काठमाडौँ । कोलोराडो निवासी उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेद्वारा लिखित उपन्यास नौला शिक्षकहरू आज लोकार्पण गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित लोकार्पण समारोहका प्रमुख अतिथि सम्माननीय पूर्व प्रधान न्यायाधीश श्री कल्याण श्रेष्ठले सो उपन्यास विमोचन गर्नु भएको हो। उक्त समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेको लेखनशैली र भाषिक सीपका बारेमा टिप्पणी गर्दै यो उपन्यास फरक धार र शैलीमा लेखिएको कृतिको रूपमा चित्रण गर्नु भएको थियो । उहाँले पुस्तकमा पूर्वीय दर्शनको गहिरो प्रभाव रहेको र स्थान विशेषको लवजलाई जीवन्त रूपमा प्रस्तुत गरिएको बताउनु भयो।
लोकार्पण समारोहका विशिष्ट अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री गंगा प्रसाद उप्रेतीले उपन्यासकार काफ्लेको व्यक्तित्व र कृतित्वका बारेमा प्रकाश पार्नु भएको थियो । विशिष्ट अतिथि श्री उप्रेतीले कथा र उपन्यासको मिश्रित स्वरुप रहेको यो कृतिलाई लेखकले भने जस्तै कथान्यास भन्न सकिने धारणा राख्नु भएको थियो । प्रस्तुत कृतिमा आत्म अनुभूतिसहितको श्रृंखलाबद्ध कथा उपकथाको संयोजन मार्फत कृतिकारले नयाँ प्रयोग गरेको धारणा राख्नु भएको थियो। नेपालको आख्यान साहित्यमा यो कृति एउटा नौलो प्रयोगको रूपमा रहेको बताउँदै उहाँले फरक शैली र अवधारणाबाट लेखिएको यो उपन्यास समकालीन उपन्यास लेखनको नवीन प्रयोगके रूपमा रहेको बताउनु भयो। जीवन चिन्ने प्रयत्नमा लेखकले आफ्नो संसर्गमा रहेका अनेकौँ गुरुको संगत गरेको देखिएको र कठिन जीवन यापन गर्न विवश भुइँमान्छेलाई समेत गुरुको रूपमा अंगिकार गरी विशिष्ट प्रकारले जीवन दर्शनका बहु आयामिक पक्षलाई उजागर गर्न सफल रहेको टिप्पणी गर्नु भयो ।
पुस्तक प्रकाशक सोपान मासिकका प्रकाशक श्री वासुदेव ढकालले लेखक काफ्लेले १८ वर्ष अघि प्रकाशन संस्थासँग आबद्ध भई गरेको अनुवादको क्रममा गरेको योगदानको स्मरण गर्दै प्रस्तुत कृतिको सफलताको कामना गर्नु भयो । लामो समय विदेशमा रहेर पनि नेपाली भाषा र साहित्यप्रति लेखकले देखाउनु भएको अनुरागको उहाँले प्रशंसा गर्नु भयो ।
उपन्यासकार ज्ञानेन्द्रराज काफ्लेले सतहमा रहेका मानिसदेखि उचाइमा रहेका मानिसहरूले दिएको ज्ञान र चित्रण गरेको जीवन दर्शनलाई प्रस्तुत उपन्यासमा अभिव्यक्त गर्ने प्रयत्न गरेको धारणा राख्नु भयो । जन्म र मृत्युलाई हेर्ने दृष्टिकोण र एउटा जीवन्त मानिसले भोगेका विभिन्न परिवेशका अनुभूतिहरूसँग आबद्ध गरी सतहका मानिसको गाथा अभिव्यक्त गर्ने प्रयत्न गरेको बताउनु भयो । सो क्रममा उहाँले झ्याउरे लयमा मुना मदनको आधुनिक प्यारोडी मार्फत परदेशिनुको पीडा र परदेशमा रहँदाका राम्रा नराम्रा पक्षका बारेमा समेत प्रकाश पार्नु भएको थियो।
लोकार्पण समारोहमा साहित्पपोष्टका प्रधान सम्पादक श्री अश्विनी कोइरालाले लोकार्पण गरिएको कृति नौला शिक्षकहरूको समीक्षात्मक टिप्पणी गर्नु भएको थियो। पुस्तकको आवरणदेखि समावेश भएका अन्तरबस्तुका बारेमा पुस्तक समीक्षाका सबै आयामबाट उहाँले समीक्षा गर्नु भएको थियो ।
कार्यक्रमका सभापति सर्वोच्च अदालतका पूर्व न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडाले उपन्यासकार काफ्लेको लेखकीय व्यक्तित्व र सामाजिक व्यक्तित्वमा भिन्नता रहेको बताउँदै लोकार्पण समारोहका प्रमुख अतिथि र अतिथिबाट व्यक्त भएका मन्तव्यबाट उपन्यासले नयाँ उचाइ प्राप्त गरेको धारणा राख्नु भएको थियो ।
सो कार्यक्रमको सञ्चालन उच्च अदालत पाटनका माननीय न्यायाधीश श्री हेमन्त रावलले गर्नु भएको थियो । सो क्रममा उहाँले लोकार्पण गरिएको कृति एवम् कृतिकारका बारेमा समालोचनात्मक दृष्टिकोणसहितको प्रस्तुति समेत गर्नु भएको थियो । कार्यक्रममा विभिन्न विधाका साहित्यकारहरु एवम् लेखकका सहकर्मी र परिवारका सदस्यहरूको उल्लेख्य संख्यामा उपस्थिति रहेको थियो ।