कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा अग्नि महाकाव्यका लागि मदन पुरस्कार विजेता कवि डा.नवराज लम्सालसँग साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा अनेसासका पूर्व अध्यक्ष गीतकार ज्ञानेन्द्र गदालले डा. लम्सालले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका थिए । यसैक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति तथा पूर्व अध्यक्ष पदम विश्वकर्माले डा. लम्सालको बारेमा चर्चा गरेका थिए । कार्यक्रममा केन्द्रीय कार्यसमितिका महासचिव राजु सिटौला, च्याप्टर अध्यक्ष किरण अधिकारी र बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्माले सम्मान गरेका थिए ।
कार्यक्रममा कर्ण, धरा र अग्नि महाकाव्यका लेखक मदन पुरस्कार विजेता डा. नवराज लम्सालले नेपाली साहित्यका बारेमा, साहित्य लेखनका बारेमा र आफ्ना कृतिका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा अनेसास कोलोराडो शाखाकातर्फबाट डा. लम्सालले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको कदर गर्दै प्रसंसापत्र प्रदान गरिएको थियो । अनेसास केन्द्रीय कार्यसमितिका कोषाध्यक्ष तथा अनेसास कोलोराडो शाखाकी पूर्व अध्यक्ष तारा अधिकारीबाट संचालन भएको सो कार्यक्रममा कोलोराडोस्थित विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
अध्यक्षको आसनबाट अध्यक्ष किरण अधिकारीले कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागी, अतिथि, सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।