरका छिद्रमा रहेका कीटाणु नष्ट हुन्छन् । रोमकुपमा रहेको संक्रमण निको हुन्छ । साथै तातोपानीले भिजाएको टावेलले शरीर सफा गर्नाले शरीरको तापक्रम पनि सन्तुलित हुन्छ । स्नानपछि अनुभव हुने भावले मन प्रसन्न हुन्छ ।

तातो सुप तथा खाना:
विभिन्न तरकारी, दाल, गेडागुडी तथा चिया कफीको सेवनले श्वासप्रश्वास सम्बन्धित समस्यामा निकै फाइदा गर्छ ।यसले रुघा, खोकी, ज्वरो, छाती दुख्ने आदि समस्यामा फाइदा गर्छ । तातो तथा ताजा खाना सङ्क्रमणरहित हुन्छ । तसर्थ प्रत्येक छाक ताजा र तातो खानु जरुरी छ ।

हर्बल टि:
हर्बल चियाले रोगको संसारसँग लड्न ठुलो मद्दत गर्दछ । निमोनिया, एलर्जी तथा विभिन्न श्वासप्रश्वास रोगहरू निको गर्न हर्बल चिया चमत्कारिक मानिन्छ । हर्बल चियाले इम्युनिटी पावर बढाउन ठुलो भूमिका खेल्दछ । यसले मन तथा मस्तिष्कलाई ऊर्जाशील बनाउँछ ।
निमोनिया यस्तो रोग हो यसले विश्वभरमा वार्षिक ४५० मिलियन मान्छेलाई लाग्दछ ।

प्याज, लसुन, ज्वानो, मह, टिमुर, मरीच, दालचिनी, पुदिना, धनियाँ, बोझो आदिको नियमित प्रयोगले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यी मसलाहरूमा श्वासप्रश्वास मार्गलाई खुकुलो तथा क्लियर बनाउँछन् । भाइरसबिरुद्ध लड्ने इन्जाइम वृद्धि गर्दछन् ।

प्राणायाम:
श्वासप्रश्वास व्यायाम अर्थात् प्राणायामले नाक, मुख तथा घाँटीमा रहेको अवरुद्ध हटाउँछ । यसले इम्युनिटी पावर बढाउँछ । शरीरमा रहेका टक्सिन हटाउँछ, शरीरमा प्रचुर अक्सिजन आपूर्ति गर्छ, तनाव हटाउँछ, तौल घटाउँछ, पाचन शक्ति बढाउँछ, मुटुको रोगबाट बचाउँछ ।

सुर्यस्नान:
दैनिक ३० मिनेट घाम ताप्ने गर्दा छाला, कपाल, कपडा आदिमा भएका कीटाणु नष्ट हुन्छन् । घाम ताप्नाले शरीरमा भिटामिन डी प्राप्त हुन्छ । भिटामिन डी ले हाड मजबुत बनाउँछ, इम्युनिटी पावर बढाउँछ । पर्याप्त सुत्ने, पोसिलो खाना खाने, स्वस्थ वातावरणमा बस्ने, चुरोट नखाने लगायतका अभ्यासले श्वासप्रश्वासका रोग लाग्नबाट बचाउँछ ।

चिन्ता, तनाव, अधैर्यता, डर तथा आत्तिने बानीले रोगसँग लड्ने क्षमता घटाउँछ । तसर्थ दैनिक यति लाख सङ्क्रमित भए वा यति व्यक्तिको मृत्यु भयो भनेर आत्तिनु आवश्यक छैन । उदाहरणको लागि १ लाख जनसङ्ख्या भएको कुनै बस्तीमा ६० हजार व्यक्ति सङ्क्रमित भएमा बाँकी ४० हजार व्यक्ति अटो इम्युन हुन सक्छन् । अर्थात् सङ्क्रमित नभईकन रोगसँग लड्ने क्षमताको विकास हुन्छ । ती ६० हजार सङ्क्रमित मध्ये ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर आफै निको हुन्छन् । बाँकी १५ % मध्ये आधा बिरामी अस्पताल भर्ना भएर सामान्य उपचारले निको हुन्छन् । बाँकी आधा सङ्क्रमितलाई आइसियुमा राखेर उपचार गर्नुपर्ने हुन्छ । आइसियुमा रहेका ती बिरामी मध्ये आधालाई सन्चो हुन्छ । त्यो एक लाख जनसङ्ख्या भएको बस्तीमा यसरी मृत्यु हुने २ -३ हजार हुन सक्छन् । त्यो २-३ हजारमा अधिकांश ८० वर्ष नाघेका, किड्नीको समस्या, मुटुको समस्या, क्यान्सर, अङ्ग प्रत्यारोपण गरेका, एचआइभी एड्सको औषधिले काम गर्न छोडेका, स्वाश्प्रश्वासका दीर्घ बिरामी तथा इम्युनोसप्रेसान्ट व्यक्ति हुनेछन् ।

त्यसैले किन डर मान्ने ? सतर्क रहौँ, सुरक्षित बसौँ …. डाटा हेरेर डर नमानौँ । त्यो क्षेत्रमा 95 % व्यक्तिको निधन भयो भने हामी ५ % मा पर्छौँ भनेर आफ्नो इम्युनिटी पावरमाथि विश्वास गरौँ । प्रत्येक मान्छे हेर्दा उस्तै भए पनि नितान्त फरक क्षमताका हुन्छन् । त्यसैले मलाइ केही हुँदैन, मेरो परिवारलाई केही हुँदैन, मेरा आफन्तलाई केही हुँदैन भनेर आत्मबल बलियो बनाऔँ । आत्मबल सामु क्यान्सर त पराजित हुन्छ भने यो कोरोना भाइरसको के नै लाग्ला र ?

सम्बन्धित सामग्रीहरू