अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२४ | Colorodo: 20:39

ढङ्ग न ढाल, खानका कालहरू ठुला पत्रकार बनेको देख्दा

रामप्रसाद खनाल २०७५ वैशाख २३ गते २१:५३ मा प्रकाशित

मेरो एउटा छोरो छ । बिहे गर्ने उमेर पनि हुन थाल्यो । उ अहिले २३ वर्षको भैसक्यो र अर्को वर्ष इन्जिनियरिङ्ग पुरा गर्दैछ । छोरी पनि छ २१ वर्षकी उ प्रिमेड गर्दैछ । ढिलो चाँडो एक दिन मैले बाबुको नाताले छोरा छोरीको विवाह गरिदिनै पर्ने हुन्छ । मलाई यसो भन्दा माफ गर्नुहोला तर मैले न त पत्रकारलाई बुहारी बनाउने छु न त पत्रकारकी छोरीलाई । न त पत्रकारलाई छोरी दिने छु न त पत्रकारको छोरालाई । आफै पत्रकार भएर पनि रामप्रसाद खनालले किन यसो भने होला ?? भन्ने प्रश्न तपाईँको मनमा उठ्न सक्छ स्वाभाविक हो । म आज साबिती बयान दिँदै छु । अर्काको कुरा खोतल्ने हामी पत्रकारहरू आफ्नो कुरा चाँहीं लुकाई राख्ने !! अहँ यो हुनै सक्दैन । मेरो नैतिकताले यसो गर्न दिँदै दिँदैन । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा मैले केही गोप्य कुरा खोल्न गैरहेको छु । मेरा पत्रकार अग्रजहरू, सहयात्री मित्रहरू, नयाँ भाइ बहिनीहरू रिशानी भए माफ पाउँ ।

मैले पत्रकारिता सुरु गरेको करिब तीस वर्ष भएछ । के मा मात्रै गरिएन पत्रकारिता, छापा, रेडियो, टिभी, अनलाइन । राष्ट्रिय अन्तर्राष्ट्रिय मिडियाहरूमा सम्वाददाता देखी प्रधान सम्पादक सम्म भएर पनि काम गरियो विगतमा । पत्रकारितामा पनि छापा पत्रकारितामा त झन्डै २० वर्ष बिताइएछ । सत्र वर्ष त निश्पक्ष राष्ट्रिय साप्ताहिक चलाइएछ आफै प्रधान सम्पादक प्रकाशक बनेर त्यो पनि पहिले बुटवलबाट र पछि काठमाडौँबाट नियमित रूपमा ।

रहरै रहरले वा अन्यत्र कहीँ केही कुराको विकल्प नभएपछि राजनीतिमा, राजनीतिमा पनि काम नलागे पत्रकारिता लाग्छन नि धेरै जना, त्यसरी लागेको होइन म । तत्कालीन अवस्थामा नेपालको एउटा मात्रै रेडियो स्टेसन रेडियो नेपालबाट बकाईदा भ्वाइस टेस्ट परीक्षा पास गरेर रेडियो नेपालमा र तत्कालीन अवस्थामा नेपालको एक मात्र र सरकारी टेलिभिजन नेपाल टेलिभिजनबाट स्क्रिन टेस्ट परीक्षा पास गरेर नेपाल टेलिभिजनमा काम गरेको हुँ मैले । म रेडियोमा कसरी बोलेँ, टेलिभिजनमा कसरी प्रस्तुत भएँ, राम्रो गरेँ वा नराम्रो त्यो मूल्याङ्कन गर्न तपाईंहरुनै न्यायाधिश बन्नुस्, आफ्नो मूल्याङ्कन आफै गर्ने मेरो हैसियत छैन ।

*** सबै पत्रकार खराब भनेको होइन र छैन तर बहुमत खराब छन् त्यसमा कुनै दुइमत छैन । खराब नहुन पनि कसरी कहीँ काम नलागे राजनीतिमा, राजनीतिमा पनि काम नलागे पत्रकारितामा आउने भए पछि पत्रकारिता यस्तो नभए कस्तो होस त !! ****

