अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५० | Colorodo: 07:05

गणतन्त्र, शीतल निवास र विजयादशमी

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ कार्तिक ६ गते २२:४८ मा प्रकाशित

नेपालमा गणतन्त्र आयो भन्छन् तर मैले अनुभूत गर्न पाएको छैन । मलाई मात्रै थाहा नभाको हो कि भनेर पूर्व मेची देखि पश्चिम महाकाली सम्मका अनेकौँ सर्वसाधारण जनतालाई समेत सोधेँ । उनीहरू पनि पो भन्छन्, “खै । आयो त भन्छन् काठमाण्डू तिर कतै- कतै तर हाम्लाई थाहा भएन, गणतन्त्र देख्या छैन कस्तो हुन्छ ।

सिंहदरबार, शीतल निवास र बालुवाटार तिर त आई पुग्यो रे, हाम्कोमा कहिले आउनि हो कुन्नि, कहिले देख्न पाउनि क्यारी ?”

शीतलनिवासमा कत्तिको शीतल हुन्छ, यो पङ्क्तिकारलाई पनि थाहा छैन किनभने मलाई त्यहाँ जाने कहिल्यै आवश्यकता बोध भएन । किनभने, म साधरणतया आफैँले आफैँलाई शीतलता र आशीर्वाद प्रदान गर्छु । शक्ति केन्द्रहरूमा धाउने र कसैसँग केही कुराको आशा गर्ने प्रवृतिनै कहिल्यै पलाएन । अतः: आर्थिक रूपले म मध्यम वर्गको भएता पनि आध्यात्मिक दृष्टिकोणले सुखी र खुसी छु ।

मलाई त लोकतन्त्र र गणतन्त्र भन्दा पनि प्रजातन्त्रनै मन पर्छ । अशान्तिपूर्ण दरबारहरू भन्दा पनि शान्तिपूर्ण आश्रय र आश्रम हरूनै मन पर्छ । मेरा निम्ति सबै तिथि र मितिहरू प्रिय र सक्रिय छन् । स्वाभिमान बेचेर सस्तो जनप्रियता, ढोँगी स्वभाव र विलासितापूर्ण जीवन व्यतीत गर्न मन पर्दैन/ लाग्दैन । सादा जीवन र उच्च विचार हरूनै मन पर्छ । शक्तिको उपासना तथा आराधना मन पर्दैन ।

कुनै एउटा विशेष दिनलाई अन्य अर्को दिनलाई भन्दा बढी महत्त्व र प्राथमिकता दिँदा पनि मलाई पक्षपात नै गरे जस्तो लाग्छ तर पनि एेतिहासिक तिथि, मिति र सार्वजनिक महत्त्वका दिनहरूलाई मान्नु त पर्योनै । त्यसमा मेरो विमति पटक्कै छैन । ईमानदारीपूर्वक भन्नु पर्दा दसैँ भन्दा मलाई तिहार (दीपावली) प्रिय र रुचिकर लाग्छ । किनभने दशैँले शक्तिको पूजा गर्न र दीपावलीले प्रकाश र ज्योतिको आराधना गर्न सिकाउँछ । मलाई शक्तिको भक्ति गर्न मन लाग्दैन । त्यसैले, देवताका शक्ति पीठ र राजनैतिक शक्ति केन्द्रहरूमा धाउन जाँगर चल्दैन । तर पनि म आस्तिक हुँ । परमात्मा लाई भन्दा स्वविवेक र स्व-आत्मालाई खुसी पार्ने अधिकतम प्रयत्न गर्छु सदा सर्वदा ।

यस पटकको विजयादशमीमा शीतलनिवासमा पनि तातो हावा पो चलेछ । त्यहाँ ठोक्किएको तातो हावा यहाँ अमेरिका सम्म पनि आई पुग्यो निकै वेग र डेगसँग ।

वर्तमान राष्ट्रपति विद्या भण्डारी महाशयालाई म पनि राम्रोसँग चिन्दछु । उहाँ महेन्द्र मोरङ क्याम्पसको विद्यार्थी छँदा अनेरास्ववियूको कोषाध्यक्ष हुनुहुन्थ्यो । म र उहाँ तिनटोलिया स्थित (जय दाहालको घर ) एउटै मकानमा बस्थ्यौँ । उहाँसँग राम्रै चिनजान थियो । विद्या बैनी सङ्गठनप्रेमी, शान्त सरल र सहज प्रकृतिकी हुनुहुन्थ्यो । कुशल संगठक र सरल जीवनशैली भएकी उहाँ साधारण हुनुहुन्थ्यो । तड़क-भड़क विहीन सुशील कन्या हुनुहुन्थ्यो ।

