अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२९ | Colorodo: 01:44

अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायता सामग्री वितरण

पुष्पा खनाल २०७५ पुष १२ गते २३:२४ मा प्रकाशित

रामेछाप, रामेछाप जिल्लाको रामपुर नगरपालिका वडा नं. ५ र मन्थली नगरपालिका वडा नं. १ का अपाङ्गता भएका व्यक्तिहरूलाई नेपाल रेडक्रस सोसाइटीले १४ प्रकारका ५२ सेट सहायता सामग्री वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीका महामन्त्री रेवरत्न धाख्वाले २९ जना लाभान्वितहरूलाई ती सामग्रीहरू वितरण गर्नुभएको हो ।

भूकम्प प्रतिकार्यमार्फत रामेछाप जिल्लामा सञ्चालित संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमअन्तर्गत अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोगी सामग्री वितरण गरिएको हो ।

भूकम्पबाट प्रभावित अपाङ्गता भएका व्यक्तिहरूको दैनिक जीवन सहज रूपमा यापन गर्न सहयोग पुयोस् भन्ने उद्देश्यले उनीहरूको आवश्यकताका आधारमा सहयोगी सामग्री प्रदान गरेको हो ।

अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचानका लागि यसअघि दुई पटक आवश्यकता छनौट स्वास्थ्य शिविरको आयोजना गरिएको थियो । जसमा हाड जोर्नी, आँखा, नाक, कान, घाँटीलगायत मनोपरामर्श, सामान्य चिकित्सा तथा फिजियोथेरापीसम्बन्धित चिकित्सकहरूले स्वास्थ्य जाँच गरी आवश्यकताको पहिचान गरेर आवश्यक सहयोगी सामग्रीको सिफारिस गर्नुभएको थियो । सोही सिफारिसका आधारमा नेपाल रेडक्रस सोसाइटीले सामग्रीहरू खरिद गरी उपलब्ध गराएको हो । यस कार्यका लागि इम्प्याक्ट नेपाल तथा प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीसँग सहकार्य गरिएको थियो ।

यस्तै रामेछाप जिल्लाको रामपुर ५ मा निर्माण गरिएका बाल, लैङ्गिक तथा अपाङ्गता मैत्री शौचालय पनि आजै विद्यालयलाई हस्तान्तरण गरियो । रामेछाप जिल्लामा नेपाल रेडक्रस सोसाइटीले पाँच वटा यस्ता सार्वजनिक शौचालयहरू निर्माण गरेको छ ।

सोही अवसरमा रामपुरका लक्षित ३१ अति सङ्कटासन्न (एकल महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका र ज्येष्ठ नागरिक जस्ता घरमुली रहेका) परिवारमध्ये हिजो २३ जनालाई नेपाल रेडक्रस सोसाइटीले प्रति परिवार थप ५० हजारका दरले आवास निर्माणका लागि थप सहयोग प्रदान गरेको छ ।

यस्तै रामपुरमा लिफ्टिङ प्रविधिबाट निर्माण गरिएको आइतबारे खानेपानी आयोजनाको पनि महामन्त्रीबाट अवलोकन भ्रमण सम्पन्न भयो । सो खानेपानी आयोजनाको मर्मत सम्भारका लागि उपभोक्ता समितिलाई तालिम प्रदान गरी मर्मत सम्भारका लागि आवश्यक पर्ने सामग्री पनि हस्तान्तरण गरियो ।

संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रमका लागि रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ र अस्टे«लियाली रेडक्रसको आर्थिक सहयोग रहेको छ ।

सम्बन्धित सामग्रीहरू