अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५५ | Colorodo: 17:10

नेपाल स्रष्टा समाजले गर्‍यो साहित्यिक वनभोजको आयोजना

पुष्पा खनाल २०७५ चैत २ गते २०:५१ मा प्रकाशित

काठमाडौँ, नेपाल स्रष्टा समाजले सुकुटेबिच, सुनकोशीमा आज साहित्यिक वनभोजको आयोजना गरेको छ । काठमाडौँको विभिन्न स्थानबाट ४५ जना साहित्यकारहरू वनभोजमा सहभागी भएका थिए । साहित्यकारहरूलाई थोरै भए पनि काठमाडौँको प्रदूषित वातावरणबाट टाढा लगेर साहित्यिक तथा साङ्गीतिक माहौल दिन तथा समाजका सदस्यहरूबिच अन्तरक्रिया गर्न वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष विधान आचार्यले बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि प्रा. राजेन्द्र सुवेदीले भन्नुभयो –“समाजका यस्ता गतिविधिहरूले साहित्यकारहरूलाई आनन्द त प्रदान गर्छ नै साथमा आन्तरिक पर्यटनको वृद्धिमा पनि सहयोग पुग्छ ।”

नेपाल स्रष्टा समाजका गतिविधिहरूको संक्षिप्त जानकारी दिँदै कार्यक्रममा सहभागी सबैलाई धन्यवादका साथ समाजका उपाध्यक्ष प्रा.डा. गोविन्दमानसिंह कार्कीले कार्यक्रमको समापन गर्नुभएको थियो ।

पत्रकार त्रिभुवनचन्द्र वाग्लेले स्रष्टा समाजको आयोजनामा भएको सिर्जनात्मक सुकुटे विशेष कवि गोष्ठीले मित्रता, एकता र सिर्जनाका बारेमा उच्च मार्गदर्शन गरेको बताउनुभयो । 

समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार प्रा. राजेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा आयोजित औपचारिक कार्यक्रममा साहितयकारहरू विधान आचार्य, किशोर पहाडी, लव गाउँले, विजय ध्वज थापा, मधु पाठक, जीवनाथ पोखरेल, गोकुल अधिकारी, दीपेन्द्र जङ्ग थापा, सुमन थापा, त्रिभुवनचन्द्र वाग्ले, लेख जङ्ग खत्री, राजेन्द्र खनाल क्षितिजलगायतले रचना वाचन तथा गीत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा ८५ वर्षीय ज्येष्ठ नागरिक पुष्पप्रसाद लुईटेलको कविता वाचन उत्साहप्रद रह्यो ।

समाजका सल्लाहकारहरू चन्द्रप्रसाद भट्टराई, संरक्षक पवन आलोक, महासचिव पुष्पा खनाललगायत वर्तमान तथा पूर्व कार्यसमितिका अन्य पदाधिकारी, सदस्य तथा आजीवन विशिष्ट तथा विशिष्ट सदस्यहरूको सहभागिता रहेको थियो । त्यस्तै

मधुपर्कका प्रधान सम्पादक जयदेव भट्टराई, बाह्रखरीका राजेश खनाल, राससका तिर्थ भट्टराईको पनि सहभागिता रहेको थियो । त्यस्तै, कार्यक्रममा अमेरिका निवासी साहित्यकार गोविन्द गिरी प्रेरणाको पनि उपस्थिति रहेको थियो ।

वनभोज कार्यक्रमका संयोजक लेख जङ्ग खत्रीले स्रष्टाहरूलाई स्वागत गर्नुभएको थियो । समाजले प्रत्येक वर्ष स्रष्टाहरूमाझ अन्तरक्रिया, छलफलमा साथ साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ वनभोजको आयोजना गर्दै आएको छ ।

नेपाली लगायतका नेपालमा बोलिने भाषा–साहित्यको सिर्जना, संवर्द्धन र विकासमा योगदान पु¥याउने तथा लोकतान्त्रिक नेपालको उन्नयनमा साहित्यका माध्यमबाट रचनात्मक सहयोग पु¥याई नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणसमेत गर्ने उद्देश्यले वि.सं २०६४ पुस १६ गते नेपाल स्रष्टा समाजको स्थापना गरिएको हो । 

सम्बन्धित सामग्रीहरू