अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३६ | Colorodo: 06:51

कोलोराडोमा नेपाली नयाँ वर्ष कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०८२ वैशाख १५ गते २१:३१ मा प्रकाशित

कोलोराडो । कोलोराडोस्थित नेपालीहरूको पुरानो संस्था रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालको आयोजनामा गत शनिवार नेपाली नयाँ वर्ष कार्यक्रम सम्पन्न गरेको छ । रक्की माउन्टेन फ्रेण्डस् अफ नेपालले नेपाली नयाँ वर्षको कार्यक्रम हरेक वर्ष विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गर्दछ ।

संस्थाकी नवनिर्वाचित अध्यक्ष आकृति राई अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा निवर्तमान अध्यक्ष अर्जुन बगालेले स्वागत मन्तव्यबाट कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी, अतिथिहरूलाई स्वागत गरेका थिए ।

समाजसेवी डा. विजयराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमको पहिलो चरणमा रक्की माउन्टेन फ्रेण्डस अफ नेपालबाट यसको इतिहाससमेत झल्कने गरी प्रकाशित रक्की माउन्टेन फ्रेण्डस अफ नेपालको विकास र विरासत (Evolution and Legacy of Rocky Mountain Friends of Nepal) को विमोचन गरिएको थियो । उक्त पुस्तक साहित्यकार पदम विश्वकर्माको प्रधान सम्पादकत्वमा अर्जुन बगाले, रमेश दाहाल, रोहिणी शर्मा, निलम श्रेष्ठ, टीका पौडेल, विनोद त्रिपाठी र राजु सिटौला सम्पादक समूह रहेको र नारायण श्रेष्ठ, डा. विजयराज शर्मा र नवीन दत्त सल्लाहकार रहेको प्रकाशन समितिले प्रकाशन कार्य गरेको थियो । उक्त अवसरमा डा. विजयराज शर्मा, कानुनविद् वासु फुलारा, पदम विश्वकर्मा, रोहिणी शर्मा, अर्जुन बगाले, आकृति राई, राजु सिटौलाबाट संयुक्त रूपमा विमोचन गरिएको थियो ।

यसै अवसरमा पुस्तक प्रकाशनमा विशेष योगदान गरे बापत पदम विश्वकर्मा, संस्थागत यागदानका लागि पूर्व अध्यक्ष टीका पौडेल र समाचारहरू प्रकाशनका लागि पत्रकार नातिबाबु भट्टलाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसनबाट डा. शर्माले नयाँ वर्षको शुभकामना तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा कलाकार सम्झना पाण्डेलगायत स्थानीय कलाकारहरू, साना साना भाइबहिनीहरू र लोकगीत गायक विमल डाँगीबाट सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो ।

अनेसास केन्द्रीय कार्यसमितिकी कोषाध्यक्ष तारा अधिकारी र संस्थाका महासचिव तेजप्रसाद ढकालले संयुक्त रूपमा सञ्चालन गरेका उक्त कार्यक्रममा कोलोराडोस्थित नेपाली र विभिन्न संघ संस्थाका पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू