अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:१४ | Colorodo: 03:29

विद्यालयमा बने बाल, लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय

पुष्पा खनाल २०७५ पुष २१ गते १४:२० मा प्रकाशित

सिन्धुली, नेपाल रेडक्रस सोसाइटीले सिन्धुलीको सुनकोशी गाउँपालिका वार्ड नम्बर ६ का विभिन्न विद्यालयमा बाल, लैङ्गिक तथा अपाङ्ग मैत्री शौचालय निर्माण गरी विद्यालयलाई हस्तान्तरण गरेको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दीपा बोहराको प्रमुख आतिथ्यतामा आज एकै दिन चार वटा यस्ता शौचालयहरूको उद्घाटन र हस्तान्तरण गरिएको हो । 

हिजोका दिनमा लैङ्गिक मैत्री शौचालय नभएकै कारण शिकोरावस्थामा पुगेका छात्राहरूको विद्यालय छोड्ने क्रम अब रोकिने विश्वास गरिएको छ । रजस्वलाको समयमा प्याड फेर्ने र सरसफाइ गर्ने स्थान नहुँदा महिनामा चार/पाँच दिन विद्यालय आउन नपाउने अवस्थाको अन्त्य गरिदिएर निरन्तर शिक्षा लिन पाउने अवस्थाको श्रृजना गरिदिएकोमा विद्यालय परिवार र त्यहाँ अध्ययनरत छात्राहरूले नेपाल रेडक्रसलाई धन्यवाद दिएका छन् ।

गाउँपालिकाका अध्यक्ष बोहराले नेपाल सरकारले गर्नुपर्ने कार्य गरेर सरकारका गतिविधिहरूमा सहयोग पुर्‍याएकोमा स्थानीय सरकार नेपाल रेडक्रसबाट खुसी भएको र विकासका हरेक गतिविधिहरूमा नेपाल रेडक्रससँग स्थानीय सरकारको सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाउनु भएको छ । 

विकासका हरेक क्षेत्रमा सबैको पहुँच र सहभागिता सुनिश्चित हुनुपर्दछ भन्ने राज्यको नीति भए पनि सबै क्षेत्रमा राज्य एक्लैले सुविधा उपलब्ध गराउन सक्दैन । त्यसैले लाभग्राहीको मर्यादालाई ख्याल गर्दै उनीहरूको सहभागिता सुनिश्चित गर्न यस्ता संरचनाहरूको निर्माण पनि एउटा खुड्किलो हुनसक्ने कुरालाई मध्यनजर गरेर नेपाल रेडक्रस सोसाइटीले सार्वजनिक स्थानहरूमा यस्ता संरचनाहरूको निर्माण गरेको हो । रेडक्रसले भूकम्प प्रतिकार्यका कार्यक्रमहरू सञ्चालन गरिरहेको भूकम्प अति प्रभावित १४ वटै जिल्लाहरूमा आवास, खानेपानी, सरसफाइ, स्वास्थ्य, जीविको पार्जनका साथमा सङ्गठन विकास र संरक्षण, लैङ्गिकता तथा समावेशीकरण कार्यक्रम सञ्चालन गरिरहेको छ । सबै क्षेत्रमा संरक्षण, लैङ्गिकता तथा समावेशीकरणको सुनिश्चितताका लागि रेडक्रसले यस्ता गतिविधिहरू गर्दै आएको हो ।

घरघरमा पानी, सुध्रियो सबैको बानी
यस्तै आजकै दिन सबैले असम्भव ठानेका दुई स्थानमा निर्माण गरिएका दुई वटा खानेपानी आयोजनाहरूको गाउँपालिका अध्यक्षबाट उद्घाटन गरी समुदायलाई हस्तान्तरण गरियो ।

जसले गर्दा दिनभर पानीकै लागि धाउनु पर्ने बाध्यता हटेको र घरआँगनमा पानीको धारा आएपछि सरसफाइ मात्र नभई स्वास्थ्यमा समेत प्रत्यक्ष फाइदा पुगेको स्थानीयले बताएका छन् । आँगनमै पानीको धारा आएपछि महिलाहरूका सुखका दिन त सुरु भए नै, बालबालिकाहरूले समेत सरसफाइमा ध्यान दिन थालेको र सबैको बानीमा सुधार आएको स्थानीयले बताए । साथै घरमा प्रयोग गरेको पानीको निकास दिएर करेसाबारीमा समेत आफैँ सागसब्जी र विभिन्न जातका तरकारीहरू उत्पादन हुन थालेपछि गाउँलेहरू पुलकित बनेका हुन् । 

सम्बन्धित सामग्रीहरू