जब काठमाडौँबाट अमेरिका झरियो समय र परिस्थिति अनुसार अनलाइन पत्रकारिता सुरु गरियो जुन नौलो अनुभव थियो सन २००८ ताका । मैले अमेरिकाबाट सन २००८ मा नेपाल मदर डट कम सुरु गर्दा साथी गिरिश पोखरेलको नेपाली पोस्ट बाहेक अरू कुनै अनलाइन पत्रिका थिएन यहाँ । र म यो पनि स्वीकार गर्दछु कि अमेरिकाको व्यस्त जीवन, काम नगरी माम खान नपाइने देश, बाध्यताले गर्दा मैले जाने बुझेको पत्रकारिता, मेरो नलेज मैले यहाँ पुरा प्रयोग गर्न पाइरहेको छैन । नेपाली पत्रकारिता मात्र गरेर अमेरिकामा जीविकोपार्जन हुन्छ भनेर म मान्दै मान्दिन । त्यसैले काम धाम गर्ने अनि बाँकी रहेको समयमा यसो लेख्न बस्ने हो, अपडेट गर्ने हो, खाँटी कुरो यही हो, तपाईँहरूलाई किन ढाँट्नु ।

अहिले त छ्याप्छ्याप्ती मान्छे पिच्छे अनलाइन, भए जतिका सबै पत्रकार, सबै सम्पादक । बरु असली सम्पादकहरूलाई समाजले नचिन्ला भन्ने डर ! अचम्मै छ बा ! ! अनलाइन पत्रकारिता पनि मागी खाने भाँडो पो बनाइन थालेको देखिँदै छ । के गर्नु कुरा गर्‍यो कुराकै दु:ख !

विगतको कुरा गर्दा थुप्रै राष्ट्रिय दैनिकहरू र साप्ताहिकहरूमा पनि काम गरियो । छापा पत्रकारिता पहिलै सुरु गरेको भए पनि मेरो आदरणीय अग्रज पुरुसोत्तम दाहाल दाइले २०४७ साल पछि रेडियो नेपालमा सुरु गर्नुभएको रेडियोको दुनियाँमा अलग प्रयोग, अत्यन्त प्रिय कार्यक्रम घटना र बिचारमा पुरु दाइकै अनुरोधमा मैले वहाँ कार्यरत रहुन्जेल काम गरेँ लुम्बिनी अञ्चलबाट । सोही बेला मेरा अग्रज पत्रकार ( आत्मीय मित्र पनि ) मणि राणाज्यूको अनुरोधमा लुम्बिनी अञ्चलबाटै BBC का लागि पनि सहयोग गर्ने अवसर पाएँ फ्रिलेन्सरका रूपमा । २०४७ / ४८ ताका BBC ले एउटा रिपोर्टको अवस्था हेरी बिस पाउन्ड देखी ६५ पाउन्ड सम्म भुक्तानी गर्थ्यो । त्यति बेला पाउन्डस्टर्लिङ डलरका ती चेक साट्दा खल्ती गर्हौँ नै हुन्थ्यो किनकि एक पाउण्डस्टर्लिङ बराबर झन्डै एकसय दश भन्दा बढी हुन्थ्यो । एउटा समाचारको ६५ पाउन्ड सम्म अर्थात् सात हजार भन्दा बढी पारिश्रमिक बुझ्नुको सान बेग्लै हुन्थ्यो त्यो बेला । पैसाको मूल्य थियो त्यो बेला ।

बुटवलबाट काठमाडौँ आएपछि रेडियो नेपालमै कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक सम्म भएर काम गरियो । रेडियो नेपाल पछि नेपाल टेलिभिजनमा पनि कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक सम्म भएर काम गरियो । नेपाल टेलिभिजनमा त बोर्डमै पनि सञ्चालकका रूपमा बसेर जिम्मेवारी निर्वाह गरियो सरकारले दिएको नियुक्ति लिएर । यस अघि नै आदरणीय सन्तोष पन्त दाइको इतिहास रचेको टेलिसिरियल हिजो आजका कुरामा करिब तीन वर्ष विभिन्न रोलहरूमा अभिनय गरेर कलाकारिता पनि गरेको अनुभव छ । यसरी छापा पत्रकारिता, रेडियो पत्रकारिता, टेलिभिजन पत्रकारिता हुँदै अनलाइन पत्रकारिता सम्म अाईपुग्दा बहुत कुछ देखेको छु भोगेको छु मैले पनि । पत्रकारिता, गीत सङ्गीत, कलाकारिता र साहित्यको क्षेत्रमा काम गर्ने भएकोले होला पत्रकारिता र पत्रकारहरूलाई अझ नजिकबाट हेर्न, नियाल्न पाइयो विगतमा र अहिले पनि ।

