अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४७ | Colorodo: 14:02

हामीले पाएको स्वतन्त्रता र अधिकार निगाहबाट प्राप्त भएको होइन : पूर्वराष्ट्रपति भण्डारी

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:३४ मा प्रकाशित

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त नभएको बताउनुभएको छ । बिहीवार ललितपुरमा मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा मनमोहन अधिकारीको २५ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले आजको स्वतन्त्रता मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटबाट पाएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव रहेको उल्लेख गर्नुभयो । उहाँले मनमोहन अधिकारी नेतृत्वको सरकारले अघि सारेका आफ्नो गाउँ आफैँ बनाउँ, ज्येष्ठ नागरिकका लागि वृद्धभत्ता जस्ता लोकप्रिय कार्यक्रमहरुमार्फत कम्युनिष्ट पार्टीले सरकार सञ्चालन गर्दा कसरी लोककल्याणकारी काम गर्दछ भन्ने दृष्टान्त प्रश्तुत गर्न सफल भएको बताउनुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले २०५१ सालबाट शुरु गरेको वृद्धभत्ता दक्षिण एशियामै सामाजिक सुरक्षाको एउटा नमूना कार्यक्रमको रुपमा रहेको जिकिर गर्नुभयो । उहाँले ज्येष्ठ नागरिकहरुको सम्मानमा थालनी गरिएको वृद्धभत्ता कार्यक्रमलाई थप सुदृढ गर्दै वर्तमान नेपालको संविधानले ज्येष्ठ नागरिकका अधिकारलाई मौलिक अधिकारका रुपमा संस्थागत गर्ने काम गरेको बताउनुभयो । आज पनि मनमोहन अधिकारीलाई देशभरका ज्येष्ठ नागरिकहरुले आफ्नो सच्चा मित्र र असल नेताको रुपमा सम्झिने गरेको बताउनुभयो ।

‘मनमोहन अधिकारीको जीवन नयाँ पुस्ताका लागि पढ्नैपर्ने खुला किताव जस्तै छ । आज हामीले उपभोग गरिरहेको स्वतन्त्रता र अधिकार कसैको निगाहबाट प्राप्त भएको होइन । मनमोहन अधिकारी जस्ता पहिलो पुस्ताका नेताहरुको उन्नत स्तरको चेतना, त्याग र अठोटले नै आज हामीले खुला वातावरण पाएका छाँ । स्वतन्त्रता पाएका छाँ ।’ पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो ।

पूर्वराष्ट्रपति भण्डारीले वृद्ध भत्ता दिने कार्यक्रमले ज्येष्ठ नागरिकहरुप्रति राज्य, समाज र परिवारको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र उहाँहरुको आत्मसम्मान बढाउन ठूलो योगदान गर्नुका साथै जीवनयापनमा पनि महत्वपूर्ण सहयोग पु¥याएको दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू