भाते जाँडलाई खिर सम्झेर खाने देखी र बालक हराएको सुचना जारी गर्नुपरेका मेरा साउने संक्रान्तिका हर्कतहरु

संस्मरण

साल र महिना याद भए पनि गतेको हकमा सधै झुक्कीरहने मेरो बानीलाई एकाबिहानै धेरैका फेसबुकका भित्तामा भरिएका स्ट्याटसले सम्झाउँछ कुन पर्व, कुन दिवस ? अझ सजिलो गरी । आज साउन १ गते रहेछ  । यहि साउन १ गते अर्थात साउने संक्रान्ति सानो छँदा ३ महिना पहिले नै थाहा हुन्थ्यो । असारको १५ गते कट्न थालेपछि मेरो बाल मस्तिष्कमा साउने संक्रान्तिमा जम्मा गर्नुपर्ने सरसामानको ठूलै लिष्ट तयार हुन्थ्यो ।

काठमाण्डौंमा जन्मिएर भक्तपुरमा ९ बर्ष बिताएको मैले ९ बर्षको उमेर सम्म साउने संक्रान्तिमा खासै चाँसो दिईन । लुतो फाल्ने चलन के हो रु के के चाहिन्छ भन्ने थाहा नपाए पनि साउन १ गते बिहानै मम्मी बाबाले टिका लगाई दिएर पैशा दिएको र घरमा मासु पाकेको दृष्य याद छ ।

साउने संक्रान्तिको एउटा रमाईलो प्रंसग पनि छ ।

म ६ बर्षको हुँदा भक्तपुरबाट हराएर रेडियो नेपालबाट मेरो हुलिया सहित बालिका हराएको सूचना भनेर प्रसारण भएको थियो । त्यो दिन साउने संक्रान्तिको दिन थियो । बुवा नेपाल प्रहरीको जागिरे भएकाले ड्युटिको ठेगाना हुन्थेन । राती ड्युटी जानु भएको बुवा बिहान समयमा आउनु भएन । साउने संक्रान्ति भन्दै मम्मीले टिका लगाएर १० रुपैया दिनु भयो । जिल्ला प्रहरी कार्यालय भक्तपुरको खाना खाने मेश ५५ झ्याले दरबारकै छेउमा थियो सायद अहिले पनि त्यहीं छ ।

म सानो छँदा बढी नै जिद्धि थिए । जो सँग पनि बोलि दिने, कसैसँग नडराउने । एक्लै फिल्म हलमा फिल्म हेर्न पुग्दिने । छुट्टिको दिन साँझ नपरी घर नर्फकने जस्ता हर्कतले मम्मी आजित हुनु हुन्थ्यो । त्यो दिन टिका लगाएर पैशा पाएपछि प्रहरी मेशमा पुगें । भित्र छिर्न गाह्रै थिएन । धर्म प्रसाद देवकोटाको छोरी हु भनेर परिचय दिने देखि प्लिज अंकल भित्र जान्छु नि भन्ने सम्मका नखरा देखाएर भित्र पस्थे ।

त्यो दिन पुलिस मेशमै अंकलहरु सँग खाना खाए र मम्मीले दिएको पैंशाले ४ वटा प्लाष्टिकका चुरा किनेर लगाए । त्यो मध्येको १ रुपिया दरबार स्क्वायरको छेउमा बस्ने माग्ने केटाकेटीलाई दिए । यसरी माग्नेलाई पैंशा दिंदा भगवान खुशि हुन्छन भन्ने सुनेको थिएं । बाँकि पैंशा गोजिमै थियो । बाटोमा आउँदै गर्दा तलेजु गेटनेर फुटपाथ ब्यापारी नानीमैंयाको छोरा राजु भेट भयो । उ १० बर्ष जतिको थियो । ओई सुषमा हिँड आज काठमाण्डौं घुम्न जाँउ भन्यो । पकेटमा ५ रुपैंया बाँकि थियो । कति लाग्छ भाडा भनेर सोधे । अहिले सम्झन्छु ६ बर्षको उमेरमा पनि म कति फटाहा बच्चा थिए ।

पैसा लाग्दैन बच्चाको, राजुले दाँया हातको सर्टको बाहुलाले नाकबाट चुहिन लागेको सिंगान पुछदै भन्यो । कृष्णलाई पनि लैजाउ न त । महिला प्रहरी मेनुकाको साढे ४ बर्षको छोरा कृष्णलाई लिन सुकुल ढोका नजिकै पुग्यौं हामी । खेल्न जाने भन्दै कृष्णलाई ल्याए । ३ जना गाडि चढेर काठमाण्डौंको नँया बानेश्वर पुग्न लाग्दा कृष्णको बुवाको साथि पनि त्यहिँ गाडिमा रहेछन् । उनले कृष्णलाई चिनेर आफुसँगै रोकि दिए । मैले घरमा मम्मीले सम्झाउँदै धेरै डुल्ने बच्चालाई नचिनेको मान्छेले लगेर आँखा झिकेर राखिदिन्छन भन्ने सुनेको थिएं । त्यो मान्छेले कृष्णलाई रोकेपछि अब यसले हामीलाई पनि लगेर आँखा झिकि दिन्छ भनेर बानेश्वरमै झर्यौ हामी दुई ।

दिनभरी बानेश्वरमा वल्लो छेउ र पल्लो छेउ डुल्दै बस्यौं । मेरो ५ रुपैंया मध्ये  २ रुपैयाको चकलेट र ३ रुपैयाको ईमिली किन्यौं । साँझ तिर बानेश्वरबाट घरजान भनेर हिड्दै कोटेश्वर तर्फ लाग्यौं । राजु जहिले गाडिमा झुण्डिएर हिड्ने भएर ठाउँका नाम उसलाई कण्ठै थियो । बाटोमा जहाँ गाडि देख्छ, त्यहि रोक्न खोज्दा पनि राजुले गाडि रोक्न नसकेपछि हामी हिडन थाल्यौं । अहिले लाग्छ हामीले गाडी रोक्ने स्टेसनमा गाडी रोकेका थिएनौं ।

यता दिउँसै जिल्ला प्रहरी कार्यालयमा कृष्णको मम्मीलाई फोन आएछ । तपाईको छोरा हामीसँगै छ, अरु दुईवटा बच्चा रोक्न नसकेर कता गए, थाहा भएन । कृष्णले एउटाको नाम सुषमा भन्दैछ भनेछन् । सुषमा भन्नासाथ मेनुका आन्टि दगुर्दै हाम्रो कोठामा आएर तपाईको छोरी खै भनेर सोद्धा ममिले खै कता गई बिहानै बाट आएकी छैन भात नखाई हिडेकी खोज्ज पनि कता जाने र ? आउली नी बेलुका सम्म भन्नु भएछ । बिचरा दिनदिनको मेरो डुलुवा बानिले ममीलाई म बानेश्वर पुगेको कुरा थाहै भएन । मेनुका आन्टीले बेलिबिस्तार लगाएपछि खैला बैला सुरु भएर रेडियो नेपालमा मेरो नाम हुलिया सहित बालिका हराएको भनेर तुरुन्तै दर्ता गरिएछ ।

जिल्ला प्रहरी कार्यालय भक्तपुर र कोटेश्वर प्रहरीको गाडि ओहोर दोहोर गर्दा राती १० बजे हामीलाई भक्तपुर हस्पिटल नेर फेला पारे । बानेश्वरबाट बाटो थाँहा भएपनि बिचमा म सानो भएर हिड्न नसक्ने र त्यहिँ बाटोमा बसेर रुन थाल्ने गर्दा हामी बेलामा घर पुग्न सकेनौं । त्यसैमाथि राजुले रोयो भने भुत आउँछ भनेर तर्साउँदा म झन पाईला सार्न मान्दिनथे । ठाउँ ठाउँमा राजुलाई मलाई बोक् म हिड्दीन भनेर घुर्की पनि लगाउँथें । यसो गर्दा गर्दै १० बज्यो । भक्तपुर हस्पीटलनेर हामी हिँडीरहेको एक जना प्रहरीक हवल्दारले देखेपछि हामी फेला पर्यौं हामीलाई खोज्न आएको प्रहरीको गाडिमा बुवासँगै घर आए । त्यो दिन मम्मीको लौरो भेटिन, सबै दोष रुदैं राजुलाई लगाए ।

अर्को बर्षको साउने संक्रान्तीमा पल्लो कोठाकी नेवारनी आन्टीले बनाएको भाते जाँड खाएर मैले तमासा गर्न थालें। सुरुमा जाँड देखेर आन्टी यो के हो भनेको थिएं, उनले खिर हो भनीन् । नेवारनी आन्टीले खिर हो भन्नु के थियो म खान्छु की खान्छु भनेर ढिपी गर्न थालें, सुरुमा अलिकती चाख्न दिएकी थिहिन् आन्टीले मलाई त्यो गुलीयो भाते जाँड खुब मिठो लाग्यो । थपेर खान्छु भन्न थालें । भनेको मान्ने बच्चा भए पो म । अति गरेपछि उनले एक कचौरा जाँड दिईन् । ममी त्यो बेला चप्पल किन्न जानु भएको थियो, म संग हिड् भन्नु भएको थियो म यहिँ बस्छु भनेर गएको थिईन ।

७ बर्षको बच्चा, ३ कचौरा जाँड खाएं पेट त मैले पनि पाएको हो, अचम्म त यो भयो मैले बान्ता पनि गरिन । बोल बोल पाखाहरु, हिउँखोले भाकाहरु बोलको गित आफै गाउँदै नाच्न थाले । जाँड लाग्न थालेपछि कोठाको सामान बाहिर फ्याक्न थालें । बरिपरिका कोठामा बस्ने रमिता हेर्दै हाँस्न थालेछन्, मम्मी पसलबाट फर्कर्दा म पल्लो घरको भित्तामा जोड जोडले टाउको ठोक्दै रहेछु । यो ताल देखेर मम्मीको दिमागमा एकै चोटी छोरी बहुलाईछ भन्ने लागेछ र रुन थाल्नु भयो । कता लैजाने होला बुढा पनि डियुटीमा हुनुहुन्छ भन्दै हार गुहार गर्न थालेपछि केही भएको छैन जाँड खाएर हो भनेछन् तमासेहरुले मम्मी त्यो दिन सबैसंग झगडा गर्नुभयो ।

९ बर्षको भएपछि मात्र मैले आफ्नो बुबाको जन्मस्थल गोरखाको पालुम्टार देखें । बुबाको धादिङ गजुरी सरुवा भयो, ठुलोबुबा छुट्टीनु भयो । यसपछि मम्मी हजुरआमा पाल्न गाउँ फर्कर्नु भयो । ठाउँ फेरिएपनि स्वभाव फेरिएन मेरो । बदमासीको त कुरै छोडौं मैले अर्काको बारी र बंगैचामा गरेको गल्तीको क्षतीपुर्ती धेरै पटक तिर्नुभयो मम्मीले । बिस्तारै बिस्तारै गाउँको रहनसहन सिक्न थालें, साउने संक्रान्ती दशैं भन्दा पनि ठुलो लाग्न थाल्यो । बैसाखमा गोरखा पुगेको मैले त्यो बर्षको साउने संक्रान्ती अरुले सिकाईदिएको तरिकाले सरसामान खोजें । बोट बिरुवाको नाम र बिरुवा नचिन्ने समस्या थियो मलाई पहिलो बर्ष ।

त्यसपछिका बर्षमा ठुलै उत्सब हुन थाल्यो मलाई साउन १ गते । त्यो दिन स्कुल बिदा हुने भएकाले बिहानै उठेर हिड्थें । असारे फुल, कुकुर डाईनो, गुह्ेसरो पानीसरो, जनै लहरो, आलतीमालती, जोल्टे मकै, जोल्टे बेलौंती जोडीएका फल जति सबै तितेपातीका सुकेका सिन्का आदि खोज्दै पल्लो गाउँ सम्म पुग्थें, बनबनै चहार्थें ।

बाटोमा भेटीने तितेपातीका सुकेका सिन्का बटुल्दै बाँया कोखिलामा च्याप्थें । दिनमा ५ पटक घर आउंथे र ५ पटक बाहिरिन्थें म । घर आएपिच्छे मम्मीको मुड फरक फरक हुन्थ्यो । पहिलो पटक हातभरी संक्रान्ती सामग्री बोकेर घर आउँदा मम्मी हाँस्दै भन्नु हुन्थ्यो हेर त मेरो बाबाले के के बटुलीछ यस्तो झरीमा भन्नु हुन्थ्यो । अब जाने हैन पानीले भिझेर बिरामी हुन्छ भन्दा भन्दै नमानी दगुरेपछि पख् घरमा आउलिस अब भन्दै रिसाउनु हुन्थ्यो । फर्केर घर आउँनासाथ एक चड्कन भेट्थें, कैले गालामा कैले लौरेले ढाडमा ।

घरको म ठुली छोरी हुँ, भाई बहिनी साना साना थिए । आफु दिनभर सरजाम खोज्न हिड्ने र बहिनी हरुलाई तिउरीको बोट खोजेर कुट्न लगाउँथें । मेहेन्दी लगाउने चलन त पछि आएको हो, तिउरीको बिरुबा कुटेर हात रंगाउथे सबै । हाम्रो तिर तिउरीको बिरुवालाई तिग्रे भनिन्छ ।

म बहिनीहरुलाई आदेश दिन्थें तिमीहरु तिग्रे खोजेर ल्याएर कुटेर ठिक्क पारओ । बहिनीहरु मन नलागी नलागी गाउँ डुल्थे तिग्रेको बोट खोज्न । जति पटक घर आउँथे बहिनीहरुलाई हप्काउँथे हेर जाबो यति खोजेछन् । बहिनीहरु आँखा भरि आँशु बनाउँथे, ममीले देख्नु भयो भने एक दनक फेरी भेट्थें । पीटाई खाने बानी लागेको भएर होला रुने काम कमै हुन्थ्यो म बाट ।

जति गाली गरेपनि बहिनीहरु मुख फर्काउन सक्दैनथे, त्यसमा पनि म साह्रै मातेको थिएं, केहि बोल्यो की पिटीदिन्थें बहिनीहरुलाई । यो बानी लागेर हो की क्याहो अहिले ब्याचलर सकेर मास्टर्स सुरु गरेका मेरा दुईवटै बहिनी मेरो कुरामा होमा हो मात्र मिलाउँछन्, मुख फर्काउने र रिसाउने कहिल्यै गर्दैनन आज पनि ।

बहिनीहरु रुदैं तिग्रे कुट्थे, तिग्रेमा अमीलो, तेल, नुन, हाल्थें । एकजना काकीले तिग्रेमा परेबाको बिस्ट (परेबाको दिसा) हाल्यो भने धेरै रातो हुन्छ भनेपछि परेवा पाल्नेको घरमा बिस्ट माग्न पुग्थें ।

बुबा प्राय दशैंमा मात्र घर आउनुहुन्थ्यो, घरमा हजुरआमा, मम्मी दुईवटा बहिनी रोषना र पुष्पाञ्जली, भाई सुवर्ण र म थियौं । दिनभरीको दौडधुप पछि साँझ परिसकेपछी ल आवोई ९हाम्रो तीर हजुर आमालाई आवोई भन्ने चलन छ । पुजा गर्दीनु अब लुतो फ्याक्ने बेला भयो भनेर आँफै परिपाठे बन्थें ।

दिउँसो खोजेका फलफुल र लहरा बिरुवा तुलसीको मठ वरिपरी फीजाईएको हुन्थ्यो दिउंसैबाट । हजुरआमा र ममीले पुजा गरेपछी म पुजा गर्छु अब भन्दै सुरु हुन्थें । अझ बहिनीहरुलाई पनि कराउँथे पुजा गरओ मैले दिनभर कति दुख गरें भन्दै उनिहरु रुन थाल्थे, बहिनीहरु ममी नदेखे डरले जती गाली गरेपनि रुन सक्थेनन जब ममी छेउ पर्यो आँखाभरी आँसु पार्थे बिचरा डरले मेरो कुरा लगाउन भने सक्थेनन् ।