बामदेब गौतमले नै संरक्षण गरेका, पालेका केही पत्रकार साथीहरूले बामदेबकै विरोधमा विशेष अङ्क निकालेर पहेँलो पत्रिका सुरु गरेको र पत्रकारिता गरेको पनि देखेकै हो । काठमाडौँबाट निस्किने एउटा चर्चित साप्ताहिकलाई भैरहवामा बस्ने एउटा सम्वाददाताले खर्च धानेको र सम्पादकले नै सम्वाददातालाई माई बाप मानेको पनि देखेकै हो । परासी र बिरगँजका सम्वाददाताले काठमाडौँका कयौँ सम्पादकको घर खर्च देखी पत्रिका प्रकाशन सम्मका खर्च धानेको पनि देखेकै हो । काठमाडौँका कयौँ सम्वाददाता देखी सम्पादक सम्म तस्कर, पुलिस, चोर, डाँकु, डनका मात्र होइन भारतीय र, पाकिस्तानी आई एस आई, युरोपियन एजेन्ट बनेर पत्रकार बनिरहेको कसलाई पो थाहा नहोला र !

*** अहिले त छ्याप्छ्याप्ती मान्छे पिच्छे अनलाइन, भए जतिका सबै पत्रकार, सबै सम्पादक । बरु असली सम्पादकहरूलाई समाजले नचिन्ला भन्ने डर ! अचम्मै छ बा ! ! अनलाइन पत्रकारिता पनि मागी खाने भाँडो पो बनाइन थालेको देखिँदै छ । के गर्नु कुरा गर्‍यो कुराकै दु:ख ! ****

भारतीय दूतावास, पाकिस्तानी दूतावास लगायतका कयौँ दूतावासहरूमा जासुसी गर्ने देखी, उनीहरूका लागि राष्ट्रका सूचना बेचेर महिनामारी तलब बुझ्ने तलबी पत्रकारहरू पनि देखेकै हो । हो यी र यस्तै प्रब्रिती गर्न नसक्दा, नबिक्दा, बिक्नेहरुको तारो भएको, आफ्नै पत्रकारहरूले आफ्नै पत्रकार हरूलाई चरित्र हत्या गरेको, लेखेको, बदनाम गर्ने कोसिस गरेको, देखेको भोगेको एउटा निरीह प्राणी म जीवितै छु । म छातीमा हात राखेर भन्छु, चुनौती दिएर भन्न सक्छु – न कुनै दिन कसैलाई ब्ल्याकमेल गरियो, न बाङ्गा लाई सिधा र सिधालाई बाङ्गो बनाएर बिकियो, न त कुनै दिन रक्सी र सुकुटीमा पत्रकारिताको धर्म छोडियो । त्यसैले आत्म सम्मान छ । केही बिकाउहरुले विगतमा मलाई पनि बदनाम गर्ने प्रयास गर्दा पनि उनीहरू आफै चुकेको र झुकेको अनुभव पनि म सँग छ । त्यो नै मेरो नैतिक बल हो ।

पैसा माग्ने नदिए नानाथरी लेखेर चरित्र हत्या गर्ने देखी मान्छेलाई “राम नाम सत्य हो” गराउने सम्मका केही “महान्” पत्रकार पनि देखेकै हो । भोगेकै हो । बुटवलमा एउटा झुस्स दारी पालेका कुन्नि के जति कार्की थरका सम्पादकले पेट्रोल हालेको पैसा माग्यो भनेर बुटवल डिजेल सेन्टरका सञ्चालकलाई चारपाटा मुडेर तस्कर भन्दै नेकपा मसालको जुलुस निकालेको पनि यिनै आँखाले देख्या हो । तिनै झुसे दारीले जे जे भन्यो इसारा मान्दै अरू पत्रकारले समाचार पनि लेख्या हो । गर्नु नगर्नू कुकर्म गर्ने, दारु, भारुका लागि, सारीका लागि मरिहत्ते गर्ने दारीहरू पनि देखेकै हो । उनीहरूको आदेश नमान्दा ब्ल्याक्मेलिङ गर्न नजान्दा उनीहरूकै निशानामा पनि समाचार बनिएकै हो, उल्टै नराम्रो भनिएकै हो । ती सबैकुराका केही साक्षी मरेर गए पनि अझ धेरै जिउँदैछन ।

