अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

आऊ सम्बन्ध विच्छेद गरौँ

शान्तिराम ढकाल २०७६ माघ १३ गते १२:१५ मा प्रकाशित

छोरो चिच्यायो
टाई खोइ आमा
जुत्ता कता छ बाबा
स्कुल लाग्ने बेला भइसक्यो

ढिलो हुन्छ सरले कुखुरो बनाउनु हुन्छ
खोजी दिनुस् ढिलो भो
उसकी आमा हस्यॉंग फस्यॉगमा छिन
एउटा हातमा जुत्ता एउटामा टिफिन बक्स

कति व्यस्त मेरो घर छोरो स्कुल नजाउन्जेल
बोल्न पॉंइदैन अरू कुरा गर्न पॉंइदैन
बोर्डिङ फोवियाले रित्तयाएको मेरो घर
सपनामा डाक्टर इन्जिनियर बुनेको मेरो घर

महिना भरिको तलबले नपुगेर वर्षै पिच्छे ऋण थपिँदै छ
सानो कोठेवारिमा उभिएको ऋणले पुरिएको मेरो घर
साहुकोमा साइनो साट्नै लागेको छ
त्यो घर र मेरो सम्बन्धमा पारपाचुके हुनै ऑंटेको छ

बिचरो त्यो जग्गा बिचरो म र बिचरी मेरी स्वास्नी
घरको सम्बन्धसँग छोड पत्र मालपोतमा हुँदै छ
मॉंया लागेको छ के गर्नु यतिका वर्ष ओत दियो
दया लागेको छ के गर्नु यतिका वर्ष सिँगार गरियो

छानु चुहुँदा छानु फेरियो
दलिन भॉंचिदा काम्रो बॉंधेर भए पनि
नयाँ जोडियो
जे होस अब तिम्रो मेरो

सम्बन्ध बिछोडको निश्चितता आइसकेको छ
घरमा दवाइमुलोमा
तिमीलाई देखाएर उपचार गराएँ
व्याज बढ्यो

तिमीलाई देखाएर त्यसैलाई सॉंवा बनाएँ
तिमी खुम्चिँदै गयौ म रित्तिँदै गएँ
साहुले तिम्रो मेरो पारपाचुकेमा अर्जी हालेको छ
अब निश्चित भो तिम्रो र मेरो सम्बन्ध विच्छेद हुनेछ

राम्री भएर बस्नु राम्ररी बस्नु
मेरो सिँगार पटारले थेग्न सकेन
किनकि मैले टेढो बाटो टेक्न सकिन
बेइमानीमा सम्झौता गर्न सकिन

चोर बाटो हिँड्न मानिन
मेरो मायालु घर
तिमीलाई अङ्गाल्न अब शक्तै सकिन
मैले अर्कै ओत लाग्न पर्छ
आऊ सम्बन्ध विच्छेद गरौँ ।।

प्रतिक्रिया