अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

नर्थ क्यारोलाइनामा महाकवि देवकोटा जयन्ती सम्पन्न

ऋषि बस्ताकोटी २०७६ कार्तिक ११ गते १०:३८ मा प्रकाशित

नर्थक्याराेलाइना माेरिस्भिल अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टर तथा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको आयोजना तथा वरिष्ठ साहित्यकार शैलेन्द्र साकारको प्रमुख आतिथ्यमा महाकवि देवकोटाको १११ औँ जन्म जयन्ती सम्पन्न भयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टरका अध्यक्ष शिखर दुलालको अध्यक्षता र च्याप्टरका उपाध्यक्ष शिशिर खनालको उद्घोषणमा सञ्चालन गरिएको कार्यक्रममा संस्थाकी महासचिव निर्मला राजभण्डारीले उपस्थित सबैलाई स्वागत गर्नुभएकाले थियो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले पानस प्रज्वलन गरी सुरु गर्नुभएको कार्यक्रममा उपस्थित अतिथिहरूले देवकाेटकाे तस्बिरमा फुलमाला अर्पण गर्नु भएको थियो ।

साहित्यकार डा. हरिहर भट्टराईले देवकोटाको साहित्यिक योगदान र लोकप्रियताको चर्चा गर्दै हरेक विधामा उहाँको उत्तिकै उत्कृष्ट योगदान रहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्थक्याराेलाइना च्याप्टरका सल्लाहकार ईश्वर देवकोटाले महाकवि देवकोटाको व्यक्तित्वबारे प्रकाश पार्दै महाकवि देवकोटा नेपाली साहित्यका विशाल समुद्रै रहेको र उनको योगदानको बयान जति गरे पनि छोटो र अपूर्ण हुने भन्दै देवकोटाजस्ता महान् व्यक्तिको सम्झना गर्दै यसरी प्रवासमा जयन्ती मनाउनु वहाँप्रति सम्मान भएको प्रस्ट्याउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि शैलेन्द्र साकारले देवकोटा साहित्यका एक एैश्वर्य वरदान प्राप्त व्यक्तित्व हुनुहुन्थ्यो, वहाकाे स्थान लिन सक्ने साहित्यकार नेपाली साहित्यले अहिलेसम्म कोही नभएको भन्दै उहाँका सिर्जनाहरू नेपाले साहित्यमा अनुरागीहरूको लागि मार्गदर्शक भएको र उहाँका रचनाबाट हामीले धेरै सिक्न सक्ने बताउनुभयो ।

कार्यक्रममा स्थानीय साहित्यकारहरू डा. ठाकुर कार्की, रेवती अधिकारी, रमेश प्रसाद गौतम, विक्रम गौतम, शिशिर खनाल, डा. ऋषि बस्ताकोटी, नम्रता गुरागाई, निर्मला राजभण्डारी, आरती तिमल्सेना, भीमसेन बस्नेत र नेपालबाट अमेरिका भ्रमणमा रहनुभएका साहित्यकार रमेश प्रसाद गौतम लगायतले आ-आफ्ना आफ्ना कविता पाठ गर्नु भएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथि शैलेन्द्र सकारले कार्यक्रममा विविध खालका बान्की बोकेका रचनाहरू सुन्न पाएको र भ्रमणको क्रममा नर्थ क्यारोलाइना आइ यहाँका साहित्यिक जमातसँग अन्तरक्रिया गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफ्ना केही छानिएका कविताहरू सुनाउनु भएको थियो ।

कार्यक्रममा विरोध तिम्सिनाले महाकवि देवकोटाकै “कुन मन्दिरमा जान्छौ यात्री” गीत गाएर सबैलाई मन्त्रमुग्ध पार्नुभएको थियो । कार्यक्रममा नर्थ क्यारोलाइनाका नेपाली स्कुलका विद्यार्थीहरूले देउसी-भैलाेले उपस्थित सबैमा तिहारको याद दिलाएका थिए । अन्तमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति शिखर दुलालले कार्यक्रम कार्यक्रम सफल बनाउन सहयोग गर्ने र उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

सम्बन्धित समाचार

न्यूह्यामसायरमा १११ औँ लक्ष्मी जयन्ती तथा संस्थाको छैटौँ साधारण सभा सम्पन्न