अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०० | Colorodo: 12:15

पेपर टाइगर अथवा स्टेज लायन भएर मात्र पुग्दैन

डा. दुर्गा दाहाल, “अनुभव” २०७५ असोज १८ गते १७:१२ मा प्रकाशित

समसामयिक लेख

The woods are lovely, dark and green
But I have promises to keep
And miles to g before I sleep
And miles to go before I sleep
– Rober Frost

नेपालको विद्यमान लथालिङ्गे राजनीति र जनताको मर्माहत भावनालाई विश्लेषण गर्दा प्रख्यात अमेरिकन साहित्यकार रोबर्ट फ्रष्टको उपर्युक्त पद्याँश लाई स्मरण गर्न मन लाग्छ ।

तीन- तीन वटा जन- आन्दोलनहरू भए । जनताले कैयौँ ज्यान गुमाए । अनेकौँले आत्मीय जनहरू गुमाए । राष्ट्रभक्त हरूले शहादत प्राप्त गरे तर आन्दोलनका उपलब्धिहरू संस्थागत हुन सकेनन् ।
हो । अहिलेका कैयौँ नेताहरूले पंचायतकालीन व्यवस्थामा नेल-जेल पनि भोगेकै हुन, कुटाई-पिटाई पनि खाएकै हुन । दु:ख -कष्ट पनि गरैके हुन । तर, के व्यक्तिगत रूपमा जन आन्दोलनको सफलता र सत्ता प्राप्ति पछि अकुत धन-दौलत र भोग-विलासकै निमित्त मात्रै थियो र ?

पूर्व मेची देखि पश्चिम महाकाली सम्मका सर्वसाधारण जनता र बौद्धिक समुदाय समेत नेपालको राजनैतिक गतिविधि र नेताजी हरूसँग किंचित सन्तुष्ट छैनन् । किनभने अहिलेका नेता हरूले वर्तमान संविधानमा दुईवटा अवांन्छित विषय हरूलाई विदेशी शक्ति हरूको निर्देशन र स्वार्थमा भित्र्याए जुन राष्ट्रिय हितको लागि भयङ्कर हानिकारक र आत्मघाती छ ।

पहिलो: सङ्घीयता जुन नेपालका लागि अनुचित र अनावश्यक थियो ।
दोस्रो: धर्म निरपेक्षता जुन जबरजस्ती लादिएको थियो ।

अहिले आएर एकातिर शदियौँ देखि मिलीजुली बस्दै आएका चार जात छत्तिस वर्णका समुदाय बिच बैमनस्यता फैलिएको छ भने अर्कातिर हिमाली, पहाडी र मधेसी जन समुदाय माझ तनाव र असमझदारी बढ्दै गएको छ ।

उपर्युक्त दुई विषयलाई लिएर अहिले धर्म धर्मका बिचमा विभेद र समुदाय समुदायका माझमा वैमनस्यता बढ्न गई सामाजिक एकता र सद्भाव खल बलिएको छ । कसलाई भयङ्कर टाउको दुख्यो र भीषण ज्वरो आयो जसले गर्दा जनमत विपरीत उक्त दुई विषयहरूमा अपवित्र हात र कलुषित मन लगाउनु परेको थियो जसले गर्दा बुद्धिको भाँडामा बिर्को लाग्यो । धिक्कार होस ।

अद्य परिमित अन्योल र अस्थिरताले ग्रस्त नेपालका राष्ट्रिय सवाल हरूमा समेत आम सहमति र समर्थन हुन सकेको छैन । राष्ट्रिय पुँजीको निर्माण हुन सकेको छैन । उद्योगी करण हुनुको सट्टा सबै कल- कारखाना र उद्योगहरू बन्द हुँदै गएको स्थिति छ । कृषियोग्य ज़मीन र बन- जङ्गलहरू मासिँदै गएका छन् । परनिर्भरता बढ्दै गएको छ । व्यक्तिहरू मोटाएता पनि राष्ट्र खोक्रिँदै गएको छ । हरेक दिन युवा शक्ति बर्हिगमन हुँदैछ । नेताहरूमा सत् बुद्धि आएकै छैन । भरपर्दो योजना आयोग बनेकै छैन । अनि, कसरी नयाँ नेपाल बन्छ, हजुर ?

भो । नयाँ नेपाल चाहिएन हाम्लाई । पुरानै नेपाल ठिक छ; केवल नयाँ नीति, वैज्ञानिक सोच, परिवर्तित व्यवस्था र सरकारी चुस्त, दुरुस्त र स्वस्थ सरकारी संयन्त्र भए पुग्छ ।

पेपर टाइगर र स्टेज लायन हरूको खाँचो छैन मुलुकमा ; केवल खाँचो छ राष्ट्रलाई सही नेतृत्व दिन सक्ने कर्मठ, ईमान्दार र दूरदर्शी नेतृत्वको जसले भाषण मात्र हैन कार्यक्रम दिन सक्छ ।

यत्र, तत्र, सर्वत्र गुनासो छ: सरकारी नीति चुस्त र प्रशासन दुरुस्त भएन । यथार्थता हो पनि । मन्त्रीहरू र प्रधानमन्त्री बदलिन्छन्; सचिवहरू फेरिन्छन् । तर, तात्विक फरक केही पाइँदैन । रेडियो र टेलिविज़न हरूले नित्य नवीन नकारात्मक समाचारहरू फुक्छन् । आशा गरिन्छ: अब त केही सुधार होला, परिवर्तन होला, प्रगति होला । तर साङ्गठनिक सुधार र प्रशासनिक सुधार कहिल्यै भएन । व्यक्तिगत सुधार प्रशस्तै भएको छ किनभने व्यापक भ्रष्टाचार जो भएको छ नेपालभरि ।

बलात्कार, व्यभिचार र दुराचार त झ्याँगिदै गएको छ । भ्रष्टाचार नभएको दिन र बलात्कार नभएको रात हुँदैन । सरकारी कार्यालय हरूमा घुसखोरी नभएको ठाउँ र नेताहरूले नढाँटेको गाउँ ठाउँ हुँदैन ।

उखान- टुक्का भन्दै सपनाहरू मात्रै बाँड्छौ कि बलात्कारी र भ्रष्टाचारी हरूलाई कार्वाही पनि गर्छौ ? कमरेड ओली सरकार ।


– प्रा. डा. दुर्गा दाहाल, अमेरिका

शान्ति दूत, यु. पी . एफ