म यता पाताल प्रवेश गरेपछि जननेता मदन भण्डारीसँग बिहे भएछ र अहिले उहाँ गणतान्त्रिक नेपालको राष्ट्रपति पनि हुनु भएको छ ।

यस बखत म नेपालको तथाकथित गणतन्त्र, शीतलनिवासमा अधीनस्थ राष्ट्रपति विद्यादेवी भण्डारी र यसपालिको विजयादशमी लाई त्रिकोणात्मक रूपमा एकैसंग एउटै तराज़ूमा राखेर हेरी रहँदा भयङ्कर असन्तुलन देखि रहेको छु । मैले एक अर्कासँग कुनै सम्बन्ध देखि रहेको छैन र घोत्लिरहेको छु यी विषय हरूलाई केलाउन नसकेर । किन होला ?

असत्य माथि सत्यको विजय भएको शुभदिनको अवसरमा घटस्थापना देखि नव रात्रि सम्म गरिने पूजा-आजको अवधिलाई दशैँपर्व ( चाड ) को रूपमा अति प्राचीन काल देखि परम्परागत रूपमा मनाउँदै आउने चलन संसारभरिका हिन्दु धर्मावलम्बी हरूमा ( विशेष गरी नेपाली हरूमा ) अद्यपरिमित विद्यमान छ । चाड- पर्व हरूलाई धर्म र संस्कृतिका रूपमा जोगाई राख्नु एउटा राष्ट्र र जातिलाई जीवन्त राख्नु पनि हो ।

हुन त, कसैलाई कसैले श्रद्धा गर्नु, उब्बिएर/बसेर/ निहुरिएर/ घुँडा टेकेर दसैँको टीका लगाउनु र आशीर्वाद लिनु/दिनु नितान्त व्यक्तिगत कुरा हो र कसैलाई यस विषयमा टाउको दुख्नु अथवा ज्वरो आउनु ज़रूरी छैन । टीका लगाई दिने र लगाई माग्ने प्रसन्न छन् भने अन्य कसैलाई किन आपत्ति भई राख्नु पर्ने हो र ?

तर , गणतन्त्र आई सकेको हो भने ( मलाई त आई सके जस्तो पटक्कै लागेको छैन ) शीतलनिवासमा यसपालिको किसिमको टीका लगाई दिनु र लगाई माग्नु गणतन्त्रको निम्ति ठुलो उपहास हो । गणतन्त्रमा यस्तो हुँदैन । यो त साम्यवादी अधिनायक भन्दा पनि निकृष्ट सामन्तवादी परम्पराको पुनरावृत्ति भयो ।

कम्तीमा सर्वहारा जनताको पृष्ठपोषक साम्यवादी हरूको एकमना गणतांत्रिक सरकार भएको बेला वर्तमान सरकार र खुद राष्ट्रपतिलाई कुरी कुरी लाग्नु पर्ने हो यो ढाँचाले दसैँ मनाउँदा । राष्ट्रपतिलाई अप्ठेरो लाग्नु पर्ने यसरी आफू सिंहासनमा बसेर अन्य हरूले घुँडा टेक्दा । संभवत यसैलाई भन्दा हुन: “ …. लाई भन्दा देख्नेलाई लाज”

यति चाँडै तत्कालीन जनवादी नेतृ विद्याले आफ्नो धरातल बिर्सिएको देख्दा, वर्तमान तथाकथित गणतन्त्रवादी सरकारले उल्टो नृत्य प्रस्तुत गरेको देख्दा र शीतलनिवासका सल्लाहकार हरूको उल्टी खोपडी देख्दा मलाई नेपालका निर्दोष जनता प्रति सहानुभूति पैदा भएको छ भने बुद्धिजीवी र मानव अधिकारवादी हरूप्रति प्रश्न गर्न मन लागेको छ: “ नेपालका नेताहरू कवि भूपि शेरचनले भनेझैँ “ घुम्ने मेच माथिका अन्धा मानिस हरूनै हुन त ?”