गोपाल दास श्रेष्ठ, भारतदत्त कोइराला, गोकुल पोखरेल, मदनमणी माड्साप, गोविन्द बियोगी, होमनाथ दाहाल, पुरुसोत्तम दाहाल, पी. खरेल, रामकृष्ण दाइ, योगेश दाइ, दुर्गानाथ दाइ, मणि राणा, सोमनाथ घिमिरे, चिरन्जिबी खनाल हुँदै बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, बालकृष्ण चापागाई, राजन कार्की दाइहरू लगायतका पत्रकारिता क्षेत्रका केही अग्रजहरू जसको माया र छायाँबाट पनि बहुत कुछ सिक्ने अवसर पनि पाइएको हो त्यसमा आफूलाई गर्व लाग्छ, तर नेपाली पत्रकारिताको अधिकांश पाटो हेर्दा छि छि भन्न पनि मन लाग्ने तितो अनुभव पनि सँगालिएको छ ।

असाध्यै इमान्दार, नैतिकवान, योग्य, वास्तविक पत्रकारहरू पनि हुनुहुन्छ नेपालमा म वहाँहरू प्रति सधैँ नतमस्तक हुन्छु, वहाँहरूलाई उच्च आदर र सम्मान पनि गर्दछु तर केही यस्ता बेइमान, हरमा, अनैतिक, ब्ल्याकमेलरहरु पनि छन् तिनीहरूलाई देख्दा मलाई असाध्यै घृणा लागेर आउँछ । तिनै ठुला पत्रकार बनेको देख्दा लाग्छ – ढङ्ग न डाल, खानका काल भनेको त्यसै रहेनछ । यसो भनेर मैले सबै पत्रकार खराब भनेको होइन र छैन तर बहुमत खराब छन् त्यसमा कुनै दुइमत छैन । खराब नहुन पनि कसरी कहीँ काम नलागे राजनीतिमा, राजनीतिमा पनि काम नलागे पत्रकारितामा आउने भए पछि पत्रकारिता यस्तो नभए कस्तो होस त !!

मेरा सहयात्री थुप्रै पत्रकार मित्रहरू हुनुहुन्छ जो पत्रकारिताको धर्म निर्वाह गरिरहनुभएको छ वहाँहरूलाई देख्दा खुसी लाग्छ, गर्व लाग्छ तर केही यस्ता ब्वाँसाहरु छन् जो कुखुरा चोर्नकै लागि पत्रकारिता गर्छन् यस्तो देख्दा कति दिक्क लाग्दो हो तपाईँ अनुमान गर्नुस् ।

**** एक जना सम्पादक मित्रले झोल यति धेरै पिएछन कि कार्यक्रम चलिरहेका बेला हल भित्रै बर्बराउन, चिच्याउन थाले । अंगाडी बाट राजा रानी देखी पाहुनाले पछाडि फर्केर हेर्न थाले । म पनि त्यो भन्दा अघिल्लो लाइनमा थिएँ लाजको मर्नु ! अर्का सम्पादक मित्रले भने हेर्नुस् त खनालजी यो मोराले त शुरवालमै छोडिदिएछ । मेरो कम्पारो बेस्सरी तात्यो अनि अरू ४ सम्पादकहरूलाई समेत लगाएर चार हात खुट्टामा समाएर झ्याईकुटी पारेर लतार्दै बाहिर निकाल्यौँ ****

बुटवलमा एक जना बोत्तले दाइ थिए जो आफूलाई बुटवलको अग्रज पत्रकार मान्थे उनी कसै सँग भेट भयो कि सय पचास माग्ने अनि नदिए भोलि पल्ट बुटवलकै एउटा दैनिकमा नदिनेका विरुद्ध लेख्थे । म बुटवलबाट पत्रकारिता सुरु गरेँ, न कहिल्यै दारु खान सिकियो न माग्न । अनि सधैँ तारो बनियो यस्तै बोत्तले र झुसे, झोलेहरूको । लुम्बिनी अञ्चलअका पुराना पत्रकार, अग्रज पत्रकारहरू विनय कसजु, बसन्तध्वज जोशी, अर्जुन ज्ञवाली, सूर्यलाल, लेखनाथ ज्ञवाली, करुणा निधि शर्मा, बालकृष्ण चापागाईहरुलाई सबैकुरा थाहा छ । बोत्तलेहरु नेपालमा धेरै छन् उनीहरूलाई धेरै पनि चाहिँदैन, राम्रो पनि चाहिँदैन मात्र एक बोत्तल लोकल रक्सी र पाडाको चपाउन नसकिने सुकुटी भए पुग्छ । यस्ता पत्रकारहरूको काम भनेको जसले दिन्छ उसैलाई भगवान् र चर्चित बनाउने हो । दिनेको गुणगान गाउने, नदिने र असल मान्छेलाई सिध्याउने खेल खेल्नु उनीहरूको धर्म, कर्म हो । अनि यस्तो भएपछि पत्रकारिता समाजको चौथो अङ्ग बन्छकी चुथ्थो अङ्ग बन्छ भन्नुस् त !

***सेनाको मुख्यालयमा आयोजित त्यस्तै अर्को भोजमा अर्का सम्पादकले सुरवालमै सुर्क्याए पछि तिनलाई पनि लतार्दै बाहिर निकालेर गाडीमा हालेर पठाइदियौँ ।***

केही वर्ष अघि राजाको जन्म दिनमा सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा तत्कालीन अाइजिपी सहबीर थापाले एउटा सांस्कृतिक कार्यक्रम र रात्रीभोज आयोजना गर्नुभएको थियो जहाँ राजा रानी, युवराज युवराज्ञी, प्रधानमन्त्री, मन्त्री, भिभीअाइपीहरु, नेपाल स्ठित विभिन्न देशका राजदूतहरू, हामी सेलेक्टेड पत्रकारहरू, सम्पादकहरू निम्त्याईएका थियौँ । एक जना सम्पादक मित्रले झोल यति धेरै पिएछन कि कार्यक्रम चलिरहेका बेला हल भित्रै बर्बराउन, चिच्याउन थाले । अंगाडी बाट राजा रानी देखी पाहुनाले पछाडि फर्केर हेर्न थाले । म पनि त्यो भन्दा अघिल्लो लाइनमा थिएँ लाजको मर्नु ! अर्का सम्पादक मित्रले भने हेर्नुस् त खनालजी यो मोराले त शुरवालमै छोडिदिएछ । मेरो कम्पारो बेस्सरी तात्यो अनि अरू ४ सम्पादकहरूलाई समेत लगाएर चार हात खुट्टामा समाएर झ्याईकुटी पारेर लतार्दै बाहिर निकाल्यौँ र एक जना डिआइजी लाई भनेर घोक्र्याउँदै गाडीमा हालेर घर पठाइदियौँ । भोलि पल्ट के गरेको हिंजो त्यस्तो भन्दा त मैले त थाहै पाइन यार के के भयो पो भन्छन् त बाबै । तपाईँ पिउनुहुन्न खनाल जी तपाईँलाई पिउनुको मज्जा के थाहा पिएर त हेर्नुस् पो भन्छन् त ! अनि मैले भन्ने गर्थेँ तपाईँहरूले पिएकै देखेर म अघाइसकें मलाई मज्जा लिनु छैन पुग्यो !

सेनाको मुख्यालयमा आयोजित त्यस्तै अर्को भोजमा अर्का सम्पादकले सुरवालमै सुर्क्याए पछि तिनलाई पनि लतार्दै बाहिर निकालेर गाडी मा हालेर पठाइदियौँ । राजदरवारमै राजा रानीले निम्त्याएको भोजमा, सिँहदरवारमा प्रधान्मन्त्रीले बोलाएका भोजमा मात्र होइन, विभिन्न राजादुताबासले निम्त्याएका भोजमा शुरवालमै सुर्क्याउने र बर्बराउँदै गर्दा निकाल्नुपर्ने को सङ्ख्या कति छ कति । सबै बयान गरी साध्य छैन । रोचक कुरा त के हुन्थ्यो भने हाम्रा पत्रकार मित्रहरू सँगै शुरवालमै सुर्क्याउने, चिच्याउने बर्बराउनेमा नेता मन्त्री पनि हुन्थे । पुलिस सेनाका हाकिम पनि । दारु नखानुको, खान नसिक्नुको एउटा मज्जा चाँहीँ यो हुन्थ्यो कि कुन कति पानी मा छ, कसको हैसियत के हो र कति ट्वाँके छ थाहा पाइन्थ्यो अनि तिनको त्यो पारा देखेर झनै पिउन हुँदो रहेनछ भन्ने मलाई शिक्षा मिल्थ्यो । ल भन्नुस् त माथि बयान गरेझैँ यस्तो भए पछि पत्रकार र पत्रकारिता क्षेत्र कसरी मर्यादित हुन सक्छ ??

*** रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोसित पत्रकार बनेका केही नयाँ जोगीहरू र तिनका पत्रकारिता अनि सानहरू देख्दा आची गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन्छ । ***

पहिला पहिला र अहिले पत्रकारितामा अलिकति फरक पन आउन अवश्य थालेको छ । पढे लेखेका युवा युवती पनि पत्रकारिता क्षेत्र प्रति आकर्षित हुन थाल्नु सुखद कुरा हो । तर सँगसँगै चरम विकृति पनि सुरु हुन थालेको छ जुन दु:खदायी छ । केही स्तरिय पत्रपत्रिका, रेडियो र टेलिभिजनलाई छोडेर अरूलाई हेर्नुस् अधिकांशको हाल बेहाल छ । अहिले त अनलाइन आतंकनै छ, अनलाइन आतङ्कका अलावा फेसबुक, ट्वीटर, यु ट्युब, अन्य सामाजिक सञ्जालमा गरिने अत्यन्त चिप पत्रकारिताको आतङ्कले मान्छेलाई हैरानै पारिसकेको छ । सँगसङै विकृति, बिसँगति बढेर गएको छ, विभिन्न खाले अपराध पनि बढेको सबैलाई अनुभव भएकै होला ।

पत्रकारिताको कखरा थाहा नभएका मान्छेलाई महान् पत्रकार बनाएर यहाँ अमेरिकामै नेपाली समुदायले अभिनन्दन गर्दा कान्तिपुरका संस्थापक सम्पादक योगेश दाइ, टेलिभिजनकी छोरी, साथी रमा सिंह र मैले पछाडि बसेर एक अर्कामा मुख हेर्दै हाँस्दै गर्नु परेको अनुभव पनि कति रोचक होला अनुमान गर्नुस् । तिनै नक्कली पत्रकारहरूको बिगबिगी छ यहाँ पनि र समाज उनीहरूकै पछाडि छ ।

आशा गरौँ नयाँ पिँढीले पत्रकारिताको धर्म नबिर्साउन । तर नयाँ पिँढीमा पनि ब्वाँसाहरुको सङ्ख्या बढ्दै जानु अत्यन्त दु:खद छ । ब्वाँसाहरु अनलाइन, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालमा त्यत्तिकै सक्रिय देखिन थालेका छन् । असलहरू लाई सिध्याउने, राम्रालाई नराम्रो बनाउने, नराम्रालाई राम्रो भनाउने, लोक संस्कृति परम्परा, नेपाली पन, नेपाली मन लाई ध्वंस गर्ने, मोडलिङका नाममा चेलीबेटी नङ्याउने, अनुशासन, मर्यादा सब बर्बाद पार्ने, छाडा नाङ्गा भुतुङ्गा हरूलाई हाइलाईट गर्ने, असल र वास्तविक, अग्रज, ऊदाहरणिय मान्छेहरू ओझेल पारिदिने, हरेक क्षेत्रमा सडकछापहरुलाई किङ र क्विन बनाइदिने किङ र क्विन लाई गुमनाम पारिदिने, अबमुल्यन गरिदिने, नक्कलीहरूका बकबकले पेज भरिदिने पत्रकारिता असाध्यै डरलाग्दो गरी अगाडि आएको छ । यस्तो देख्दा लाग्छ – यस्तो भए पछि पत्रकारिता कसरी मर्यादित र ओजन पूर्ण होस !

नेपालमा सूचना विभागले दिने अनुदान खान ५० प्रति पत्रिका छाप्ने, हेडिङ चेन्ज मात्र गरेर छाप्ने, ब्ल्याकमेलिङको साधन बनाउने र आफूलाई पत्रकार भनाउने, सूचना विभागको कार्ड भिर्ने तर डुङडुङी गन्हाउनेको सङ्ख्या व्हात्तै बढेर जाँदा वास्तविक पत्रकार र पत्रकारिता निरीह बन्दै गएको छ । पार्टी, नेता, गुटका मिडियाहरू ९५ प्रतिशत छन् भने ५ प्रतिशत मात्र होलान् स्वतन्त्र ! कुन्नि त्यो पनि, अझ मुस्किल होला !

सूचना विभागको तथ्याङ्क हेर्दा अवस्था कहाली लाग्दो छ । पत्रपत्रिका बजारमा देखिन्नन तर अनुदान बुझिरहेका छन् । छ सात सय रेडियो स्टेसन, तीन दर्जन भन्दा बढी टेलिभिजन, पत्रपत्रिका त कति हो कति ! त्यस माथि अहिले अनलाइन उस्तै । त्यति सानो देश, उद्योग व्यापार बढ्दो होइन घट्दो छ । विज्ञापन घट्दो छ । आय श्रोत भनेको विज्ञापन, त्यो नभै कसरी चल्छन यती विधि मिडियाहरू ?? उत्तर एउटै छ त्यहाँ साढे तेत्तिस किलो सुन वाला पुलिस देखी, तस्कर सम्मको योगदान छ । पत्रकारितामा झनै भ्रष्टाचार मौलाएको छ । शङ्कै छैन ।

अझ हेर्नुस् न एमालेका पत्रकार प्रेस चौतारीमा, काङ्रेस पत्रकार प्रेस युनियनमा, प्रचण्ड गुटका पत्रकार क्रान्तिकारीमा रे । मधेशबादी देखी जातजाती वादी सम्मका सबैका आ आफ्नै राजनीतिक पत्रकार सङ्घ सङ्गठन ! पत्रकार समाजका चौथो अङ्ग रे ! इस् नापियो चौथो अङ्ग !! बरु चुथ्थो अङ्ग भने हुने भएको छ । पत्रकारको पनि पार्टी हुनुहुन्छ ल भन्नुस् त ?? यो त स्वतन्त्र पत्रकारिता होइन पार्टी पर्चाकारीता हो ।

जुन गोरुको सिङ छैन त्यसको नाम तिखे भनेझैँ रेडियो भनेको के हो ? टेलिभिजन भनेको के हो ? पत्रपत्रिका, मिडिया भनेका के हुन ? यिनमा के कुरा लेख्न बोल्न प्रस्तुत गर्न हुन्छ वा हुँदैन, पत्रकारिता भनेको के हो ? भन्ने राम्ररी नबुझी स्वघोसित पत्रकार बनेका केही नयाँ जोगीहरू र तिनका पत्रकारिता अनि सानहरू देख्दा आची गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझैँ हुन्छ । नेपालमा र अन्य देशमा जस्तै अमेरिकामा पनि नेपाली पत्रकारितालाई भाइरस लागिसकेको छ । समयमै औषधी गरिएन भने भाइरसले के के गर्ने हुन हेर्न बाँकी नै छ ।

यहाँ भन्दा बढी नभनौँ भो आजलाई । यो मेरो तीस वर्षको पत्रकारिताको सानो अनुभवले देखाएको अति सानो चित्र मात्र हो । यस भित्र जाँदा त निस्किनै गाह्रो छ । जे होस विश्व प्रेस स्वतन्त्रता दिवसको शुभ अवसरमा संसारभर छरिएर रहेका सबै वास्तविक पत्रकारहरूमा हार्दिक सम्मान र शुभकामना । पत्रकारिता, कर्तव्य गर्दा गर्दै ज्यान गुमाउने, अङ्ग भङ्ग हुने, जेल पर्ने सबै प्रति सगरमाथा भन्दा उचो सम्मान । प्रेस स्वतन्त्र हुन सकस, विश्वसनीय बन्न सकस कामना । पत्रकारिताको नाममा, आवरणमा हुने अनैतिक क्रियाकलाप अन्त्य हुन यो पनि कामना । पत्रकारिता समाजको वास्तविक चौथो अङ्ग बन्न सकस हार्दिक शुभेक्षा । धन्यवाद ।

(नोट : लेखक खनाल अमेरिकाबाट प्रकाशित हुने लोकप्रिय अनलाइन डिजिटल पत्रिका नेपाल मदर डट कमका प्रधान सम्पादक पनि हुनुहुन्छ – सम्पादक )