अब लुतो फाल्नु पर्यो मम्मी भन्दै अगेनामा पुग्थें, ३ दिन अगाडी बाट नै मेरो लुतो फाल्ने दाउरा हो यो भन्दै तयार पारेको दाउरा ५ बजे तिरबाटै बाल्न सुरु गरिसकेको हुन्थें । बहिनीहरु साना साना दाउरा अगेनाबाट झिकेर लुतो पिलो खटिरा पटिरा लैजाओ तल्ला गाउँले भन्दै फाल्थें ।

म सबै भन्दा ठुलो बल्दै गरेको चिर्पट बोकेर आँगनमा आउंथे । मम्मी यत्रो ठुलो दाउरा फ्ल्नु पर्दैन भन्नु हुन्थो, म झगडा गर्न तम्सँथें, म सबै भन्दा ठुलो भएपछि सबैभन्दा ठुलो दाउरा फ्याक्नु पर्छ । सकिनसकी एउटा हातले चिर्पट उचालेर त्यही शब्द लुतो पिलो खटिरा पटिरा लैजाओ तल्ला गाउँले भन्दै फ्याक्थें ।

पातलो बस्ती भएको हाम्रो गाउँमा त्यो बढेमारको दाउरो तल्लो गाउँमा त के तल्लो घरमा पनि पुग्थेन । आँगन मुनीको ठुलो गह्रामा नै अड्कन्थों । फेरी अर्को दाउरा ल्याउथें ५ पटक लुतो फयाक्थें म । मासु र भात पाक्थ्यो त्यो दिन घरमा । गाउँमा एउटा मात्र खसि काटेर भाग लगाएको मासु १००र२०० देखि सुरु हुन्थ्यो किन्न । भात खाएर अब हातमा कुटेर राखेको तिउरी लाउन सुरु गथ्र्र्यौं ।

हातभरी कुटेको तिउरी राखेर माथिबाट प्लास्टिक या कपडा बेरेर डोरीले बाध्न लगाउँथे मम्मीलाई । मम्मी रिसाए झैं गरेर रमाईलो मान्नु हुन्थ्यो मेरो हर्कत देखेर । आफुले लगाई सकेपछि ल अब तिमीहरु लगाओ भन्दै दुईटै बहिनीको हातमा तिउरी थुपारेर प्लास्टिक बेर्दै डोरीले कस्न अराउथे । तिनिहरु हास्थे, मख्ख पर्थे सायद मेरो हात रातो हुन्छ भन्ने मिठो आशामा ।

बहिनीहरु जब राती निदांउदै जान्थे त्यो हात दुख्न थाल्दो रहेछ । मम्मी फ्याकिदिने तिग्रे भन्दै रुन थाल्थे । म लौरो लिएर बस्थे फालेउ भने मार्दीन्छु भन्दै । मम्मीले तं राख्न न बहिनीहरुको हात दुख्छ भन्नु हुन्थ्यो । तै पनि म झगडा गर्थे अझ धम्क्याउंथे यिनिहरुले यो फ्याके भने म भागेर काठमाण्डौं गै दिन्छु ।

सानैबाट भाग्ने र हराउने बानी लागेकोले मम्मी डराउनु हुन्थ्यो । के गर्नु खुर्ख देखि दैब डराउँछ भन्ने उखान त्यो समय हाम्रो घरमा खुब सुहाएको थियो । रातभरी बहिनीहरु ऐया ऐया भन्दै सुत्थे म दुखेपनि नदुखेझैं गर्दै भन्थे, नाटक गर्छन मलाई त दुखेको छैन् । रातभरी प्रायः म निदाउथिन् । बिहानै आफनो र बैनिहरुको हात खोलेर मम्मीलाई देखाउन दौडन्थे । जति मेहनत गरेपनी मेरो हातमा त्यो तिग्रेकोे मेहेन्दी कहिल्यैं राम्रो बसेन ।

एसएलसी दिएर काठमाण्डौं पढ्न आएपछी साउने संक्रान्तिको याद अलिक धमिलो हुँदै गयो । कहिल्यै घर जाने मौका जुरेन । यद्यपी साउने संक्रान्तिसँग जोडिएका ति क्षणहरु अझै मेरो मानसपटलमा ताजै छन् ।

 

[email protected]

Published on July 16, 2017 at 1:09 am

Loading...

यसमा तपाइको मत