अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक छ : मन्त्री अर्याल

बिआरटीनेपाल २०८१ वैशाख १३ गते ८:०३ मा प्रकाशित

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको राष्ट्रिय विकास परिषद्को बैठकमा बोल्दै श्रम मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । उहाँले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्ने बताउनुभयो । उहाँले गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी भएकाले आर्थिक वृद्धिको गति बढाउने योजना अघि सार्न आवश्यक रहेको बताउनुभयो ।

श्रम मन्त्री अर्यालले एउटा योजनामा सबै समेट्ने कारणले श्रोत छरिन्छ र विकास सम्भव नहुने बताउनुभयो । उहाँले रोजगारमुलक आर्थिक विकासको लागि कृषि र उद्योगको विकास महत्वपूर्ण रहेको जिकिर गर्नुभयो । उहाँले पूर्वाधार विकास, सेवा प्रवाहमा कमजोरी, प्रदेश संसरचना, खर्चमा पुँजीको विषय र संघीयता आइसकेपछि तीन तहकै सरकारलाई संघीयताको विषयमा दिइएको प्रशिक्षणले पनि योजना सफल पार्न भुमिका खेल्ने बताउनुभयो ।

मन्त्री अर्यालले स्वास्थ्य र शिक्षामा गरिरहेका लगानी र प्रतिफलको निर्मम समीक्षा हुन आवश्यक रहेको बताउनुभयो । उहाँले संघीयताको प्रयोग सबै राजनीतिक दल र कर्मचारी तन्त्रमा नयाँ भएकाले बहस गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले सुशासन कायम गर्न र भ्रष्टाचार अन्त्यका लागि निर्मम हुन नसके विकास सम्भव नरहेको बताउनुभयो । उहाँले भ्रष्टाचारको अन्त्य गर्नका लागि राजनीतिक दल, निजी क्षेत्र, कर्मचारीतन्त्र सबै एकजुट भएर लाग्न नसके हामीले बनाउने योजनाहरुले सफलता पाउने कुरामा प्रश्न उठ्ने बताउनुभयो ।

‘हामीले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए, कति के कारणले सफल भएनन् ? भन्ने कुराको निर्मम समीक्षा गर्नुपर्छ, त्यसको निर्मम समीक्षा गर्न सकिएन भने बनाउने योजनाहरुले उपलब्धि दिँदैन । त्यसको समीक्षा १६ औं योजना बनाउँदै गर्दा कति गरियो भन्नेकुरामा योजना आयोगका उपाध्यक्षज्युहरुले राम्रो नै गर्नुभएको होला । हामीले अहिलेसम्म गरेको प्रयास गरिबी निवारणका लागि गरिएको थियो भन्ने देखिन्छ । गरिबी, आम्दानी, शिक्षा, स्वास्थ्य, जीवनस्तर उकास्न सबैको केन्द्रबिन्दु रोजगारी हो । नेपालमा हालसम्म औषत ५ प्रतिशत भन्दा कम आर्थिक वृद्धि छ । आर्थिक वृद्धिको गति बढाउने गरी योजना बन्नुपर्छ ।’ मन्त्री अर्यालले भन्नुभयो ।

मन्त्री अर्यालले योजनाहरु सफल बनाउन कर्मचारीतन्त्रले विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयो । उहाँले कर्मचारी, राजनीतिक नेतृत्व र मन्त्रीहरुबीचमा विश्वासको खाडल परेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू