अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:२५ | Colorodo: 23:40

गायक सङ्गीतकार सुजन तिगेला लिम्बु

गीता अधिकारी, काठमाडौँ २०७५ वैशाख ७ गते ७:४१ मा प्रकाशित

नेपाली गीत सङ्गीतलाई समृद्धतर्फ लैजानका लागि अनेक स्रष्टा लागि परेका छन् । नेपाली आधुनिक गीत–सङ्गीतमा प्रदत्त गायनदेखि आजको डिजिटल युगसम्ममा हजारौँ गायक–गायिका एवम् सङ्गीतकारले आफ्नो जीवन व्यतित गरिसकेका छन् । नेपाली गीतसङ्गीतको लामो समयको अन्तराल सँगसँगै निकै मिठा र सश्क्त स्वरका धनी गायक गायिका र सङ्गीतकार यो क्षेत्रले पाएको छ । अहिले पनि यो क्षेत्रमा धेरैले आफ्ना क्रिएशनहरु प्रस्तुत गरिरहनुभएको छ । यस्तै यो क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक तथा सङ्गीतकार हुन् सुजन तिगेला लिम्बु ।

अहिलेसम्म आउँदा ३ सय भन्दा बढी गीतमा स्वर र १ सय जति गीतमा सङ्गीत भरेका उनले थुपै्र गीतकारको शब्दमा स्वर र सङ्गीत भरेका छन् । लोक गायन, पाश्र्व गायन र आधुनिक सबै खालका गीत गाएर श्रोताको मन मष्तिकमा आफ्नो छुट्टै छवि बनाएका सुजन सानै देखिनै यो क्षेत्रमा लागेको बताउँछन् । केही गीतमा आफैँ मोडलिङ समेत गरेका उनका सेल्फिको जमाना, तिमी फुल बनिदिनु प्रिय, कथाले मागेपछि, अरे के साह्रो व्युटी, म त परे सोझो, लुङ्गामा ज्यु, मायालाई बैना सालैजो, कौडा जस्ता गीत बढी स्रोता÷दर्शको बढी रोजाइका गीत रहेका छन् । उनका अहिलेसम्म पाँच वटा एल्बम बजारमा आएका छन् भने थुप्रै कलेक्सन एल्बममा पनि स्वर दिएका छन् । 

उनका गीतलाई स्रोता/दर्शकले मन पराउनुका साथै उनले केही अवार्ड पनि हात पार्न सफल भएका छन् । गौतम बुद्ध जन्मे जहाँ स्वदेश गीतमा उनले कालीका म्युजिक अवार्ड हात पारेका छन् भने थुप्रै अवार्डहरूमा नोमिनेशनमा परेका छन् उनका गीत ।

उनले हालै दर्शक/स्रोतामाझ ‘मायाले सन्सार थाम्दैन’ गीतको म्युजिक भिडियो ल्याएका छन् । बेलायतमा बसेर गीत तथा कविता लेख्नमा आफूलाई सक्रिय बनाइरहेकी जानू काम्बाङ लिम्बू को शब्द रहेको यो गीतमा सुजनकै सङ्गीत रहेको छ ।

गीतको भिडियोलाई युगल पोमुले निर्देशन गरेका छन् । हङकङको मनोरम स्थान सिङमुन भ्याली र त्यसको वरपर छायाङ्कन गरिएको उक्त भिडियोमा मौसम लिम्बु (फुल्न देको बाऊँ) हेमराज लिम्बु र विद्या श्रेष्ठले अभिनय गरेका छन् । त्रिकोणात्मक प्रेमकथा व्यक्त गरिएको सो भिडियोको छायाङ्कन ज्याप प्रोडक्सनले गरेको हो ।

थुप्रै गीतकारहरूको शब्दमा स्वर भरेका सुजनले साहित्यकार झमक घिमिरेको ‘मनको घाउँ’ पहिलो गजल पनि उनले गाएका हुन् । ‘म निरन्तर गीत सङ्गीतको यात्रामा छु, अझै धेरै नयाँ नयाँ क्रिएशन स्रोता÷दर्शकलाई पस्कनु छ, मलाई माया गरिरहनु भएको आम श्रोताले खुसी छु’, सुजनले भने ।