अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१९ | Colorodo: 01:34

नेपाल-कतारबीच उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोग गर्ने समझदारी

बिआरटीनेपाल २०८१ वैशाख १२ गते ७:५८ मा प्रकाशित

नेपाल र कतार राज्य सरकारबीच शिक्षा, उच्च शिक्षा र वैज्ञानिक अनुसन्धानको क्षेत्रमा सहयोगका लागि समझदारी भएको छ । बुधबार काठमाडौंको एक होटलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भएको भेटवार्तापछि दुई सरकारबीच सहमति भएको हो । दुई सरकारबीच नेपाल सरकार र कतार राज्य सरकारबीच युवा र खेलकुद क्षेत्रमा सहयोग सम्बन्धी समझदारी भएको छ । त्यस्तै नेपालको महान्यायाधिवक्ताको कार्यालय र कतार राज्यको सार्वजनिक अभियोजन पक्षबीच सहकार्यको समझदारी भएको छ ।

नेपाल सरकारको परराष्ट्र मामिला संस्थान र कतार राज्य सरकारको परराष्ट्र मन्त्रालयको कुटनीतिक संस्थानबीच कुटनीतिक तालिम र शिक्षाको क्षेत्रमा सहयोग गर्ने समझदारी पनि भएको छ । त्यस्तै, राष्ट्रिय समाचार एजेन्सी, नेपाल (रासस) र कतार समाचार एजेन्सी (क्युएनए) बीच सहयोग र समाचार आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । त्यस्तै नेपाल र कतारबीच कला संस्कृतिसंरक्षण एवं उन्नयनको क्षेत्रमा पनि सहकार्य गर्ने समझदारी भएको छ । सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले हस्ताक्षर गर्नुभएको छ ।

निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्सका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू